
७ कात्तिक, काठमाडौं । उच्च उत्पादन र बजारमा कमजोर खपतका कारण दुग्ध पदार्थको बिक्री चक्र बिथोलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय बजारको खोजी थालेको छ ।
भारत, बंगलादेश, श्रीलंका र चीनको स्वशाशित क्षेत्र तिब्बतका निजी क्षेत्रसँग छलफल थालिएको दुग्ध विकास संस्थान (डीडीसी) का अधिकारीहरु बताउँछन् ।
भारतको पटना डेरी, बंगलादेश, श्रीलंका र तिब्बतका दुग्ध व्यवसायीहरुसँग दुग्ध पदार्थ बिक्रीको प्रस्ताव गरिएको डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बताए । ‘बजार, किसान र संस्थानको व्यापार चक्र बिग्रिन नदिन दुग्धजन्य वस्तुको बाह्य बजार खोजी भइरहेको छ,’ झाले भने, ‘हामीले केही मुलुकका निजी क्षेत्रसँग सिधा सम्पर्क गरेर प्रस्ताव पठाएका छौं । कूटनीतिक च्यानलबाट पनि बजारको सुनिश्चितताका लागि मन्त्रालय र सरकारको पनि ध्यानाकर्षण गराएका छौं ।’
संस्थानका अनुसार अहिले नेपालबाट एसएमजी, बटर, घिउ र चिजजन्य वस्तु निर्यात गर्न सकिन्छ । अहिले नै डीडीसीले उत्पादन गरेको घिउ जापान, अमेरिका र यूरोपका बजारमा निर्यात पनि भइरहेको छ । जापानमा मात्र मासिक ५ हजार किलो घिउ निर्यात हुने गरेको डीडीसीका अधिकारीहरु बताउँछन् ।
तर नेपाली बजारमा डीडीसीका दुग्ध पदार्थको खपत १५ प्रतिशतसम्म माग घटेको छ । काठमाडौं उपत्यकामा ९ प्रतिशत र बाहिर १४ प्रतिशतले घटेको छ ।
दैनिक ४५ देखि ५० हजार लिटर दूध कन्भर्जन गरेर पाउडर र मख्खन बनाउनु परेको छ, जसले ६० करोडभन्दा बढी पुँजी होल्ड भएको संस्थानले जनाएको छ ।
प्रतिक्रिया 4