
२९ असोज, काठमाडौं । आकांक्षा कार्की देखाइरहन्छिन् विदेशी नाटकहरु, जसमा नेपाली ‘मौलिकता’ भेटिन्छ । प्रख्यात भारतीय नाट्यकर्मी गिरिश कर्नाडले लेखेको वेडिङ एल्बम त्यस्तै एउटा परिवारको कथा हो, जहाँ उधिनिएका अनेक पत्रले हाम्रो समाजको कुरुप यथार्थ चित्रण गर्छन् ।
लुनिभा तुलाधर, आशान्त शर्मा, सुदाम सीके, केनिपा सिंह पहारी, रन्जना भट्टराई, विनिता लामा गुरुङ, सेविता अधिकारी लगायतले यसमा अभिनय गरेका छन् ।
आकांक्षाको विचारमा पितृसत्ता त्यहाँ पनि उसैगरी मौलिक स्वरुपमा प्रकट छ । पाखण्ड र कृत्रिमताको अहंकार उत्ति नै छ हाम्रो समाजमा, जति भारतीय समाजभित्र गिरिश कर्नाडले देखेका छन् । कार्की सोध्छिन्, ‘के छ त देखाउन मिल्ने म हुर्केको मध्यमवर्गीय समाजको संरचनामा ?’ म त ढोङ र पाखण्डमात्रै उर्लेर आएको पाउँछु ।’
यो प्रश्नको जवाफ उनले विवाह संस्थामार्फत् खोज्न प्रयास गरेकी छन् । विवाह गर्न खोजिरहेकी युवती, अनि परिवारका अरु सदस्यहरुबीचको स्नेह, खिचातानी आदिमा निर्माण भएको नाटक हो वेडिङ एल्बम । प्रख्यात भारतीय नाटककार गिरिश कर्नाडको स्क्रिप्टलाई उनले कौशी थिएटरमा निर्देशन गरी मन्चन गरेकी छन् । खचाखच दर्शकबीच सोमबार त्यसको प्रदर्शन सकिएको छ ।
नाटकको एउटा संवादमा विवाह हुन लागेकी कान्छी छोरी विदुषी भन्छिन्, ‘जवाफ नफर्काए पनि जामा फर्काउन खुब सिपालु थियो रमेश ।’ अर्थात् विवाह तयारीकै क्रममा अनेक किनमेल, भनाभन, तनावकै बीचमा पारिवारिक रहस्यहरु पनि उधिनिँदै जान्छ । विवाहपछि बन्न परिवार हाम्रो समाजमा एउटा नैतिक बन्धन पनि हो । अनि बाध्यता पनि, जहाँ हामी आफ्ना मनका इच्छा फुकाउँछौं, कतिपय इच्छा त लुकाउँछौं पनि ।
पैसाका लागि अन्तरव्यक्ति सम्बन्ध नै संकटमा पर्ने, अनि परिवारमा कसैको सफलताका लागि अर्को व्यक्तिले सधैं त्यागमात्रै गरिराख्नुपर्ने अप्ठेरो अवस्था यो नाटकमा चित्रित छ । मन्चको घुम्ने सेटमा देखिने अलग र रंग र दृश्यहरुमा प्रत्येक व्यक्तिका पत्रपत्र परिचयहरु प्रकट छन् ।
आकांक्षाले यसअघि हरेक बबाल कुरा, भजाइना मनोलग, लाइन, एनिमल फार्म लगायत नाटक निर्देशन गरेकी छन् । अघिल्लो महिना उनले कुमार नगरकोटीको लेखन तथा घिमिरे युवराजको निर्देशनमा बनेको नाटक ‘ट्रान्जिट’ मा अभिनय गरेकी थिइन् ।
प्रतिक्रिया 4