+
+

शांघाई

विश्व पौडेल विश्व पौडेल
२०८० कात्तिक ४ गते २०:२२

सन् १९९४ मा म शांघाई पुगेको थिएँ। चिनियाँहरु उक्त शहरको उच्चारण अलि भिन्न तरिकाले शाङ्हाइ भनेर गर्थे। रेल स्टेशनमा मानिसहरुको संसार थियो, र म पुग्दा चितवन सम्झाउने गर्मी पनि। मेरो उमेर अझै अठार पनि पुगेको थिएन र म इन्जिनियरिङ पढ्न एउटा कलेज भर्ना भएको थिएँ। शांघाईमा पुराना घरहरु भत्काउँदै नयाँ ठड्याउन शुरु भएको थियो। साँघुरा शहरहरु माथि दोस्रो, तेस्रो तला बन्दै थिए। त्यो शहरको परिवर्तनले मेरो मन खिचेको थियो तर अन्य कुरामा म धेरै रमाउन सकिरहेको थिइनँ। म शाकाहारी भएकोले चितवनको घरको खाना सम्झन्थें, आमा बालाई सम्झन्थें, घर पछाडि अम्बा टिपेर खाएको सम्झन्थें। ठूलो शहरको सानो मान्छे बन्न सकिरहेको थिइनँ। म कहिलेकाहीं आकाशतिर फर्केर सोच्थें, यो आकाश ठूलो ऐना भएको भए म यहाँबाट बेल्सीको खेतमा घाँस काटिरहेकी मेरी आमालाई देख्न सक्थें हुँला।

चितवन वा शांघाई दुवैमा इन्टरनेट सर्वसाधारणको पहुँचमा आइसकेको थिएन। म धेरैजसो समय किताबै किताबले भरिएको र पुरानो किताबको हरक आउने मेरो क्याम्पसको एक पुस्तकालयमा अंग्रेजी क्लासिक उपन्यासहरु पढेर बिताउँथें। जिस्कँदै एक दिन पुस्तकालयकी बुढी क्लर्कले भनिन्, “तिमी जस्तो स्याओहुओज यसरी किताब पढेरै किन दिन बिताउँछौ? बाहिर घुम्न जाऊ।”

“कहाँ जाऊँ?”

“कुनै केटी साथी खोज।”

मैले उनलाई भनें कि किताब पढ्न बाहेक मेरो कुनै अरु शिल्प छैन। हाईस्कुल पढ्दा होस् वा कलेज पढ्दा होस् मैले कसरी कुनै केटी साथीसँग बोल्ने भन्ने सिक्न पाइनँ। कुन कुरा भन्दा केटीहरु खुशी हुन्छन्, कुन कुरा भन्दा रिसाउँछन् मलाई थाहा छैन।

“त्यसो भए तिमी केटी मान्छेको अगाडि नर्भस हुने खालको पर्‍यौ?” उनले भनिन्।

“हो। राम्रा केटी देख्यो भने त झन् अगाडि गएर बोल्न पनि डर लाग्छ।”

“मेरो दाइको एउटा छोरी छ। म चिनाइदिन्छु। राम्री पनि छैन, तर नराम्री पनि छैन। पढाइ राम्रो छ, क्लासिकल लिटरेचरको विद्यार्थी हो। मुख्य कुरा रेस्टुराँमा लैजानु, आफू कम बोल्नु। विस्तारै कन्फिडेन्स आउँछ”, उनले सिकाइन्।

त्यसरी एकदिन उनकी दाइकी छोरीलाई पुस्तकालयमै भेटें। उनको नाम च्यासिन थियो।  औसत थिइन्। गोरी, पढैया खालको देखिने गरी चश्मा लगाएकी र इन्सिजर दाँतहरु अलिअलि उछिट्टिएका।

गाउँबाट काठमाडौं आउँदा ममा धेरै हीनताबोध थियो। अमृत क्याम्पसको कक्षामा बस्दा सबै विद्यार्थीहरु मभन्दा सम्पन्न घरबाट आएका छन्, सबै मभन्दा जान्नेछन् भन्ने जस्तो लाग्थ्यो। त्यो हीनताबोध मैले मसँगै शांघाई लिएर गएको थिएँ। मलाई मेरो घरको कुराहरु गर्न अप्ठेरो लाग्थ्यो। च्यासिनसँग के बारेमा कुरा गर्ने सोच्न सकिरहेको थिइनँ। अर्कोतिर च्यासिनसँगै अलि आत्मीय दर्शाउने खालको फोटो खिचेर चितवन गाउँमा पठाए गाउँमा मेरा साथीहरुले कस्तो प्रतिक्रिया जनाउँदा हुन् भन्ने सोचाइ पनि आउँथ्यो। कम्तीमा ‘तँ त खतरा रहिछस् यार’ त भन्दा हुन् जस्तो लाग्थ्यो।

च्यासिनसँग मेरो कुराकानी धेरै भएन। उनी र म सँगै रेस्टुराँमा गयौं। त्यो वेष्ट वेइजिङ रोडमा भएको एकतले भत्काउन ठिक्क पारेको घरको रेस्टुराँ थियो। च्यासिनले मासु नै मासुको परिकार मगाई। मैले हेर्न पनि सकिनँ। दिगमिग दिगमिग भयो। धेरै बोले बान्ता होला जस्तो भयो। भोलिपल्ट पुस्तकालयमा क्लर्कलाई भनें, “यस्तो त भएन। यसो माछामासु नखाने कोही भए भन्नुस् नत्र किताब पढेरै मेरो जुग जाला। ”

क्लर्कले भनिन्, “यो चीनमा माछामासु नखाने केटी मैले कहाँ पाउनु? जाऊ शाओलिन मन्दिरतिर, त्यतै भिक्षुणीलाई फकाउनू।”

नजिकै अर्को विश्वविद्यालयको पुस्तकालय थियो। मैले क्लर्कलाई भनेको थिएँ, तिम्रोमा साह्रै थोरै अंग्रेजी किताब रहेछन्। मलाई अलि राम्रो पुस्तकालय देखाइदेउ। उनले त्यही नजिकको च्याओथोङ विश्वविद्यालयको पुस्तकालय जाऊ भनिन्। मलाई आज पनि याद आउँछ, त्यो पुस्तकालयको सुन्दरताको। र त्यो पुस्तकालयमा गएपछि म फेरि मेरो विश्वविद्यालयको पुस्तकालयमा फर्केर पढ्न गइनँ। त्यो पुस्तकालयले नै मेरो जीवनको अर्को ३० वर्षका महत्वपूर्ण घटनाहरु घट्ने आधार तयार गरेको थियो।

==

एकदिन म च्याओथोङ विश्वविद्यालयको पुस्तकालय जाँदैथिएँ। मेरो रुटिन सीधा थियो। कलेज सकेपछि खाना खाएर केहीछिन आराम गर्थें। अनि मेरो पुरानो साइकल चढेर सिन्ह्वा रोडहुँदै साइकल चलाउँदै उक्त विश्वविद्यालय पुग्थें। अलि अगाडि पुगेपछि एउटा रेस्टुराँ आउँथ्यो। त्यो महँगो रेस्टुराँ भर्खर जन्मेका मुसाका बच्चाहरुको मासुले बनेको परिकार बेच्थ्यो। एउटा चपस्टिकले एकपटकमा एउटा मुसालाई टिपेर मुखमा हाल्न मिल्ने गरी बनाएको फोटो बाहिर टाँसेर राखेको थियो। चितवनमा मुसाको अचार खाएको सुनेको थिएँ। तर यसरी फोटो नै देखेको पहिलो पटक थियो।

बेल्सीको पुलमा एकदिन एक जना बुढा थारुले मलाई भनेका थिए, “कुखुराको मासु खानुभन्दा त मुसाको मासु खानु राम्रो हो। कुखुराले गुहु खान्छ, मुसाले अन्न खान्छ, गुहु त कहिल्यै खाँदैन।” उनको जस्तै तर्कको प्रभावले हो या के हो, धेरै बाहुनहरुले पनि मुसाको अचार खाएको कुरा मैले पछि सुनें।

