+
+
विचार :

व्यवस्थित समाजको पूर्वशर्त : व्यवस्थित व्यक्ति

चरित्र निर्माण निरन्तरको अभ्यास र स–साना कुराको अब्बल संयोजन हो । समाजलाई मूल्यच्युत हुनबाट जोगाउन, नैतिक जगमा उभ्याउन, विश्वसनीय र भरोसायोग्य बनाउन व्यक्तित्व निर्माण नै मुख्य उपाय हो ।

इन्दिरा पन्त इन्दिरा पन्त
२०८० कात्तिक ५ गते १३:४९

लाओत्से भन्छन्– ‘यदि दिशा बदल्नुभएन भने तपाईं त्यही गन्तव्यमा पुग्नुहुनेछ, जता तपाईं निर्दिष्ट हुनुहुन्छ ।’ अब एकैछिन यसलाई आफूमा अनुवाद गरेर हेरौं । लाओत्सेले ‘तपाईं’ भनी प्रयोग गरेको शब्दलाई ‘म’मा अनुवाद गरेर प्रश्न गरौं ।

मेरो जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ? म स्वयं । म स्वयं सबैभन्दा महत्वपूर्ण भएपछि मेरो प्राथमिकता अरूलाई व्यवस्थित बनाउने हुन्छ वा म स्वयंलाई ? निश्चय नै हरेकको प्राथमिकता आफूलाई व्यवस्थित बनाउने नै हो ।तर, हाम्रो सामाजिक भाष्यले यसलाई बेवास्ता गरेर ‘समाज बदल्ने’ देखावटी चेष्टा गर्छ र व्यक्तिलाई उही र उस्तै राखेर पुस्तौं र युगौं समय गुजार्छ ।

व्यक्ति स्वयंको व्यवस्थापन समाज व्यवस्थापनको प्राथमिक चरण हो भन्ने हामीले भुल्न पुगेका छौं । आफूलाई उस्तै राखेर समाज बदल्ने हाम्रो प्रयास त्यसैले विफल भएको छ । गान्धी भन्छन्, ‘त्यस्तो मान्छे बनेर देखाऊ, जस्ता मान्छेले भरिएको संसार तिमी देख्न चाहन्छौ !’

अब प्रश्न उठ्छ, स्व–व्यवस्थापन भनेको के हो ? अंग्रेजी भाषामा स्व भनेको सेल्फ वा बिइङ हो । जसको अर्थ हो व्यक्ति हुनुको अन्तर्य । जसले एक व्यक्तिलाई अर्काे भन्दा भिन्न आचरण, व्यवहार, धारणा र खास शैलीको बनाउँछ । अनि त्यो खास शैलीलाई स्थापित वा विस्तार गर्ने कला व्यवस्थापन भित्र पर्छ ।

स्व–व्यवस्थापनको प्रसंगमा यसको अर्थ हुन जान्छ– शरीर मात्रै होइन, व्यक्तिको समग्र विचारधारा, व्यवहार र चरित्रको व्यवस्थापन गर्नु । उदाहरणका लागि संसारमा व्यवस्थित रूपले स्थापित चरित्र छन्– गान्धी, मण्डेला, लेनिन, माओ आदि । ती सबै सही व्यवस्थापनले लामो समय बाँचेका चरित्र हुन् । उनीहरूप्रतिको सामाजिक आकर्षण त्यसैले जीवित छ ।

व्यक्तिगत र सामाजिक जीवनका लागि स्व–व्यवस्थापन महत्वपूर्ण हुन्छ । प्रस्तुत आलेखको विषयवस्तु पनि व्यक्तिको विचार व्यवहार र भावनाहरूलाई नियमन÷नियन्त्रणसँग सम्बन्धित छ । आफ्ना भावनाहरू पहिचान गर्न, बुझ्न र व्यवस्थापन गर्न सक्नेले मात्र अरूका भावनाहरू बुझ्न र सकारात्मक प्रभाव पार्न सक्दछन् ।

