
२८ असोज, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्नै जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । महानगरले ३ नम्बर वडामा रहेको मालपोत कार्यालय अगाडिको चोकमा ल्याब सञ्चालनमा ल्याएको हो ।
महानगरका मेयर राजेशमान सिंहका अनुसार प्रयोगशालामा उच्चस्तरीय प्रविधिका परीक्षण मेसिन राखिएको छ । अहिले ५४ प्रकारका स्वास्थ्य परीक्षण हुने गरी सेवा सुरु गरिएको सिंहले बताए ।
कालाजार, मलेरिया र एचआईभी परीक्षण भने ल्याबमा निःशुल्क गरिने र अन्य परीक्षणका लागि पनि चाँडै आवश्यक प्रविधि जडान गर्ने गरी काम भइरहेको उनले बताए ।
महानगरपालिकाले ३३ लाखको लागतमा हल, शौचालय सहित ४ कोठा भवन निर्माण गरेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । प्रयोगशालाका लागि प्रयोग भएका उपकरण भने मधेश प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको हो ।
प्रयोगशालामा सीबीसी १ सय ७५, लिभर फंक्सन टेस्ट २ सय, लिपिट प्रोफाइल टेस्ट ३ सयमा नै परीक्षण गरिने छ । बाहिर निजी प्रयोगशालाहरुले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउँदा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म लिने गरेका छन् । नगरवासीले बजारमूल्य भन्दा ७५ प्रतिशत सस्तोमा परीक्षण सेवा प्राप्त गर्न सक्ने महानगर प्रमुख सिंहले बताए ।
त्यस्तै प्रयोगशालामा जेष्ठ नागरिक, मृगौला पीडित, क्यान्सर पीडित, एड्स संक्रमित, शहीद परिवार र मधेश आन्दोलनमा घाइते तथा विपन्न परिवारलाई सबैखाले परीक्षणमा ९० प्रतिशत छुट र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको प्रमुख सिंहले बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले महानरका विभिन्न ६ ठाउँमा प्रयोगशाला सञ्चालनमा ल्याउने नीति बमोजिम पहिलो ल्याब सञ्चालनमा ल्याइएको बताए ।
प्रतिक्रिया 4