मेरो नियमित यात्रामा प्रभाव पार्ने गरी एकदिन सिन्ह्वा सडकमा प्रहरीले सबैलाई साइकल चलाउन रोक्यो। फिडेल क्यास्ट्रो चीन घुम्न आएका रहेछन्। उनको गाडी गएपछि म पनि विस्तारै साइकल चलाउँदै पछिपछि गएँ। त्यो दिन त्यसै पनि ऐतिहासिक भयो, मेरो जीवनमा पनि। किनकि पुस्तकालयमा वेनलाई पहिलो पटक भेटेर कुराकानी गरेको त्यही दिन थियो। वेन पुस्तकालयमा मोटो चश्मा लगाएर डिकेन्सको अ टेल अफ टू सिटिजलाई आँखा अगाडि नै ल्याएर पढ्दै बसेको थियो। उसका दुई धर्सा जुँगा ओठको कुनाबाट निस्कन बल गर्दैथिए। अनुहारमा धुस्रोपना थियो। ओठ अलि मोटो थियो, उचाइ सानो थियो र मेरो जस्तै अनाकर्षक चेहरा।

म आकर्षक व्यक्तित्व भएका महिलाहरुसँग बोल्न धक मान्थें भन्ने पहिल्यै उल्लेख गरिसकें। खासमा अग्ला, चिल्ला, कपालमा जेल लगाएर ठाडो वा उल्टो फर्काएका, कालो र राम्रो ऊनको कोट लगाएका केटाहरुसँग पनि बोल्न मलाई धक लाग्थ्यो। म बोल्न, केही सोध्न परे पनि त्यस्तै व्यक्तिहरु खोज्थें, जो म जस्तै साधारण देखिउन्। त्यो दिन मलाई कलम किन्नुपर्ने थियो। पुस्तकालयमा पुगेपछि डटपेन नल्याएको थाहा पाएँ। वेन भएको ठाउँमा गएर सोधें, “यहाँ डट्पेन किन्ने दोकान कहाँ छ?”

मैले अपेक्षा गरे जस्तै ऊ कुर्सीबाट उठ्यो र निकै विनम्र स्वरमा नजिकैको दोकान कहाँ छ भन्ने कुरा बतायो। त्यो छोटो वार्ताले हामीलाई लगभग एक वर्षसम्म देख्दा हाँस्ने र हात उठाउन सक्ने बनायो। ऊ आएर पुस्तकालयमा चुपचाप बसेर पढ्थ्यो, म पनि त्यस्तैगरी एकछेउमा बसेर पढ्थें। यसरी एक वर्षसम्म हाम्रो परिचय सीमित भयो।

एक वर्षपछि एकदिन बल्ल हामी लामो बोल्यौं। वेनले मेरो नाम सोध्यो, मैले भने “नी हुनिङ”।

“किन यो नाम राख्यौ?” उसले सोध्यो।

“नी चाहिं मेरो देशको नामबाट। म पहिले नान्जिङमा बस्थें, त्यहाँबाट शांघाई आएकोले हुनिङ नाम राखें।”

“फुतान विश्वविद्यालयमा एक जना प्रोफेसर छन, उनको नाम वाङ हुनिङ पनि शांघाई र नान्जिङ मिलाएर बनाएको हो। कस्तो मिलेको। ती प्रोफेसर अहिले त ठूलो मान्छे भएर बेइजिङमा भर्खर गए। राष्ट्रपति च्याङ चमिनले नै तानेका।”

राष्ट्रपति च्याङ च्याओथोङ विश्वविद्यालयको लागि मह्त्वपूर्ण नाम थिए किनकि उनले त्यहीं पढेका थिए र पछि शांघाईकै मेयर भएका थिए। मैले वेनलाई सोधें, “तिमीलाई अहिलेको मेयर प्रोफेसर सु कस्तो लाग्छ? उनी पनि च्याङ जस्तै गएर पछि राष्ट्रपति बन्छन् त?”

“बन्दैनन्। यिनी सोझा छन, राष्ट्रपति बन्ने खालको व्यक्तित्व नै छैन।”

मलाई वेन मन पर्‍यो। हामी नेपालमा नेताहरुको बारेमा खुलेर कुरा गरे जस्तै उसले पनि खुलेर कुरा गर्‍यो। उसले मलाई अलिअलि फुर्तीका साथ भन्यो, “म पनि पार्टीकै सदस्य हुँ, पछि गएर नेतै बन्न सक्छु।”

“गजब”, मैले भनें।

मैले केही समयपछि पत्ता लगाएँ, उसको प्रमुख ध्यान गणितमा थियो। उसले अंग्रेजी किताब पढेको पनि अमेरिकामा पीएचडी गर्ने तयारीमा रहेकोले जीआरई परीक्षा दिन थियो। म पनि फुर्सदको समयमा जीआरई दिनुपर्ला भनेर बसेको थिएँ। अर्को एक वर्ष हामीले एकअर्कालाई अंग्रेजीका शब्दको अर्थ सोध्दै हरेक शनिवार केही घण्टा बितायौं। सन् १९९७ को जाडोमा हामीले त्यो परीक्षा दियौं। दुवैले राम्रो गर्‍यौं। ऊ मभन्दा एक वर्षअघि कलेजबाट पास हुनेवाला थियो।

“मलाई पर्डु विश्वविद्यालय जान मन छ। एकजना चिनियाँ गणितज्ञ छन्, अस्ति शांघाई घुम्न आउँदा हाम्रो रिसर्च इन्टेरेस्ट मिल्यो”, उसले एकदिन मलाई भन्यो।

“म आठ दश वटामा निवेदन हाल्छु। जता छात्रवृत्ति पाइन्छ, त्यतै जान्छु। मलाई त जता पाए पनि ठीक छ। मेरो त कलेज सकिन केही समय पनि छ।”

सन् १९९७ को डिसेम्बरमा वेनले मलाई उसको परिवारको बारेमा बतायो। मेरो विश्वविद्यालयको छेउमा रहेको पश्चिम यानआन रोडमा जुन दुईतले सडकको दोस्रो तलाको निर्माण भइरहेको थियो र जहाँ गाउँबाट आएका हजारौं कामदार नीलो ज्याकेट र पहेंलो टोपी लगाएर काम गरिरहेका थिए, तीमध्ये एक जना उसका बा थिए। उसकी आमा पनि बासँगै लागेर आएकी थिइन्। तिनीहरु हुनान प्रान्तको चिशौबाट शांघाई आएका थिए। उसको एक जना भाइ र एक जना बहिनी थिइन्। बाआमाले अरु आफन्तको भरमा तिनीहरुलाई गाउँमै छोडेर शांघाई आएका थिए।

“हामी दुवै किसान रहेछौं त्यसो भए”, मैले भनें। “हामी के गर्छौं भन्ने हाम्रो कुरा भयो, हामी कहाँ जन्मन्छौं भन्ने कुरा हाम्रो हातको कुरा भएन। जहाँ जन्म्यौं, त्यहींबाट उकालो उक्लन सुरु गर्ने हो।”

एकदिन वेन र म साइकल चलाउँदै श्रमिकहरु बस्ने यानआन रोड नजिकको एक छाप्रोमा गयौं। उसका बा भात र तरकारी खाँदैथिए। उमेर धेरै नभए पनि उनको अगाडिको एउटा दाँत झरेको थियो र अनुहारमा चाउरी पर्न थालेको थियो। आमा अलिअलि गोरी थिइन् र उनी अलि कम श्रम पर्ने एग्रिगेटहरु मिसाउने काम गर्थिन्। “खेती राम्रो हुँदैन, यसरी बाहिर काम नगरी घरमा खर्च धान्न सकिंदैन।”

“हुनानमा हुर्किरहेका वेनका भाइ र बहिनीको कलेज खर्च कसरी धान्ने भन्ने पीर थियो। नपढे तिनले पछि हामी जस्तै गाउँमै दु:ख पाउँछन्। जेठो त टाठो थियो, सबैजसो छात्रवृत्तिले गर्छ”, बुढा वेनले भने।

“अब उ अमेरिका गएपछि तपाईंलाई सहयोग गर्ला नि! पर्डुमा खर्च कम हुन्छ। छात्रवृत्तिबाट एक दुई सय डलर बचाए पनि यता राम्रै हुन्छ”, मैले आशा दिलाएँ।

बुढा वेन संसारमा दु:ख सुख, आशा निराशा धेरै देखेको मान्छे जस्तै भावनात्मक रुपमा स्थिर थिए। उनले भने, “खै के हुन्छ? अमेरिका गएपछि यसको पनि आफ्नै दु:ख हुनेहोला। अहिल्यै केही आशा राख्नुपनि राम्रो हैन। हामी गरीबलाई जता गएपनि उस्तै हो भन्छन्। बरु यतै बसेर जागिर खाए हुन्थ्यो कि?”

