+
+

दशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिंदै, शक्तिपीठहरुमा घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते ७:५६

३० असोज, काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ ।

घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।

दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको आज पनि भीड लागेको छ ।

काठमाडौं उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठहरुमा पनि भक्तजनहरुको घुइँचो छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिन्छ । यसैगरी चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।

चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रहरुमा उल्लेख छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?