
३ कात्तिक, बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिँदा संसदीय व्यवस्था नै चल्न गह्रो हुने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले सांसदले बहुमत जुटाएर सरकार गठन गर्ने संविधानको व्यवस्था नै दोषपूर्ण रहेको बताए ।
संविधानमा एकल, बहुमत र त्यो नभए दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने व्यवस्था छ । त्यसपछि अल्पमतको सरकार बनाउने विकल्प छ । अल्पमतका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके कुनै पनि सांसदले विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा नियुक्त गर्ने व्यवस्था छ ।
यही व्यवस्थाअनुसार २०७८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए भने हालै मात्र कोशी प्रदेशमा कांग्रेस प्रदेश सांसद केदार कार्की मुख्यमन्त्री बनेका छन् । कांग्रेसबाट विद्रोह गरेका कार्कीलाई एमालेसँग मिलेर सरकार बनाउन भूमिका खेलेका कोइरालाले यो प्रवधान गलत भएको बताए ।
सविधान बनाउँदा नै गल्ती गरेको भन्दै उनले अघि भने, ‘प्रधानमन्त्रीलाई एकचोटी पनि विघटन गर्ने अधिकार नदिने हो भने संसदीय व्यवस्था चल्न गाह्रो हुन्छ । यो प्रावधान हटाउनुपर्छ ।’
प्रतिक्रिया 4