==

म त्यो वर्ष चिनियाँ नयाँ वर्षमा वेनसँगै उसको घर हुनान गएँ। ऊ खासै मलाई लिएर यात्रा गर्न उत्साहित थिएन तर मैले ‘मलाई माओको जन्म भएको शाओसान जान मन लागेको छ, घुमाइदेउ न’ भनें। मैले सानो छँदा माओको जीवनी पढेको थिएँ, कम्युनिस्टहरुले छाङ्शा भन्ने शहरमा आक्रमण गरेको, हुनानबाट यानआनसम्म लङमार्च गरेको बारेमा। चीन आएर चीनको ऐतिहासिक पाटो नहेरी कसरी नेपाल फर्कनु भन्ने लागेर म ती भूभाग हेर्न चाहन्थें। यत्ति कन्भिन्सिङ तरिकाले भनेपछि वेनले मलाई लिएर जाने भयो।

“मेरो घरमा तिमी दुईदिन पनि बस्न सक्दैनौ। धेरै नराम्रो छ”, उसले भन्यो।

म आफैं चितवनमा कुनै दरबारमा हुर्केको थिइनँ। हामी सानोछँदा दौड्दै खोलाको बगरमा गएर दिसा गर्थ्यौं। तीन चार कक्षा पढ्दा बल्ल घर पछाडि चर्पी बनाएर त्यहाँ दिसापिसाब गर्न सुरु गरेका थियौं। मैले वेनलाई त्यो कुरा बताएँ र भनें, “जस्तोसुकै अवस्थामा पनि म बस्न सक्छु।”

वेनको घर म जम्माजम्मी तीन दिन बसें। तर ती तीन दिन अविस्मरणीय रहे।

वेनको भाइ वेन पो र बहिनी स्याङ याङ दुवै साह्रै रमाइला थिए। दुवै हाईस्कुल पढ्दै थिए। बहिनी दुई चुल्ठा बाट्थी र साँच्चै राम्री थिई। बहिनीको उमेर चौध वर्ष पनि पुगेको थिएन। मैले उसलाई एक दिन सोधें, “स्याङ यिङ तिम्रो चाहिं दाँत कसरी यस्तो राम्रो?”

“हामी सानो छँदा हामीले एकसय वटा कुखुरा पालेका थियौं। एकदिन के के रोग लाग्यो भनेर ती सबै कुखुरा नष्ट गर्ने आदेश आयो। बाले कुखुरा नष्ट गर्न मान्नुभएन। केही रोगै लागेको छैन भन्नुभयो। स्थानीय सरकारका मान्छेले बाको अड्डी देखेपछि ठिकै छ, बाहिर चाहिं बेच्न पाउँदैनौ आफ्नो घरमा खाऊ भने।

घरमा ६ महिनासम्म कुखुरा दिनदिनै खायौं। अरुले भन्दा पनि म सानी भएकोले बाले मैले नै धेरै खाओस् भन्नुहुन्थ्यो। छोरी गोरी छे, कपाल सिल्कका जस्ता छन्, यसको दाँत पनि राम्रो हुन्छ भनेर मलाई कुखुराको सबैभन्दा धेरै चोक्टा दिनुभयो। सानोमा पौष्टिक पदार्थ त्यति धेरै अरु कसैले पाएका थिएनन्, मैले मात्र पाएँ। त्यसैले दाँत राम्रा भए”, स्याङ याङले भनी।

“तिम्रो अनुहार बेदाग छ, खोट लगाउने ठाउँ छैन। तिम्रा जस्ता मिलेका टिलिक्क टल्कने सेता टम्म दाँत कसैका छैनन्। चौध वर्षकी भयौ, चार वर्षपछि फेरि घुम्न यतै आउँछु”, मैले जिस्कँदै भनें। तर केही वर्ष वित्दै गएपछि, अमेरिकामा युनिभर्सिटीमा पढ्दाको बैंस बढ्दै जाने तर अपरिमेय एक्लोपनामा गणित र अर्थशास्त्रका अप्ठेरा सिद्धान्तहरु पढ्नुपर्ने स्थितिमा, मैले स्याङ यिङको हँसिलो अनुहार र चञ्चलता धेरै सम्झें। त्यसैले म त्यो बेला पूर्णरुपमा जिस्केको थिइनँ भन्ने म सोच्छु।

बुढा वेनलाई पनि छोरी राम्री छे भन्ने थाहा थियो। मलाई उनले भने पनि, “छोरी राम्री छे। फरासिली छे। कलेज पढी भने त शहरको डाक्टर बिहे गर्ली र सुखी होली। तर फेरि कहिलेकाहीं गाउँमै कसैले केही गरिदेला कि भन्ने डर पनि लाग्छ।”

वेन पोले मलाई दोस्रो दिन वरिपरि खेत, डाँडा घुम्न लाग्यो। उसलाई चिनियाँ इतिहासको राम्रो ज्ञान थियो। सानो भए पनि गणित राम्रोसँग पढेको र इतिहास राम्रोसँग बुझेकोले उसँग आफ्नो उमेरको भन्दा बढी प्रौढता थियो।

“कुन कलेज पढ्न जाने विचार छ तिमीलाई?” मैले सोधें।

“म हुनानमै पढ्छु”, उसले भन्यो।

“शांघाई, बेइजिङ, ग्वाङ्चौतिर जान मन छैन?” मैले सोधें।

“तिमीहरु विदेशी जस्तो महँगो शहरमा गएर पढ्ने मौका हामीलाई कहाँ छ र?” उसले भन्यो।

मैले उसको कुरा बुझिनँ। “म नेपालमा किसानको छोरो, तिम्रो दाइ हुनानको किसानको छोरो। हामी दुवै शांघाईमा गएर पढ्न सक्ने, तिमी नसक्ने कसरी हुन्छ? यसमा धनी गरीबको के कुरा भयो?” मैले उसलाई भनें।

“तर तिमीहरु दुवै जना अपवाद हो नि! सबै नेपालीले वा हुनानी विद्यार्थीले शांघाईमा गएर कहाँ पढ्छन् र?” वेन पोले भन्यो। सानैदेखि अभाव र अपर्याप्त स्रोतको असर राम्रोसँग बुझेको वेन पो मलाई ज्ञानी लाग्यो। यो भएन, ऊ भएन, यो चाहियो, ऊ चाहियो भनेर किचकिच गरेर बाबुआमालाई हत्तु पार्ने बच्चा जस्तो उ छँदै थिएन।

मलाई चिशौमा बस्दा एउटा अर्को कुरा महसुस भयो। मलाई उनीहरुको प्यानवाला चर्पी निकै गन्हाउँथ्यो। मेरो चितवनको घरको चर्पी त्योभन्दा राम्रो थिएन। तर पनि आफ्नो चर्पीको नराम्रो गन्धले मान्छेलाई खासै फरक पार्दैन, तर अर्कोको चर्पीको नराम्रो गन्ध सहन गाह्रो हुनेरहेछ। म छेउछाउका शाओशान लगायत केही ठाउँमा घुमेर तीन दिन बसेर शांघाई फर्कें।

