
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को नेतृत्व चयन गर्न अनलाइनमार्फत् भएको भोटिङमा एकजना उम्मेदवारको नेपालबाट प्राप्त मत शून्य देखिएपछि निर्वाचन कमिटीले सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु गरेको छ ।
अनलाइन भोटिङ गराउने जिम्मा पाएको अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीसँग त्यसबारे सत्य तथ्य बुझ्ने काम भइरहेको प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले बताए । ‘शून्य मत आएको विषयमा भेरो भोटिङ कम्पनीलाई अनलाइनमार्फत पत्राचार गरेका छौं । त्यसबाट वास्तविक जानकारी लिई सत्यतथ्य व्यहोरा सार्वजनिक गर्छौं’ ढुंगानाले भने ।
गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदले अनलाइन भोटिङका लागि अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीलाई जिम्मा दिएको थियो । कम्पनीले इमेलबाट पठाएको विवरण प्राप्त हुनासाथ पाँच सदस्यीय निर्वाचन कमिटीले नतिजा सार्वजनिक गरेको थियो ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाममा बद्री केसी विजयी भएको घोषणा गरिएको थियो । उपाध्यक्षका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट प्राप्त मत भने शून्य देखिएपछि निर्वाचनको विश्वसनीयतामा प्रश्न उठेको थियो ।
अध्यक्षका उम्मेदवार लगायतले निर्वाचनमा धाँधली भएको भन्दै रद्द गर्न माग गरेका छन् । उपाध्यक्षमा विजयी घोषणा गरिएका खगेन्द्र न्यौपानेले समेत निर्वाचनमा धाँधली भएको भन्दै आफू विजयी भएको नतिजालाई नस्वीकार्ने बताएका छन् ।
प्रतिक्रिया 4