स्व–व्यवस्थापनले व्यक्तिगत एवं व्यावसायिक जिम्मेवारीलाई निपुण बनाउँछ । आफैंलाई व्यवस्थित गर्नु महत्वपूर्ण हुँदाहुँदै हामी आफूलाई छोडेर अरूलाई सुधार्न लागिरहेका हुन्छौं । आफूलाई जस्ताको तस्तै राखेर अरूलाई सुधार्न र समाज बदल्न कस्सिएका छौं । तसर्थ, समाज सुधारको हाम्रो प्रयासले अपेक्षित सार्थकता पाएको छैन ।

आवरणमा सबै व्यक्ति उस्तै देखिनु र अन्तर्यमा हरेक व्यक्तिमा भिन्न अनुभूति हुनुको कारण उसका मूल्य, मान्यता, विश्वास र अनुभवहरू फरक हुनु हो । तिनै विशेषताले हरेक व्यक्तिलाई अर्काे भन्दा भिन्न बनाएको हुन्छ ।

एकछिन समाजलाई छोडिदिऊँ र व्यक्तिको आचरणलाई सुधार गर्नेतिर सोचौं ।जसको परिणाम समाजमा स्वतः आउन थाल्छ । सामाजिक जीवन व्यवस्थित, सहज, तनावरहित, स्वीकृत, नैतिक र आचरणयुक्त हुन थाल्छ ।

मानिसको ‘स्व’ भित्र उसको शरीर, मन र विचार समेटिएको हुन्छ । हामी शरीर देखेर मान्छे चिन्दछौं । मन र विचारहरूलाई भने हामी अनुभूतिद्वारा मात्रै परीक्षण गर्न सक्छौं । त्यसपछि मात्रै हामी यो मान्छे यस्तो रहेछ भन्ने निष्कर्षमा पुग्न सक्छौं । त्यही अनुभूतिका आधारमा व्यक्तिमाथि सामाजिक छवि वा विश्वास निर्माण भएको हुन्छ ।

समाजमा प्रकटित व्यक्तित्वका चारवटा आयाम हुन्छन् । पहिलोः शारीरिक स्वास्थ्य, दोस्रोः उसको शान्त मानसिक अवस्थिति, तेस्रोमा पर्छः विषयगत स्पष्टता वा आत्मविश्वास र चौथोः आधारभूत आर्थिक सामथ्र्य ।

व्यक्तित्वको प्रभावकारिता र गुणले उसको सामाजिक गुरुत्व निर्माण गर्छ र त्यसैले सामाजिक वा राजनीतिक सफलता निर्धारण गरेको हुन्छ । हरेक व्यक्तिमा सामाजिक आकर्षणको मात्रा फरक हुनुको कारण पनि आन्तरिक गुण नै हो । एउटै राजनीतिक विचारमा आवद्ध मानिस कोही लोकप्रिय हुनु र अर्काे अलोकप्रिय हुनुमा यसैले काम गरेको हुन्छ ।

तनाव र आक्रोशरहित, आन्तरिक स्पष्टता, सहानुभूति, समानुभूति, आत्मसन्तुष्टि र शान्ति, स्वस्थ मानसिक अवस्थाका लक्षण हुन् । यस्ता गुणहरू विकास गर्न स्व–जागरुकता र स्व–नियमन जरूरी हुन्छ । अस्थिर, बेचैन र विचलित अवस्था यसको विपरीत लक्षण हो । यस्तोमा कसैले पनि आफ्नो काममा सुझबुझ र एकाग्रता कायम राख्न सक्दैन ।

अशान्ति, बेचैनी र विचलनको स्रोत उसको कर्म (काम) हो । सत्कर्मले शान्ति, आनन्द, सुखको ढोका खोल्छ भने दुष्कर्मले मनलाई विचलित बनाइदिन्छ । मन कार्यहरूको अभौतिक दर्पण हो । आफूले गरेको काम गलत छ भने त्यसको प्रभाव चित्तमा पर्छ । त्यस्तो बेला मानसिक अन्तद्र्वन्द्वले व्यक्तित्व विभाजित हुन्छ ।