==

सन् १९९८ को अगस्टमा वेन पर्डु विश्वविद्यालय पढ्न गयो। त्यसअघि जूनदेखि अगस्टसम्म नजिकैको फुतान विश्वविद्यालयको गणित विभागका प्राध्यापक चौको अनुसन्धान सहायकको रुपमा दुई महिना शांघाईमै बितायो। ऊ जानुअघि विश्वविद्यालयमा उसको वरिपरिको सानो समूहलाई खाना खान बोलाउँदा मलाई पनि बोलाएको थियो। उक्त समूह निकै सानो थियो, हामी चार जना मात्र थियौं। त्यो मध्ये एक जना उसलाई काम दिने प्राध्यापक थिए। त्यो शांघाईमा उसले नजिकको मान्ने मान्छे म समेत गर्दा पनि जम्मा चार जना रहेछौं भन्ने थाहा पाउँदा मलाई केही नरमाइलो पनि लाग्यो। उठ्ने बेलातिर प्राध्यापक चौले मलाई भने, “म पनि मिसिगन एनआर्बरको गणित विभागमा विद्यावारिधि गरेर फर्केको हुँ। म यत्ति चाहिं भन्न सक्छु, सबैतिरबाट राम्रो वातावरण पायो भने वेनले अमेरिकामा केही न केही गर्न सक्छ।

मलाई पछि महसुस भएको थियो, वेनलाई चिनेका धेरै चिनियाँ विद्यार्थीमा ऊ अमेरिका गएर कस्तो गर्छ भन्ने कौतूहल थियो। ऊ धेरै लोकप्रिय थिएन, धेरै आत्मविश्वासयुक्त विद्यार्थी पनि थिएन। ऊ लड्दैपड्दै विकट गाउँबाट च्याओथोङ विश्वविद्यालय आइपुगेको थियो। उसको एक मात्र साथी भनेको उसको तीक्ष्ण दिमाग थियो। जसले उसको तीक्ष्ण दिमागलाई चिन्ने फुर्सद पाउँथे, उनले उसलाई मन पराउँथे। अरुको लागि ऊ गाउँबाट आएको, खासै कुनै सभ्यता नभएको, विपन्न, फोहोर, मासु र हाडको थुप्रो मात्र थियो।

मेरो स्नातक सन् १९९९ को ग्रीष्म ऋतुमा मात्र सकिने थियो। वेनले अमेरिका पुग्ने वित्तिकै मलाई इमेल पठायो। म अर्को वर्ष कुन विश्वविद्यालय जाने भन्ने निश्चित थिएन। उसले अप्रत्यक्ष रुपमा पर्डुमा पढ्न आउ भन्ने भाव व्यक्त गरेको पाएँ। पर्डुको वरिपरिको सुन्दरता देखिने गरी फोटोहरु पठाएको थियो। फेब्रुअरीमा म पर्डु नभई अर्कै विश्वविद्यालय जाने भएँ भनेर उसलाई चिट्ठी पठाउँदा उसले नरमाइलो मान्यो। विस्तारै हाम्रो पत्र आदानप्रदान पातलियो।

सन् १९९९ मेको एकदिन म शांघाई पुस्तकालयमा थिएँ। वेन गएपछि म च्याओथोङ विश्वविद्यालयको पुस्तकालयमा धेरै जाँदिनथें। बरु नजिकैको हुआइहाई रोडको ठूलो र पुरानो शांघाइ पुस्तकालयमा जान्थें। म दिउँसोतिर पुस्तकालय बाहिर निस्केको बेला धेरै विद्यार्थीको जुलूस देखें। जुलुसको अगाडितिर हेर्दा मैले वेन पोलाई देखें, उसले ‘रगतको बदला रगत’ लेखेको रातो झन्डा बोकेको र उक्त झण्डाको एककुनामा बिल क्लिन्टनको फोटो र त्यो फोटो मुनि ‘हत्यारा’ भनेर लेखेको थियो। म दौड्दै उसको नजिक गएँ र भनें, “वेन पो, कसरी तिमी यहाँ?”

वेन पो मलाई देखेर एकछिन छक्क पर्‍यो। विदेशी मान्छेलाई जुलूसको अगाडि देखेर हो कि के हो, केही फोटो पत्रकार मेरो फोटो खिच्न म नजिक पनि आए। वेन पोले जोशमा भन्यो, “ताक (दाइ), म एक हप्तालाई बा–आमा भेट्न शांघाई आएको थिएँ। अनि हाम्रो स्कुलका अहिले शांघाईमा पढिरहेका सिनियर दाइहरुले अमेरिकनहरुले हाम्रो युगोस्लाभियाको दूतावासमा बम हानेर स्टाफलाई मारे, जाऔं विरोध प्रदर्शन गर्न भने। त्यही भएर म पनि आएँ।”

“पुलिसले लाठीचार्ज गर्‍यो भने तिमीलाई सबैभन्दा पहिला लाग्छ। कहाँ जुलूसतिर हिंडिराख्या? भोलि दुई देशका नेताहरुले आफैं कुरा मिलाइहाल्छन् नि!”, मैले भनें। “वेन पो, हिंड खाजा खान जाऔं। मैले मिठो चाओमेन खाने ठाउँ देखेको छु।”

चिसो कोक र चाओमेन खाँदै मैले उसलाई घरको खबर सोधें। “सबै ठिकै छ। बहिनी पनि ठिकै छ। बाआमा शहर आउँछन्, काम गर्छन्। सानो काका, काकी र हामी गाउँको घरमा सँगै बस्छौं।” अनि उसले हाँस्दै भन्यो, “काकी रोगी भएर शहर आउन नसकेको पनि हामीलाई राम्रै भएको छ।”

“दाइको खबर के छ? कुराकानी भैराख्छ?” मैले सोधें।

“एकदम कम। हाम्रो घरमा इन्टरनेट, ल्यापटप केही छैन। कहिलेकाहीं शहर गएको बेला इमेल गर्छु। तर धेरै भयो, कुराकानी नभएको। तपाईंको कुराकानी भइरहेको छ?” उसले सोध्यो।

“मेरो पनि खासै भएको छैन, अहिले। केही महिनापछि म पढ्न ह्युस्टन जाँदैछु। वेनलाई जसरी पनि भेट्छु। तिमी पनि राम्रोसँग पढ है, जुलूससुलुस भनेर नहिंड”, मैले भनें। “भाइ, के पढ्ने मन छ कलेजमा?” “माटो विज्ञान र तथ्यांक शास्त्र”, उसले निश्चिन्त आवाजमा भन्यो।

==

दुर्भाग्यवश, म अमेरिका गएपछि वेनलाई भेट्न तीन वर्ष लाग्यो। यसको लागि वेनको अरुचि र मेरो विश्वविद्यालयको संघर्ष दुवै समान रुपमा जिम्मेवार थिए। अमेरिका गएको एक वर्ष त एकदम चाँडै बित्यो।

सन् २००३ मा म क्यालिफोर्निया सर्ने योजनामा थिएँ। छोटो समयको लागि रिसर्चको एउटा काम लिएर म सेन्टलुइस गएको थिएँ र त्यहींबाट बाटोमा ड्राइभ गर्दै क्यालिफोर्निया जाने योजना बनाएको थिएँ। कम्तीमा एक डेढ वर्षदेखि वेनसँग सामान्य कुराकानी पनि भएको थिएन। अघिल्लो फोनको कुराकानीको बेलामा मैले उसलाई मसँग बोल्न धेरै उत्साहित समेत नभएको महसुस गरेको थिएँ। तैपनि मैले उसलाई सम्पर्क गरें र दिउँसोको खाना सँगै खाने गरी पर्डु आउँछु भनें। “यति नजिक हुँदा त भेट्न तीन वर्ष लाग्यो, क्यालिफोर्निया गएपछि कहिले भेट हुने हो?” मैले भनें। मैले त्यसरी भनेपछि उसले पनि आउ भन्यो।

लगभग चार घण्टा गाडी चलाएर म पर्डु भएको शहर वेष्ट लाफिएट पुगें। वेन गणित डिपार्टमेन्टको रातो भवन बाहिर उभिएर मलाई कुरिरहेको थियो। उसले आफ्नो विभाग देखायो, केही प्रख्यात प्राध्यापकको अफिस देखायो। त्यसपछि हामीहरु नजिकैको सब्वेजमा छोटो लन्च खान पस्यौं। उसले चिनियाँ भाषामा मलाई भन्यो, “पर्डु आएर धेरै गल्ती गरें। मलाई तनाव मात्र छ र मेरो रिसर्चमा कुनै प्रगति भएको छैन। एड्भाइजर पनि ठीक रहेनछ। बेलामा पीएचडी पनि सक्दिनँ कि भन्ने डर लाग्छ।”

