
३ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दुई साताको अन्तरमा दुई अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउने भएका छन् ।
मन्त्री बस्नेत आगामी १३ देखि १६ कात्तिकसम्म भारतको नयाँदिल्लीमा हुने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रको ७६ औं सभामा भाग लिन जाने छन् ।
उक्त सभाले आगामी चार वर्षका लागि दक्षिण पूर्वी क्षेत्रको क्षेत्रीय निर्देशक समेत छनौट गर्नेछ । यसपटक क्षेत्रीय निर्देशक पदमा नेपालका डा. शम्भुप्रसाद आचार्य र बंगलादेशकी साइमा बाजेद उम्मेद्वार छन् ।
सो कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतसँगै स्वास्थ्य सचिव डा. रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई समेत सहभागी हुन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै भारतबाट फर्केपछि स्वास्थ्यमन्त्री बस्नेत आगामी २९ कात्तिकदेखि १ मंसिरसम्म थाइल्याण्डको बैंककमा हुने ‘सेभेन्थ एसियन एण्ड प्यासिफिक पपुलेसन कन्फ्रेन्स’मा सहभागी हुन जानेछन् ।
मन्त्रिपरिषद्ले सो कार्यक्रममा सहभागिताका लागि मन्त्री बस्नेतसँगै सचिव देवकुमारी गुरागाईलाई समेत सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4