जसरी दिनभरको कामले शरीर थाक्छ, त्यसैगरी मनभित्रको लडाइँले मन थाकेको हुन्छ । त्यसरी थाकेको मनमा भय उत्पन्न हुन्छ र भयमा गरिएका निर्णय असन्तुलित, उत्तेजित, बेचैन र विचलित हुन्छन् । तसर्थ स्वस्थ मानसिकताका लागि सत्कर्म महत्वपूर्ण स्रोत हो ।

सुख, खुसी, आनन्द, शान्ति सत्कर्मका परिणाम हुन् । व्यक्तिसँग आनन्द छ, समाजले व्यक्तिबाट आनन्द पाउँछ । शान्ति छ, शान्ति पाउँछ । ईर्ष्या , आवेग, उत्तेजना, भोगको लालसा छ भने व्यक्तिबाट समाजले त्यही पाउँछ ।

समाजको प्रवृत्ति व्यक्तिबाट उत्पन्न भएर विस्तार भएको हो । समाज वा राजनीतिको चरित्रको मूल स्रोत व्यक्तिको चरित्र नै हो । कर्मले व्यक्तिको मनोदशालाई सूक्ष्म रूपमा निर्देश गरिरहेको हुन्छ । कसैको हत्या गरेर आएको व्यक्ति र कसैको ज्यान बचाएर आएको व्यक्तिको मानसिक अवस्था भिन्न रहन्छ । मनको निर्माता कर्म नै हो ।

मानिस प्रकृतिको अंश हो । प्रकृतिको स्वचालित परिवर्तनले मानिसमा प्रभाव पारेको हुन्छ । प्रकृतिसँग जुधेर मानिसले प्रसन्नता प्राप्त गर्न सक्दैन । त्यसैले आराम, व्यायाम, भोजन, श्वास प्रश्वासको सचेतनापूर्ण अभ्यास, सकारात्मक सम्बन्ध र संवाद प्रकृतिसँग एकाकार हुने विधि हो ।

गौतम बुद्धले भनेका छन्– ‘मन र शरीर दुवैको स्वास्थ्यको रहस्य विगतका बारेमा शोक गर्नु, भविष्यका बारेमा चिन्ता गर्नु वा समस्याको पूर्वानुमान गर्नु होइन । वर्तमानमा इमानदारीपूर्वक बाँच्नु हो ।’स्थिर मन र सक्रिय शरीर सबल स्वास्थ्य हो । यसले व्यक्तिगत र सामाजिक दुवै जीवनलाई आकर्षक बनाउँछ ।

सबल मानसिकताको स्रोत सत्कर्म भने जस्तै आत्मविश्वासको स्रोत सत्य अँगाल्नु हो, आफैंमाथि विश्वास गर्नु हो । जब अरूमाथिको निर्भरता हट्छ, आत्मविश्वास सुरु हुन्छ ।आत्मविश्वासले अस्थिर हुनबाट जोगाउँछ । व्यक्ति अस्थिर हुनबाट जोगियो भने समाज अस्थिर हुन पाउँदैन ।

यसबारे हामी ताजा उदाहरण दिन सक्छौं । अध्ययन विनाका निष्कर्ष र धारणाले मानिसलाई अरूका विचारहरूको भरिया बनाउँछ । यस्तो किन भयो भने यो उसको निजी अनुभवबाट आएको निष्कर्ष होइन, अरूले भनेको सुनेर त्यसैमा बगेर दिएको प्रतिक्रिया हो ।

आफूसँग केही नभएपछि नै अरूका कुराले आकर्षित बनाउने हो । अध्ययन, दृष्टिकोण र निष्कर्षमा परनिर्भर भएपछि आफूले अरूका हानिकारक विचारहरू बोकेर बस्नुपर्छ । आँधी शक्तिशाली भएर भन्दा रूख कमजोर भएर ढल्छ भन्ने प्रसिद्ध भनाइ यसमा युक्तिसंगत हुन्छ ।