“घरमा कुरा गरिराख्या छौ? वेन पोलाई कस्तो छ? बहिनी के गर्दै छ? बा–आमा शांघाई नै छन् कि हुनान फर्किए?” मैले सोधें।

“तिमीसँग झुटो बोल्दिनँ, उनीहरुसँग पनि नबोलेको धेरै भयो। यता केही राम्रो खबर छैन, बोलेर मात्र के गर्ने जस्तो लाग्छ”, उसले भन्यो।

“नबोल्दा भन्दा तिमी बोल्यौ मात्र भने पनि भरोसा हुन्छ वेन। उनीहरुको पनि अरु को छ र? तिमीप्रति सबैको भरोसा छ।”

वेनले कुरा घुमायो। मलाई कताकता चिसो पस्यो। धेरै ग्राजुएट विद्यार्थीहरु तनावमा गुज्रेका हुन्छन्। जागिरको, पढाइ सक्नको, धेरैको जीवनमा भने जस्तो प्रगति भएको हुँदैन। असफलतासँग जुध्न सक्ने, असफलतालाई स्वीकार्न सक्ने व्यक्तिहरु बाहेक अरुलाई अप्ठेरो भएको हुन्छ। वेन त्यस्तै तनावमा थियो जस्तो भान मलाई त्यतिबेला भयो।

वेनसँगको त्यो भेटको केही समयपछि म क्यालिफोर्निया गएँ। त्यसको दुई वर्षपछि वेनले पीएचडी सक्न लागेको खबर पाएँ। हाम्रा दुवैका चिनजानका क्यालिफोर्निया बस्ने केही साथीहरुका अनुसार उसले पढाइसकेपछि कतै जागिरको लागि निवेदन पनि हालेन, उ चुपचाप एट्लान्टामा एउटा चिनियाँ रेस्टुराँमा वेटरको रुपमा जागिर खान थाल्यो। त्यहीं नजिकै कपाल काट्ने च्याङ्सी प्रान्तबाट आएकी एक चिनियाँ केटीसँग उसको प्रेम सम्बन्ध भयो। उसले साथीहरुसँग सम्बन्ध लगभग टुटायो। उसका च्याओथोङ विश्वविद्यालय पढेर अमेरिका आएका कोही साथीहरु अमेरिकामा राम्रो विश्वविद्यालयमा प्रोफेसर भए, कोही न्युयोर्कमा फाइनान्स इण्डस्ट्रीमा जागिर खान थाले। उसको जस्तो न्यून तलबको स्थिति कसैको थिएन। साथीहरु पनि उसँग विस्तारै पर भए, ऊ पनि अरुसँग टाढियो।

==

सन् २००८ मा म ग्वाङ्चौको सन यात्सेन विश्वविद्यालयमा थिएँ। वेनको भाइ वेन पो पनि त्यो बेला केही काम भएर संयोगवश ग्वाङ्चौ आएको थियो। हुनान विश्वविद्यालयबाट स्नातक सकेर बेइजिङको रनमिन विश्वविद्यालयमा विद्यावारिधि गर्न गएको थियो। वेन पो निकै फुर्तिलो थियो। “म पढाइ सकेर ग्वाङ्चौ आएर पढाउँछु”, उसले तुरुन्त मसँग भन्यो पनि– “यो ठाउँ घरबाट पनि नजिक पर्छ, सके चोङ्शान विश्वविद्यालयमै पढाउन पाउँछु होला।”

एकदिन मैले उसलाई भनें, “हिंड जाऔं चिशौतिर। म गाडी भाडामा लिन्छु।”

शाओशानबाट लगभग पाँच घण्टाको गाडीको यात्रापछि चिशौ पुगिन्थ्यो। वेन पोले झिजो नमानिकन गाडी चलायो। विस्तारै साना तर हरिया पहाडहरु आए। मलाई एक दशक अघिको मेरो यात्रा याद आइराख्यो। हुनान पनि निकै नै परिवर्तन हुँदैथियो। त्यो देखियो। हामी विस्तारै चिशौको शहरी भेगबाट गाउँतिर लाग्यौं। त्यहाँको एउटा विपन्न बस्तीको सानो घरनिर पुगेर वेन पो करायो, स्याङ यिङ, बाहिर हेर त को आ’छ?

स्याङ यिङ बाहिर आई। हामीलाई देखेर खुशी भई, “कस्तो थाहा नदिइकन आयौ? चिया, खाना, के बनाउँ?” उसले भनी।

उसले गाउँकै स्कुलको शिक्षकसँग बिहे गरेको कुरा वेन पोले सुनाएको थियो। स्याङ यिङको भर्खर जन्मेकी एक छोरी रहिछ। एकछिन पछि एउटा निकै बुढो देखिने मोटो मान्छे मुखको बीचमा चुरोट च्याप्दै आए। स्याङ यिङको श्रीमान् रहेछन्। मैले आफ्नो निराशा लुकाउन सकिनँ तर पनि ती शिक्षकले खुशी साथ मेरो स्वागत गरे। मनमनै स्याङ यिङले कसरी र किन यस्तो मान्छेलाई छानी भन्ने सोच्दै गरें।

वेन पो र स्याङ यिङले बुढा वेन र उनको श्रीमतीलाई त्यहीं बोलाए। तिनीहरुको घर नजिकै थियो र म जान उत्सुक थिएँ। तर उनीहरु त्यही आउने भनेपछि मैले धेरै कर गरिनँ। वेनको आमा धेरै बुढो भएको जस्तो लाग्यो। बा त बुढै थिए, केही बढी दाँत झरेछन्। वेन पोले स्याङ यिङको बुढालाई उत्तर चीनतिर पाइने मलाई मन पर्ने प्याङप्याङ नूडल बनाउन लगायो र आफू चिसो कोक किन्न गयो। सासू–ससुरा ज्वाईंलाई सहयोग गर्न भान्सामा पसे। त्यहीबेला मलाई स्याङ यिङले बच्चा काखमा लिएर आफ्नो कथा सुनाई।

“मैले कलेज जाने काओखाओको जाँच पनि राम्रो गरिनँ। हाईस्कुल सकेपछि गाउँमै जुनी जाने भयो भनेर आत्तिएकी थिएँ। एकदिन छिमेकी गाउँको स्याओ वाङले मलाई दक्षिणको हाइनान टापुको सान्या जाने हो भनेर सोध्यो। राम्रो काम पाइन्छ, काराओकेमा काम गर्ने हो, तलब पनि धेरै हुन्छ। ठूलाठूला घर, राम्रा सडक देखिन्छ। गाउँमा बसेर यतै कुहिनु भन्दा त्यहीं राम्रो हो भन्यो। स्याओ वाङ आफैं पनि हिस्सी परेको राम्रो थियो। म उसँगै भागेर सान्या गएँ। बाआमालाई ढाँटेकी थिएँ, स्याओ वाङकी दिदीसँग फ्याक्ट्रीमा जागिर गर्न ग्वाङ्चौ जाँदैछु भनेर। विचरा बुढाबुढीले मैले कति दु:ख पाएँ हुँला भनेर सोच्न पनि सक्दैनन्। सान्यामा पुगेपछि स्याओ वाङ फटाहाले मलाई धोका दिएको थाहा भयो। काराओके भन्नु मात्र। ६ महिना त वेश्या नै बन्नुपर्‍यो। त्यसरी सडेर बस्नु भन्दा गाउँ फर्कन्छु भनेर एकदिन आँट गरेर वेन पोलाई फोन गरेर आफ्नो अवस्था बताएँ, वेन पो र गाउँको यो शिक्षक मिलेर मलाई फर्काएर ल्याए। वेश्या बन्नुपरेको कुरा तपाईंलाई मात्र भनेको हुँ। मैले यति बुढोसँग किन बिहे गरें भनेर सोच्नुभएको होला भनेर।”

स्याङ यिङले त्यति भनेपछि मेरो मन झन् अमिलो भयो। मलाई के भनुँ के भनुँ पनि भयो। अन्त्यमा मैले भनें, “हामी सबैको जीवन एउटा नितान्त व्यक्तिगत यात्रा रहेछ स्याङ यिङ। जे जसो आइपर्छ, आफैं भोग्नुपर्ने। नराम्रा दिन सधैं रहन्नन्। तिम्री छोरीलाई राम्रोसँग पढाऊ। अन्त्यमा सबै राम्रो हुन्छ।”

