
गाउँमा बिजुली आएपछि
उज्यालो हराएको छ
अचम्म भएको छ
गाउँमा बाटो पुगेपछि
यात्री हराएका छन्
बिजोग भएको छ
धुले सडकको छेउ
मैलो पातीको फूल
प्रीतिको पर्खाइमा छ ।

भाँच्चिएको रोटेपिङको खाँबो
खिस्स खिस्स हाँस्छ
एउटा नाङ्गिएको पागलजस्तो
कसैले देखोस् या नदेखोस्
भत्किएको चौतारोमा
पुराना जमघटको
मलिन छाप मेटिंदैछ
जहाँ केबल
परदेशबाट फर्किएको
एक दुःखी आत्मा
आधारातमा बिलौना गर्छ
मालिक हराएका छाउराछाउरीहरू
रुवाइ मिसाउँछन् ।
रोदीघरको छेउमा
एउटा मुर्दा
मलामीको पर्खाइमा
एउटा नाटकघरको मञ्चन गरिरहेछ
ऊ बालक छँदा
सेतो कमेरोले टल्केका भित्ताहरू
रातो माटोको लाली ओठमा
कस्तो विघ्न लजाउँथे
मनहरू कमेरो जस्तै सेता हुन्थे
टालिएका लुगाहरूमा
बुट्टा भरेजस्तो देखिन्थ्यो ।
महर्षीले तप गर्ने ढुङ्गा
फुटाएर बेचिएछ
मन अमिलिएपछि
खोला नै रोएपछि
मन र आत्मा नै साथै गएछ
कमेरोका छिटा पर्न छाडेपछि
चाउरी परेका अनुहारमा
कोरिएका गाउँका तस्वीरहरू
हाँस्न छाडेछन्
हैसियत खोज्दा खोज्दै
इतिहासका सुनका सिक्काहरूको
पुरातन कमारोको रूपमात्र बद्लिएछ
आधुनिक कमारोको
लुप्त कुरूपतासँगै
टल्किन छाडेछन् बस्तीहरू
कमेरोको अवसानमा ।
म्याग्दे -६, तनहुँ
प्रतिक्रिया 4