जसरी पहाडलाई आँधीको मतलब हुँदैन, त्यसैगरी आफ्नो अध्ययन, मान्यता र निष्कर्षमा स्पष्ट मानिसलाई अरूले दिने प्रतिक्रियाको मतलब हुँदैन । क्षणिक रूपमा एक्लै परे पनि यस्तो स्पष्ट अध्ययन, दृष्टिकोण र आत्मविश्वासले व्यक्तिलाई दीर्घकालीन रूपमा बलियो बनाउँछ ।

मानिसको दृष्टिकोण उसले संसारलाई हेर्ने तरिका हो, एक प्रकारको चस्मा हो, जसमार्फत संसारको रंग देखिन्छ । चाल्र्स स्विन्डोल भन्छन्, ‘जति जति मेरो उमेर बढ्दै गयो, त्यति त्यति जीवनमा दृष्टिकोणको महत्व बढ्दै गएको पाउँछु । दृष्टिकोण मेरो लागि तथ्यहरू भन्दा महत्वपूर्ण छ । विगत, शिक्षा, धन, परिस्थिति, सफलता–असफलता वा अरूले के भन्छन् वा गर्छन् भन्दा महत्वपूर्ण छ । यो रूप, प्रतिभा वा सीप भन्दा महत्वपूर्ण छ । एउटा घर वा संस्था बिगार्ने वा सपार्ने भन्ने कुरा यही दृष्टिकोणले निर्धारण गर्दछ ।’

अर्काे कुरा, आफ्नो दृष्टि कतातिर केन्द्रित भएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यदि सबैको दृष्टि एउटै उद्देश्यमा केन्द्रित छ भने त्यो सामूहिक उद्देश्यमा पुग्छ । नत्र हरेक मान्छे आफूले पुग्न चाहेको ठाउँमा पुगेपछि रोकिन्छन् ।

सामूहिक दृष्टिकोणमा आएका कमीले पचासौं वर्ष एउटै पार्टी, संंस्था वा अभियानमा लागेका सहकर्मीहरू पनि सहयात्रा तोड्दै विभाजित भएको देखिन्छ । जब दृष्टिकोण स्पष्ट हुँदैन द्विविधा उत्पन्न हुन्छ । जब द्विविधा हुन्छ अनिर्णय, विरोधाभास, विचलन, तर्कहीनता, पलायन, निष्क्रियता, सन्देह जस्ता नकारात्मक सोच हावी हुन जान्छन् ।

दृष्टिको अर्काे आयाम हुन्छ– प्रकाश र दूरीको । आफ्नो दृष्टिमा प्रकाश बढाउने भनेको अध्ययन बढाउने हो, अनुभव बढाउने हो, बोध बढाउने हो ।स्टीफन हकिंग भन्ने गर्थे, ‘ज्ञानको सबैभन्दा ठूलो शत्रु अज्ञानता होइन, ज्ञानको भ्रम हो ।’

व्यक्तिको स्व–व्यवस्थापनको अर्काे महत्वपूर्ण पक्ष समय व्यवस्थापन हो । सबैका लागि समय दिनमा २४ घण्टा नै हो । समय व्यवस्थापन अन्तर्गत समयनिष्ठता र प्राथमिकता पर्छन् । कहिले हामीसँग काम गर्ने समय हुँदैन, कहिले समय हुन्छ, तर काम हँुदैन । कार्य र समय व्यवस्थापनको सीपको कमीले यस्तो हुन्छ ।

हामी समयमा प्राथमिकता निर्धारण गर्दैनौं र समयको योजना बनाउँदैनौं । अति महत्वपूर्ण काम सबैभन्दा पहिले गर्नु नै समयको व्यवस्थापन हो । समय र धन–सम्पत्तिमा फरक के छ भने सम्पत्ति खर्च भए फेरि कमाउन र जोगाउन पनि सकिन्छ । तर, समय न जोगाउन सकिन्छ, न खर्च गरेपछि त्यसको कतैबाट पूर्ति नै हुन्छ ।