त्यहाँ बसुन्जेल कसैले पनि मलाई अमेरिकामा बसिरहेको वेनको बारेमा सोधेनन्। कसैलाई वेनप्रति कुनै उत्सुकता बाँकी थिएन जस्तो लाग्यो। मैले पनि कोट्याइनँ।

==

२००९ को जून महिनामा म मेरो दाइ र भिनाजुसँग फ्लोरिडाको मायामी शहर घुम्न गएको थिएँ। दाइ र भिनाजु दुवै जनाको बसाइ टेक्सासमा थियो। त्यो बेला म क्यालिफोर्नियामा बस्थें। मायामी घुमिसकेपछि आन्ध्र महासागरको छेउछेउ हुँदै हाइवे ९५ हुँदै हामी ज्याक्सनभिल आइपुग्यौं।

“कान्छा, पीएचडी सकेपछि नेपाल गए पनि आइराख। हामी यसरी नै घुमौंला”, भिनाजुले भन्नुभयो।

मायामी घुम्ने बेला मात्र मलाई झल्याँस्स वेन नजिकै टिफ्टनको एक रेस्टुराँमा काम गरिरहेको याद आएको थियो। मैले गाडीबाट अनलाइनमै एट्लान्टा हुँदै सान फ्रान्सिस्को फर्कने राति ११ बजेको टिकट लिएँ। दाइ र भिनाजु छक्क पर्नुभयो।

“केही छक्क नपर्नुस्। मेरो एक जना चिनियाँ साथी टिफ्टनमा छ, म त्यहाँ केहीबेर रोकिनेछु”, मैले भनें।

दाइ र भिनाजु लेक सिटीबाट टेक्सासतिर लागेपछि म एक्लै हाइवे ७५ हुँदै बदाम फल्ने विशाल फाँटहरुको बीचबाट गाडी दौडाउँदै अघि बढें। दाइहरुसँग छुट्टिने बेला दिउँसोको तीन बजेको थियो। म टिफ्टन पुग्दा सवा चार बजेको थियो। टिफ्टन सानो शहर थियो।

मैले त्यहाँ एकैछिनमा फिएरी ड्रागन रेस्टुराँ फेला पारें। बाहिर ठूलो पार्किङको सुविधा भएको एउटा दोकान र होटलहरुको कम्प्लेक्सको पश्चिमी भागमा त्यो रेस्टुराँ थियो। बाहिर ‘अल यु क्यान इट बफे लन्च’ को पाँच डलर उनान्सय सेन्ट पर्छ भनेर सूचना टाँसेको थियो। म गाडी पार्क गरेर भित्र गएँ र होटलको रिसेप्सनिस्टलाई सोधें, “वेन कहाँ छ?”

एक दशकपछि वेनलाई देख्दा मलाई चिन्न गाह्रो भयो। ऊ धेरै मोटाएको थियो। उक्त रेस्टुराँको मालिक्नी ताइवानकी थिई र मैले चिनियाँ बोलेको देखेर खुशी भई। मेरो र वेनको पुरानो चिनाजानी थियो भन्ने थाहा पाउँदा ऊ झनै उत्साहित भई। मलाई उसले भने अनुसार वेन त्यतिबेला एक्लो र डिप्रेस्ड थियो। ऊ हरेक महिना जसो कमाएको पैसा लिएर जुवा खेल्न जान्थ्यो। जुवा, चुरोट र रक्सीमा ऊ लगभग आफ्नो सबै पैसा उडाउँथ्यो। साहुनीको विचारमा ऊ झन् झन् बिग्रदै गएको थियो र केहीअघि त उसले लासभेगासमा गएर यौनकर्मीहरु माथि पनि पैसा खर्च गरेको थियो। “गणितको पीएचडी पनि यस्तो, हरे!”

वेन र म एक्लै हुँदै भएनौं। साहुनी पनि सँगै बसिन्। मैले वेनलाई भनें, “तिमीलाई उता हुनानमा बा–आमा के गरेर बसेका होलान् जस्तो लाग्दैन?” ऊ केही पनि बोलेन। मैले भने, “तिम्रो गाउँमा अहिले सबैको घर नयाँ र राम्रो छ। सबैका बाहिर गएका छोराहरुले पैसा पठाएका छन्। कसैले बेइजिङबाट, कसैले विदेशबाट। तिमीहरुको घरमा मात्र कसैले पैसा पठाउँदैन। तिमीहरुको घर मात्र झुप्रो छ। अरुको तीन–तीन तले, फ्रिज, वाशिङ मेशिन सबै भएका घर छन्। स्याङ यिङ पनि हाइनानसम्म काम गर्न गएर पनि केही गर्न नसकेपछि त्यो प्राइमरी स्कुलको मोटे मास्टर स्याओ थाओसँग बिहे गरेर बसेकी छ। यसरी कहाँ हुन्छ वेन? तिमी जिम्मेवार बन। पैसा यसरी नउडाउ, बरु हुनान जाउ त्यतै बस। हाईस्कुलमै पढाए पनि, खेती मात्र गरेर बसे पनि आफ्ना बा–आमाको लागि तिमी त्यहाँ भए भरोसा त हुन्छ।”

उसकी ताइवानी साहुनी मप्रति अनुगृहीत भएकी थिइन्। उनले पनि थपिन्, “सबै पैसा रक्सी खाएर र जुवा खेलेर उडाउँछौ, स्याओ वेन। यसरी कहाँ हुन्छ? झन् पढेलेखेको मान्छे। आफ्नो बा–आमालाई त माया गर्नु नि!”

वेन धेरै परिवर्तन भइसकेको थियो। उसले मसँग खासै केही कमिट्मेन्ट गरेन। उसले बा–आमाको बारेमा मैले भनेका कुरा ध्यान दिएर सुने पनि खासै कुनै प्रतिक्रिया जनाउन आवश्यक ठानेन। आफ्नै बाबुआमाप्रति त्यस्तो डरलाग्दो अनासक्ति मैले कसैमा पनि देखेको थिइनँ। ऊ छुट्टै दुनियाँमा थियो कि जस्तो मलाई लाग्यो।

साहुनीले कर गरेपछि सँगै खाना खान बस्यौं। वेनको मुखबाट त्यो दिन ह्वास्स गन्हाउने गरी बियरको गन्ध आएको थियो।

उसले खाना खाने बेला लामो कुरा गर्‍यो। सबै यहाँ लेख्न सम्भव नभए पनि उसलाई लगभग सबैसँग शिकायत थियो। पर्डुको प्राध्यापकले उसको रिसर्चलाई कहिल्यै ध्यान दिएन, उसँगै पढ्ने साथीभाइहरुसँग पनि उसको सुखद सम्बन्ध रहेन, उ गाउँले भएकोले बेइजिङ शांघाईबाट आएका चिनियाँ विद्यार्थीले पनि उसलाई धेरै मतलब गरेनन्, अमेरिकामा त झन् कोही पनि साथी बनाउन सकेन, विश्वविद्यालय पढेका कुनै पनि केटीहरुले उसलाई कहिल्यै राम्रो आँखाले हेरेनन्, जब मार्केट उसको लागि बन्दै जस्तो भयो। उता गाउँमा पनि सबैले ईर्ष्या मात्रै गरे, उसको बा–आमाले सधैं पैसा अलिकति भए पनि पठाएर भाइ र बहिनीलाई सहयोग गर भनिराखे। संसारमै उसको अप्ठेरो बुझ्ने कोही भएन। सबैले उसलाई तल झार्न मात्र खोजे। ऊ असफल हुँदा नै संसार खुशी हुने रहेछ कि जस्तो उसलाई लाग्दैगयो, आदि आदि। उसको जीवनको भोगाइको इन्टरप्रिटेसन यस्तै थियो।

