+
+

कोशीमा देउवा रणनीति : विश्वासको मत लिएपछि एमाले सत्ता बाहिर

लिलु डुम्रे लिलु डुम्रे
२०८० असोज २९ गते २०:२३

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोशीमा केन्द्रकै रणनीति दोहोर्‍याउने पक्षमा देखिएका छन् ।

कांग्रेसबाट विद्रोह गरी मुख्यमन्त्री बनेका केदार कार्कीलाई विश्वासको मत दिलाएर एमालेलाई सत्ता बाहिर पुर्‍याउने रणनीतिमा उनी लागेका छन् ।

कांग्रेसले कोशीको मुख्यमन्त्रीमा माओवादीका इन्द्रबहादुर आङ्बोलाई समर्थन गरेपछि डा. शेखर कोइराला पक्षले विद्रोह गरेको थियो । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले पर्सि बुधबार विश्वासको मत लिने निर्णय लिएका छन् ।

तर कार्कीले दलमा छलफल गरेका छैनन् । आइतबार शपथसँगै कांग्रेस र एमालेबाट १/१ जना मन्त्री बनाउँदा पनि उनले आफ्ना दलका नेताहरुसँग छलफल गरेका थिएनन् । त्यसैले कार्कीलाई विश्वासको मत दिने वा नदिने निधो माग्दै कांग्रेसको प्रदेश समितिले केन्द्रलाई आइतबार पत्र पठाएको छ ।

नेताहरुका अनुसार संसदीय दलका नेता उद्धव थापा र उपनेता हिमाल कार्कीले राजीनामा दिएका कारण पनि संसदीय दलले निर्णय गर्ने अवस्था छैन । त्यसैले प्रदेश सभापति समेत रहेका थापाले केन्द्रको राय मागेका हुन् ।

यसबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले सोमबार उपसभापति र महामन्त्रीलाई बोलाएका थिए । आफ्नै निवास धुम्बाराहीमा भएको छलफलमा सभापति देउवा गठबन्धन कायम राख्नलाई एमालेलाई सत्ता बाहिर राख्नुपर्ने धारणा राखेका छन् ।

कांग्रेस स्रोतका अनुसार डा. शेखर कोइराला पक्षले पनि विश्वासको मत कार्कीले प्राप्त गरेपछि एमालेलाई सत्ता बाहिर पुर्‍याउने प्रतिवद्धता देउवासँग गरेको छ । त्यसअनुसार सभापति देउवाले पदाधिकारीहरुको सहमति खोजेका हुन् ।

‘संसदीय दलले कोशीमा निर्णय गर्ने अवस्था छैन । सभापतिले विश्वासको मत दिन प्रदेशमा निर्देशन गर्ने आज छलफल भएको छ’, बैठक सहभागी एक नेताले भने ।

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने कोशीको विशिष्ट अवस्था अनुसार एमालेलाई पनि सरकारमा सहभागी गराउन उपयुक्त हुने राय दिएका छन् । बैठकपछि महामन्त्री शर्माले सञ्चारकर्मीहरुसँग भने, ‘विश्वासको मत दिएर एमालेलाई पनि सरकारमा राख्ने वातावरण बनाउनुपर्दछ ।’

दुई महामन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता डा. शेखर कोइरालाबीच शनिबार भएको सहमतिमा समेत प्रश्न उठाएका छन् ।

‘गठबन्धनमा संकट आएको र यसलाई जोगाउनुपर्ने हो भने दुई पार्टीका प्रमुखले सहमति गरे हुन्थ्यो’, बैठकमा दुई महामन्त्रीको तर्क थियो, ‘गठबन्धन जोगाउन प्रतिवद्ध भएको हो भने किन कोशीमा कार्यान्वयन भएन ?’

दुबैले कोशीमा जे भयो, त्यसको सम्पूर्ण जिम्मेवारी सभापति र नेता शेखर कोइरालाले लिनुपर्ने बताएका छन् । ‘हाम्रो कारणले प्रदेशमा संकट आएको होइन, जे भएको छ । त्यसको जिम्मेवारी सभापति र शेखरले लिनुपर्दछ’, जसले राजनीतिक फोहर गरेको हो, सफा गर्ने जिम्मेवारी पनि सम्बन्धित व्यक्तिले नै लिनुपर्ने महामन्त्रीद्वयको तर्क थियो ।

बैठक स्रोतका अनुसार कोशीको निर्णय प्रक्रियामा सभापतिले आफूलाई बेवास्ता गर्दै आएको महामन्त्री शर्माले गुनासो गरेका थिए । बैठकमा उनले सभापति देउवालाई वर्णमालामा क र ज्ञ मात्र नहुने भन्दै भनेका थिए, ‘सभापतिज्यू, नेपाली वर्णमालामा क देखि ज्ञसम्म हुन्छ । कोशीमा तपाईंले क र ज्ञ मात्रै सम्झनुभयो । क र ज्ञ को बीचमा अरु पनि अक्षर हुन्छन् भन्ने सम्झनुपर्‍यो ।’

पूर्वमहामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई मात्रै देउवाले कोशीको छलफलमा महत्व दिएको शर्माको संकेत थियो ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?