व्यक्तिको आन्तरिक व्यवस्थापनमा अर्काे महत्वपूर्ण पक्ष हो, सम्बन्ध । सम्बन्ध कर्तव्य र अधिकारसहितको संहिता हो । यो आपसी आवश्यकता र प्रेमले निर्धारण गर्छ ।

हामी पारिवारिक, सामाजिक वा सांगठनिक रूपमा एकअर्कासँग अन्तरनिर्भर छौं । अन्तरनिर्भरताले सहकार्य, समन्वय र संवाद खोज्दछ । परिवार, साथीसंगी र समाजसँगको सघन अन्तरक्रियाले पनि व्यक्तिलाई भावनात्मक रूपमा आनन्दित र बलियो बनाउँछ ।

यस सम्बन्धमा हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्टमा करिब७५ वर्ष लगाएर गरिएको अध्ययनको निष्कर्षले भन्छ– सकारात्मक सम्बन्धले मानिसलाई स्वस्थ र खुशी बनाउँछ । जो व्यक्तिहरू आफ्नो पारिवार, साथीसंगी र समुदायसँग बढी ‘कनेक्टेड’ थिए, उनीहरू तुलनात्मक हिसाबले खुशी र स्वस्थ थिए ।

सम्बन्धको अर्काे महत्वपूर्ण कडी हो संवाद वा सञ्चार । संवाद र सञ्चारमा सत्यता हुनुपर्छ । यसले नैतिक आचरण, व्यवहार र जीवनशैलीप्रति विश्वास पैदा गर्छ । राम्रो सम्बन्धका लागि बोल्ने कला वा राम्रो सञ्चारसीप हुन आवश्यक छ ।

वित्तीय अनुशासन व्यक्तिगत व्यवस्थापनको महत्वपूर्ण शर्त हो ।वित्तीय रूपमा अनुशासन र पारदर्शिता नभएसम्म अन्य क्षेत्रमा पनि अनुशासित र पारदर्शी बन्न सम्भव हुँदैन । व्यक्तिलाई जीवन चलाउन खाना, आवास, पहिरन, आधारभूत स्वास्थ्य, शिक्षाको लागि पैसा आवश्यक पर्छ ।

आफ्नै पौरखमा वैधानिक स्रोतबाट त्यसलाई पूरा गर्ने र अतिरिक्त धन संकलनको व्यसनमा नपर्ने व्यक्ति तनावरहित हुन्छ । वित्तीय रूपमा स्वतन्त्र रहन सके मात्र व्यक्तिको आत्मनिर्भरता कायम रहन्छ । अन्यथा उसको जीवन अनावश्यक शर्तहरूको बन्धनमा बाँधिन पुग्छ । त्यस्तो बन्धनले व्यक्तिलाई चारित्रिक स्खलनसम्म पु¥याउन सक्छ ।

आर्थिक अव्यवस्थापन भएको व्यक्तिले संगठनलाई व्यवस्थित गर्न सक्दैन । तसर्थ, सामाजिक जिम्मेवारीमा रहेका व्यक्तिहरूको आर्थिक जीवन व्यवस्थित र पारदर्शी हुनुपर्दछ । स्वआर्जन अनुरुपको जीवनशैली आर्थिक अनुशासनको मेरुदण्ड हो । यसले नैतिक धरातल बलियो बनाउँछ ।

मैले जे काम गरिरहेको छु, के यो सही छ ? के यस्तो आम्दानीले मलाई सन्तोष दिन्छ ? राम्रो निद्रा दिन्छ ? के यो काम मेरो लक्ष्यसँग मिल्दो छ ? यी प्रश्नको उत्तर जसले आफंैभित्र खोज्छ उसले आर्थिक व्यवस्थापन गर्न सक्छ ।

जीवन स्वयं सिर्जनशील हुन्छ । मानिसको जन्म नै एउटा सिर्जना हो, स्थूलता होइन । जीवनमा रचनात्मकता व्यक्तिको निजी साधनाबाट प्राप्त हुने कुरा हो । आफ्ना कामबाट आनन्दित हुने र त्यसबाट सन्तुष्टि प्राप्त गर्न सक्ने अवस्था भएमा मात्र यस्तो साधना सम्भव छ ।