‘पूअर सोल’ ताइवानी साहुनीले उसको कथा सुनेपछि भनी। मैले वेनलाई उसको सोचाइभन्दा फरक विश्व छ भन्ने कुरा भनें। “च्याओथोङ विश्वविद्यालयको तिम्रो सहपाठी चिएलाई मैले भर्खर न्युयोर्कमा भेटेको थिएँ, ऊ अहिले युनिभर्सिटी अफ जर्जियामा गणित विभागमा पढाउँछ। मसँग वेनलाई के गर्न सकिन्छ, सक्ने सहयोग गर्छु भनेको थियो। अर्को फुतानको साथी वाङ फङ अहिले न्युह्याम्पशरमा डिपार्टमेन्ट हेड भएको छ। उसले पनि तिम्रो बारेमा पीर गरिरहेको छ। सबैले कसरी वेनलाई सहयोग गर्न सकिन्छ भनेर सोचिरहेका छन्। तिमी चाहिं यहाँ सबैसँग रिसाएर बसेका छौ”, मैले भनें।

“वेन, तिमी र म सन् २००२ तिर प्रोफेसर पोन्ट्रियाजिनले निकालेको डाइनामिक कन्ट्रोल थ्यौरीको बारेमा गफ गर्थ्यौं नि, कतिको सम्झना छ?” मैले सोधें।

ऊ केही बोलेन।

“इन्फिनिट हराइजन प्राब्लमहरुमा नेसेसरी कन्डिसन के हो भन्नेमा तिमीले प्रोफेसर मिशेलले दिएको कन्डिसनलाई अनावश्यक र गार्बेजको थुप्रो भनेका थियौ।”

मलाई अझै याद छ– “भेरियसनल मेथडबाट के के गरेर तिमीले या त अहिलेको विन्दु र स्टेडी स्टेट विन्दुको फरक अनन्त हुनुहुँदैन, या त मल्टिप्लायर अनन्त हुनुहुँदैन भनेका थियौ। त्यो लेखेर भ्यायौ भने तिम्रो कुराले गर्दा अहिलेसम्मको कुन कुन अध्ययन गलत र कुन कुन सही ठहरिन्छ भन्ने कुरा स्पष्ट पार्‍यौ भने म्याक्रोइकोनोमिक्स र कन्ट्रोल थ्यौरीमा ठूलो योगदान हुन्छ। धेरै नोबेल पुरस्कार पाएका प्रोफेसरले पनि यसमा स्पष्ट नभइकन पेपर लेखेका छन्। कासले, एरोले”, मैले भनें।

“लेखेर के हुन्छ र?” उसले उपेक्षायुक्त स्वरमा ओठ तन्काउँदै उत्तर दियो। र थप्यो, “रिसर्च भनेको पनि एकैछिनको रमाइलो न हो।”

उठ्ने बेला ताइवानी साहुनीले मेरो खानाको पैसा लिन मानिनन्। वेनले राम्रोसँग क्यालिफोर्निया फर्कसम्म भन्यो र हिंडिहाल्यो। साहुनी मलाई पार्किङ लटसम्म पुर्‍याउन आइन्। मलाई उनको सद्भाव साह्रै मन पर्‍यो। गाडीमा चढ्ने बेला उनलाई भनें, “वेनलाई बहुलाउन नदिनुहोला। सद्दे भयो भने यसको जीउमा अझै पनि राम्रो गर्न सक्ने दिमाग छ।”

“हो”, उनले भनिन्। फेरि थपिन्, “पर्डुको गणितको पीएचडी, यस्तो अवस्थामा। हुनानमा उसको बा–आमालाई कति पीर परेको होला। बरु जिउँदो र सद्दे होस्, बा–आमालाई मतलब नगरोस्। कमसेकम एकदिन फर्केर आउँछ, बुद्धि फिर्छ भन्ने आशा त हुन्छ। गएपछि त सक्किगो नि!”

“म जर्जियाको प्रोफेसरसँग कुरा गर्छु। यसको जाँडको लत छुटाएर ठिक्कको लेखपढको जागिर दिलाउन सकेहुन्थ्यो”, मैले भनें।

“म यसलाई प्लेन्समा चर्चमा लैजान्छु, जिम्मी कार्टरले बेलाबेला त्यहाँ धार्मिक प्रवचन दिन्छन्। कार्टरहरु र हाम्रो परिवारको राम्रै सम्बन्ध छ। हामीले पहिला राष्ट्रपतिको चुनावमा पनि सहयोग गरेका थियौं”, ती साहुनीले भनिन्।

“जे सक्नुहुन्छ, गर्नुस्”, मैले भनें।

टिफ्टनबाट एयरपोर्ट पुग्न तीन घण्टा लाग्ने भएकोले मलाई सात बजेसम्म जसरी पनि छुट्नुपर्ने थियो। साहुनीसँग बिदा मागें र छुटें।

==

चिएलाई मैले एट्लान्टाको हार्टस्फिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय एयरपोर्टमा भेटें। मैले वेनलाई भेट्ने वित्तिकै उसलाई फोन गरेको थिएँ र उ पनि वेनको बारेमा सुन्न आतुर थियो। ऊ मलाई भेट्न एयरपोर्टमै आयो। चिएले अमेरिकामा राम्रो गरेको थियो, युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाबाट विद्यावारिधि गरेपछि ऊ युनिभर्सिटी अफ जर्जियामा असिस्टेन्ट प्रोफेसर भएर गएको थियो। चार वर्षमै उसको एशोसियट प्रोफेसरमा पदोन्नति भएको थियो। त्यो अर्थमा ऊ अमेरिकामा सफल भएको थियो। हामीले एयरपोर्टमा कफी खाँदै वेनको बारेमा कुराकानी गर्‍यौं।

“तिमीलाई थाहा छ, पर्डुका विद्यावारिधिका विद्यार्थीहरु बीच अहिले ‘वेनच्याङ लोवर बाउण्ड’ प्रख्यात भएको छ, त्यसको अर्थ चाहिं पीएचडी गरेपछि वेनभन्दा तल्लो तहमा कोही झर्दैन रे!” मलाई त्यो सुनेर निकै नरमाइलो लाग्यो।

“वेन अझै पनि तेज छ। केही त गरौं। तिमी केही त गर्न सकौला? कुनै पार्टटाइम रिसर्च, कुनै प्रोजेक्ट, कतै झुण्डिने बाटो त होला?” मैले सोधें।

“रिसर्च वा प्रोजेक्टमा पनि तनाव हुन्छ। बरु स्नातक पहिलो वर्षका विद्यार्थीलाई क्याल्कुलस पढाउने शिक्षकको माग धेरै छ। म डिपार्टमेन्ट हेडसँग मिल्यो भने वेनलाई लेक्चरर बनाइदिन भन्छु। अलिअलि पैसा पनि हुन्छ, धेरै तनाव वा दबाव केही हुँदैन।” मलाई उसको कुरा ठिकै लाग्यो। हामी त्यसमै सहमत भएर उठ्यौं।

म नेपाल आएको एक वर्षपछि चिएले इमेल मार्फत वेनले गणितको अस्थायी लेक्चररको जागिर सुरु गरेको सूचना दियो। “अस्थायी भए पनि जाँड खाएर बाटामै ढलेन भने, कुनै विद्यार्थीलाई आँखा लगाएन भने हटाउँदैनन्”, चिएले लेखेको थियो।

==

सन् २०२३ को सुरुआती दिन।

म नेपाल आएर प्राध्यापक हुँदाहुँदै राजनीतिमा लागेर चुनाव लड्दा पराजित भएपछि के गरौं, कसो गरौं भएर बसेको थिएँ। वेन पोले केही समय आफूले काम गरिरहेको विश्वविद्यालयमा आउने भए म स्रोतको व्यवस्था गर्छु भनेर चिट्ठी लेख्यो। ऊ ग्वाङ्चौमा प्रोफेसर भएको थियो र हामीले केही समय नेपालको पानीको समस्या सम्बन्धी इउमी द्वारा सुरु गरिएको एक अध्ययनमा साथै काम पनि गरेका थियौं। मैले चुनाव लड्न निर्णय गर्दा वेन पो सर्लाहीतिर थियो।

