६ कात्तिक, काठमाडौं। चीनको हाङझावमा जारी चौथो एसियाली पारा खेलकुदको पावर लिफ्टिङमा नेपालका पवन घर्तीमगरले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
एक्सएससी जिम्न्याजिममा भएको पुरुष ४९ केजीमुनिको समूह ‘बी’ को प्रतिस्पर्धामा २८ वर्षीय पवनले ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेको प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् ।
यसअघि ७५ केजीको कीर्तिमान पवनकै नाममा थियो । उनले उक्त कीर्तिमान दुबइमा यसै वर्ष भएको विश्व पारा पावर लिफ्टिङ च्याम्पियनसिपमा बनाएका थिए ।
ब्याडमिन्टन
ब्याडमिन्टनमा नेपाली खेलाडी पराजित भएका छन् । नेपालबाट सोमबार प्रकाश अधिकारी र हेमबहादुर गुरुङले सिंगल्समा प्रतिस्पर्धा गर्ने तालिका थियो ।
पुरुष सिंगल्स एसएल ४ को समूह ‘डी’ मा इन्डोनेसियाका रम्दानी हिक्मतले प्रकाशलाई २१–९ र २१–५ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्स एसयु ५ को समूह ‘जी’ मा अर्का खेलाडी हेम रिटायर्ड भएपछि उनका प्रतिद्वन्द्वी चाइनिज ताइपेइका पु गुइ यु विजेता बने । दुईबीचको खेल सुरु नै हुन सकेन ।
टेबलटेनिस
टेबलटेनिसमा नेपालका डिगमसिंह चेम्जोङ र विवेक राईले सोमबार मिश्रित प्रदर्शन गरेका छन् । पुरुष सिंगल्समा दुवैले दुई खेल खेलेका थिए । दुवैले एकमा जित र अर्कोमा हारको सामना गरे ।
पुरुष सिंगल्स क्लास ४ को समूह ‘एफ’ मा डिगमले किर्गिस्तानका सरीबइभ साइरीबेकलाई ११–४, ११–४ र ११–३ ले पराजित गरे । अर्को सिंगल्समा जापानका साइतो गेन्कीले डिगमलाई ११–५, ११–४ र ११–५ ले हराए ।
पुरुष सिंगल्स क्लास ७ को समूह ‘बी’ मा विवेकले टिमोर लिस्टेका वेर्नाडो कार्भेल्हो डिलाई ११–३, ११–२ र ११–६ ले पाखा लगाए ।
अर्को प्रतिस्पर्धामा चीनका केली लिउले विवेकलाई ११–४, ८–११, ११–५ र ११–० ले पन्छाए ।
पुरुष सिंगल्स क्लास ३ को समूह ‘सी’ मा थाइल्यान्डका लोवोङ अनुराकले नेपालका केशव थापामाथि ११–४, १२–१० र १६–१४ को कठिन जित दर्ता गरे ।
पलेशाले भोलि प्रतिस्पर्धा गर्दै
पदकको आशा गरिएकी पलेशा गोबर्धनले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा मंगलबार प्रतिस्पर्धा गर्दै छिन् ।
केही महिनायता पलेशा अध्ययनका लागि चीनकै सांघाइमा छिन् । पलेशा सांघाईबाटै हाङझाव गएकी हुन् ।
टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी पलेशाको स्पार्धमा ५ खेलाडी छन् ।
पलेशाले पहिलो खेलमा चीनकी लिटिङ याङलाई प्रतिद्वन्द्वी पाएकी छिन् । दुईबीचको खेल क्वाटरफाइनल हुनेछ ।
बाँकी ३ प्रतिस्पर्धी भने वाइ पाएर सोझै क्वाटरफाइनल पुगिसकेका छन् । क्वाटरफाइनलमा जित हात पारे पलेशाको सेमिफाइनल प्रतिद्वन्द्वी कजाकिस्तानकी कामिल्या दास्मोलोभा हुने अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले हाङझावबाट जानकारी गराए ।
सेमिफाइनल चरण पार गरे पलेशाले चीनकी युजी ली र इरानकी रोजा इब्राहिमीबीचको विजेतासँग फाइनल खेल्ने छिन् ।
मंगलबारै टेबलटेनिसमा नेपालीका २ खेलाडीले चुनौती पेश गर्नेछन् । पुरुष सिंगल्स विवेक राई तथा महिला सिंगल्समा लाली तामाङले खेल्नेछन् ।
प्रतिक्रिया 4