कुनै पनि कुराको सिर्जना र वा रचना बाहिरबाट हुन सक्दैन । समाज विज्ञान र प्रकृति दुवैमा यो नियम लागू हुन्छ । पदार्थ, प्रकृति वा समाजमा आउने परिवर्तन त्यसैमा निहित आन्तरिक गुणहरूले निर्धारण गर्र्दछ ।

एउटा अनाजको दानाबाट बिरुवा सिर्जना गर्नु छ भने त्यसलाई माटोभित्र नै राख्नुपर्छ । माटोभित्रको एकान्तमा राख्ने प्रक्रिया त्यसभित्र हुने एकप्रकारको साधना हो । त्यस साधनाबाट नै बिरुवा अंकुराउँछ र बिरुवाको सिर्जना हुन्छ । वनस्पतिमा जस्तै जीव–जगतमा पनि गर्भभित्रको एकान्तमा नै नवजात शिशुको रचना हुन्छ । रचनात्मकता र सिर्जनात्मकतालाई सामाजिक भाषामा चिन्तन भनिन्छ ।

व्यक्तिको जीवनशैली उसको जीवनको दैनिक लय हो । व्यक्तिको व्यवहारले बानी र बानीले शैलीको जन्म दिन्छ । अक्सर मानिसहरू अरूप्रति इमानदार हुने बहानामा आफैंप्रति इमानदार हुन बिर्सन्छन् । जब हामी आफूलाई आफैं बन्ने अनुमति दिन्छौं, अरूको विचार र अपेक्षाबाट मुक्त रहन्छौं । तब जीवनमा आफ्नै मार्ग रोज्न सक्छौं ।

आफैं हुनुको सट्टा अरूसँग स्वीकृत हुने अभ्यासले स्वयंलाई वास्तविक क्षमतामा पुग्नबाट रोक्छ । साँचो व्यवहार गर्नुको सट्टा मानिसहरू आफूबाट के सुन्न चाहन्छन्, हामी त्यही बोल्न थाल्छौं । त्यो नै जीवनशैली बन्न पुग्छ ।

इमानदार जीवनशैली हुनुको सामान्य परिभाषा आफ्नै मूल्य र लक्ष्य अनुसार जीवन बिताउनु हो । आफ्नो व्यक्तित्व, मूल्य र भावनाप्रति सच्चा हुनु र आफैंप्रति इमानदार रहनु हो । आफूप्रति इमानदार रहे, सम्पूर्ण इमानदारिता त्यहींबाट सुरु हुन्छ ।

विचारधारा र जीवनशैलीमा तालमेल मिलेन भने वा विरोधाभास देखियो भने त्यो ढोंग वा पाखण्ड बन्छ । व्यक्तिको सामाजिक आयाम उसको विचारधारा हो । विचारधारा एउटा र जीवनशैली अर्काे हुने भयो भने त्यसलाई समाजले पछ्याउन सक्दैन ।

सामाजिक खपतका लागि सामूहिकताको वकालत गर्ने तर, आफ्ना सम्पूर्ण चेष्टालाई निजी सुख आर्जनमा केन्द्रित गर्ने जीवनशैली भयो भने समाजले त्यसप्रति विश्वास गर्न सक्दैन ।

चरित्र निर्माण आकस्मिकता होइन बरु यो निरन्तरको अभ्यास र स—साना कुराहरूको अब्बल संयोजन हो । समाजलाई मूल्यच्युत हुनबाट जोगाउन र नैतिक जगमा उभ्याउन, स्वीकार्य, विश्वसनीय र भरोसायोग्य समाज बनाउन व्यक्तित्व निर्माण नै मुख्य उपाय हो । के हामी सबै आफूलाई यसरी नै स्वनियमन र व्यवस्थापन गर्न तयार छौं ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?