“प्रोफेसर मान्छे किन चुनाव लड्न खोज्नुभयो? यस्तो फोहोरी खेल?” उसले सोध्यो।

“आफ्नो अधिकार प्रयोग गरेको हो वेन पो। तिम्रो देशमा तिमीले चाहेर पनि लड्न सक्दैनौ, हैन? धेरै देशमा यो अधिकार छैन। हाम्रोमा छ। लड्दैमा मेरो केही जाने हैन”, मैले उसलाई जिस्काउँदै भनें। ऊ चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य थियो र कहिलेकाहीं मैले गरेको राजनैतिक प्रकृतिका मजाकलाई खासै सकारात्मक रुपमा लिंदैनथ्यो। अर्कोतिर सानैदेखि देखेको भएर मैले उसलाई भाइभन्दा ठूलो मानेर कहिल्यै हेर्दिनथें।

म २०२३ को ग्रीष्म ऋतुमा आगन्तुक प्राध्यापकको रुपमा वेन पोले पढाउँदै गरेको विश्वविद्यालय गएँ। ग्वाङ्चौमा नै मैले स्याङ यिङको श्रीमानलाई भेटें। उसले त्यहाँको प्रख्यात पुस्तक पसल ‘१२००’ अगाडि प्यान प्यान नूडलको दोकान खोलेको थियो। कुराकानीको क्रममा मलाई महिनाको २० देखि २५ हजार युआन कमाउँछु भन्यो। स्याङ यिङ अझै गाउँमै थिई तर बच्चाको स्कुलको कुरा मिल्ने वित्तिकै ग्वाङ्चौ आउने योजनामा थिई। “यो रेस्टुराँ वेन पोकै सोचाइ हो। सधैं गाउँमा बसेर हुँदैन। उतै शहरमै जाऔं भनेर जिद्दी गरिराख्थ्यो। यो रेस्टुराँ सुरु गर्न आर्थिक रुपमा पनि निकै मद्दत गर्‍यो”, उसले भन्यो।

वेन पोका बा प्यान्क्रियाटिक क्यान्सरले र आमा दमले दुई वर्षअघि बितेका थिए। वेन पो गाउँको जग्गा अब सहकारीले लैजाने हो कि भन्ने पीरमा थियो। उसले त्यो जग्गा टाढाका आफन्तहरुलाई कमाउन भाडामा लगाएको थियो। वेन पोले त्यो भनेपछि मैले नरमाइलो मानेर ती मिहिनेती बुढाबुढीलाई सम्झें।

स्याङ यिङले वेन पोलाई फोन गर्दा मसँग पनि कुरा गरी। “तपाईं चुनाव लड्दा हामी पूरा घर खुशी भएका थियौं। रिजल्ट आइरहँदा वेन पोले नेपाली वेबसाइटहरु रिफ्रेश गरी–गरी स्याङ यिङलाई देखाउँथ्यो। सुरुमा त जित्नुभएको थियो नि, है?” उसले भनी।

“सुरुमा मेरो घर वरिपरिको भोट गनेका थियौं”, मैले भनें। “भयो चुनावको कुरा नगरौं। तर चुनाव लड्दा मैले पनि हिमालयको अर्कोपट्टि मेरो घर छ, त्यहाँका मानिस मैले जितोस् भनेर कामना गरेर बसेका छन् भन्ने सम्झिरहेको थिएँ”, मैले स्याङ यिङलाई भनें।

त्यहीबेला मैले युनिभर्सिटी अफ जर्जियाको वेनको वेबसाइट खोलें। वेन च्याङ, प्रोफेसर, गणित विभाग तथा अर्थशास्त्र विभाग, भनेर लेखेको देखें।

“यो गल्ती त हैन नि?” मैले वेन पोलाई त्यो वेबसाइट देखाउँदै सोधें।

“ओहो, तपाईंले नयाँ कुराहरु थाहा पाउनुभएको छैन?” वेन पोले छक्क पर्दै सोध्यो।

एक हप्ता मात्र भयो।

अमेरिकामा कमै मात्र हुने, लेक्चररबाट सीधै फुल प्रोफेसरमा बढुवा, वेनको हकमा भएको थियो। के भएको थियो भनेर बुझ्न मैले त्यसपछि वेन पो, चिए लगायत केही मैले चिनेका अमेरिकामा रहेका प्रोफेसरहरुसँग कुराकानी गरेको थिएँ।

अप्रिल महिनामा वेनले एउटा रिसर्च पेपर इकोनोमेट्रिका जर्नलमा पठाएको थियो।

“यो अध्ययनले इन्फिनिट हराइजन प्राब्लममा अहिलेसम्म भएको अनिश्चिततालाई अन्त्य गर्छ। यसले यस्तो बेला के के आवश्यक कन्डिसन हुन्, के के पर्याप्त कन्डिसन हुन् भन्ने कुराहरुको समाधान दिन्छ र अहिलेसम्मका म्याक्रोइकोनोमिक्स र वातावरणीय अर्थशास्त्रका प्रमुख अध्ययनहरुलाई पुन: मूल्यांकन गरेर कुन कुन नतिजा सही छन्, कुन कुन नतिजालाई संशोधन गर्नुपर्छ भन्ने विस्तृत सुझाव प्रस्तुत गर्छ”— वेनको पेपरको पहिलो तीन लाइन यसरी सुरु भएको थियो।

वेनको अध्ययनका अनुसार एरोको नतिजा सही थियो भने क्यासको, रुबेलोको गलत। पढ्नेहरु सबैले त्यो अध्ययनमा भएको तीक्ष्ण तर्कशीलता, गणितको असाधारण प्रयोग र वर्षौंको मिहिनेत महसुस गर्न सक्थे। एउटा प्रोफेसरले जतिसुकै विद्वान भए पनि उक्त काम चार–पाँच वर्ष लगाएर मात्र गर्न सक्थ्यो।

उक्त पेपर हातमा परेपछि इकोनोमेट्रिकाका सम्पादक केही क्षण त स्तब्ध भए। “मैले यस्ता धेरै पेपरहरु पढेको छु, म एकरलोफको पेपर सबैभन्दा पहिला पढ्ने व्यक्तिमध्येको हुँ। तर यो पेपर बेग्लै थियो। धैर्यले यसलाई फरक लिगमा राखेको थियो। त्यसै छाप्ने कि केही रिभ्युअरलाई औपचारिकताको लागि रिभ्यु गर्न लगाउने भन्ने प्रश्न मात्र मसँग बाँकी थियो”– उनले पछि युनिभर्सिटी अफ जर्जियाका विद्यार्थीले चलाउने रेड एण्ड ब्ल्याक पत्रिकासँगको अन्तर्वार्तामा भनेका थिए।

“वेनले दश वटा पेपर ठिक्कको जर्नलमा छाप्न सक्थ्यो। तर कुनै हतार नगरी उसले पाँच वर्ष लगाएर यी सबै प्रकाशित पेपरहरुको गुणस्तर जाँचेको थियो। वेनको पेपरले लगभग ५० वर्षदेखिको अनिश्चयलाई अन्त्य गरिदियो। युनिभर्सिटी अफ जर्जियाले नदिएको भए जर्जिया टेकले उसलाई फुल प्रोफेसर दिन्थ्यो” चिएले मसँगको संवादमा भनेको थियो।

वेन चीन नफर्केको पच्चीस वर्ष भएको थियो। उसको अध्ययन प्रकाशित भएपछि उसले वेन पोलाई फोन गरेको थियो। त्यो बेला वेनको पदोन्नति भइसकेको थिएन। परिवारकाहरु सबै उसको धेरै कुरा गर्दैनथे। उसँग कसैले केही अपेक्षा पनि गर्दैनथे। वेनकी आमाले मर्ने बेला वेनका भाइबहिनी र आफन्तलाई “वेनलाई बाउआमा मर्दा पनि घर आउँदैनस् भनेर कहिल्यै नभन्नु, जहाँ जस्तो छ, खुशी भए हामीलाई पुग्छ” भनेर मरेकी थिइन्। वेन पागल नभए, विश्वविद्यालय छोडेर कतै नगए, रक्सीको कुलतमा फेरि नपरे त्यही नै ठूलो कुरा हो भनेर परिवारकाहरु बसेका थिए।

“भाइ, मलाई यत्ति एउटा पेपर लेख्न मन थियो। दश वर्षदेखि यसैमा लागेको थिएँ। अब म घर आउँछु। चिशौ नदेखेको पनि यत्तिका दिन भयो”, वेनले भाइलाई फोनमा भनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?