+
+

डा. गणेश राई : जो कान्ति अस्पताललाई सरस्वतीको मन्दिर ठान्छन्

‘जबसम्म हामीले आफ्नो कर्मथलोलाई मन्दिरका रूपमा लिंदैनौं तबसम्म हाम्रो भलो हुँदैन । जीवनको पहिलो स्वार्थ भनेकै आफ्नो कर्मथलो हुनुपर्छ ।’

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० कात्तिक ९ गते २०:२०

९ कात्तिक, काठमाडौं । बालरोग विशेषज्ञ डाक्टर गणेश राई । उमेर ६ दशक कट्यो । तर आवाज जोशिलो र शरीर स्वस्थ छ । ३० वर्ष सरकारी अस्पतालमा बालबालिकाको सेवा गरेका डा.राई हाल ‘रिटायर्ड’ जीवनमा छन् । तर उनी थाकेका छैनन्, सक्रियतामा कमी छैन ।

‘डाक्टरी जीवनमा कसरी ?’

उनैले सुनाए– ३० वर्षे डाक्टरी जीवनमा यो प्रश्न दोस्रोपल्ट थियो ।

हो पनि, राई, लिम्बु भन्नासाथ झट्ट सम्झिन्छन्– ‘लाहुरे ।’

गणेश राई कुनै लाहुरे परिवारका हैनन् । उनका बुवा पनि लाहुरे थिएनन् ।  भोजपुर जिल्लामा उनी सामान्य किसान परिवारमा जन्मिए ।

‘राईको छोरो पो त’ ठट्यौली शैलीमा कुराको गाँठो फुकाए उनले । धेरैले प्रश्न गर्छन्– राईको छोरो ‘लाहुरे’ नभएर किन डाक्टर बनेको ? ‘राई लिम्बुहरू डाक्टर नहुने भनेर कतै लेखिएको छैन नि ! लाहुरे मात्रै हुनुपर्ने हो र ?’ प्रतिप्रश्न गर्छन् डा.राई ।

भोजपुरको एक किसान परिवारमा जन्मिएका राई अब्बल डाक्टर बनेर नाम कमाएका छन् । नेपाली चिकित्सा क्षेत्रमा बालरोग विशेषज्ञका रूपमा उनको नाम अगाडि आउँछ ।

यतिसम्म कि बिरामी परेका बालबालिकाका अभिभावक भन्ने गर्छन्– डा.राईले छुनासाथ बच्चा निको हुन्छ । ‘डाक्टर भगवान होइन । उपचार कुनै जादू पनि होइन’ बालबालिकाको उपचार गर्न पाएकोमा गर्व गर्छन् उनी ।

अनि डाक्टर बने गणेश

भोजपुरमा उनले पाँच कक्षासम्म पढे । त्यसपछि झापाको भद्रपुरमा ६ देखि ८ कक्षासम्म अध्ययन गरे । झापाबाट फेरि उनी मोरङको विराटनगर गए । र, कक्षा ९ र १० विराटनगरमा पढे । पढाइ राम्रो थियो । सानैदेखि अध्ययनमा रुचि राख्ने राईले २०३२ सालमा विराटनगरबाट एसएलसी उत्तीर्ण गरे ।

तीनताक एसएलसी पास गर्नु ठूलो कुरा थियो । उनले पनि फलामे ढोेका सहजै पार गरे ।

भद्रपुरमा सानिमाको घर थियो । उनले त्यहीं बसेर पढ्ने अवसर पाए । सानिमा नर्स थिइन् । सानिमाको सामीप्यताले डाक्टर बन्ने सपना बुनेका थिए राईले । ‘सानिमासँग नबसेको भए डाक्टर बन्ने थिइनँ । अनि राईको छोरो डाक्टर बन्यो’, सानिमा प्रति कृतज्ञ हुन्छन् उनी ।

चिकित्सा शास्त्र पढ्दै गर्दा उनको आनीबानी बालबालिकासँग रमाउने थियो । बालबालिकासँग छिटो घुलमिल हुने स्वभाव थियो । त्यसैले साथीहरूले बालरोग विशेषज्ञ बन्न सुझाए उनलाई । अन्ततः राईले बालरोगमै विज्ञता हासिल गरे ।

सरकारी सेवाको यात्रा

२०४६ सालमा उनी सरकारी सेवामा प्रवेश गरे । सुरुमा उनलाई परोपकार प्रसूति गृह खटाइयो । त्यहाँ उनले करिब दुई वर्ष मेडिकल अफिसर भएर नवजात शिशु विभाग सम्हाले । र, २०४८ सालमा उनी खोटाङ अस्पताल पुगे ।

कान्ति बाल अस्पतालमा अहिले पनि एउटा मुख्य समस्या बजेट अभाव हो । त्यसैमाथि सरकारले उनकै पालामा बजेट काटिदियो । अब कसरी अस्पताल सञ्चालन गर्ने ? उनलाई चुनौती थपियो ।

त्यो समयको दुर्गम खोटाङ । न बाटो थियो, न बिजुली । दुर्गम जिल्ला भनेर कोही पनि डाक्टर जान मान्दैनथे । भर्खरै डाक्टर भएका राईले त्यो बेला जिल्ला अस्पताल सम्हाले । दुर्गममा बसेर बिरामीको सेवा गर्न पाएकोका उनी आफूलाई भाग्यमानी ठान्छन् ।

त्यसपछि २०५४ सालमा उनी कोशी अञ्चल अस्पताल सरुवा भए । कोशीमा पनि एक वर्ष बालरोग विभागकै नेतृत्व गरे । कहिले पहाड त कहिले तराईको अस्प्तालमा रहेर उनले काम गरे । कोशीबाट उनी फेरि काठमाडौं कान्ति बाल अस्पतालमा आइपुगे ।

तर उनी ६ महिनामै जनकपुर अस्पताल सरुवा भए । उनले तत्कालीन स्वास्थ्यमन्त्री डा.रामवरण यादव (प्रथम राष्ट्रपति) लाई कान्तिमै राख्न अनुनय गरे । तर, यादवले मानेनन् । ‘मन्त्रीज्यूलाई कान्ति नै ठिक छ यहीं राखिदिनुस् भनेको हुँ, सुन्नुभएन’ डा. राई भन्छन्, ‘सरकारी जागिरे भएपछि खटाएको ठाउँमा नगई सुखै छैन ।’

डा. राई जनकपुर अञ्चल अस्पतालमा दुई वर्षभन्दा बढी काम गरेर फेरि कान्तिमै फर्किए ।

बालकलाई पुनर्जन्म दिएको त्यो क्षण

डा.राईले कति बालबालिकको उपचार गरे त्यसको तथ्यांक उनीसँग पनि छैन । तर एउटा बिरामीलाई निको बनाएर घर फर्काउँदाको खुसीको अनुभूति अहिले पनि गर्छन् डा.राई ।

खोटाङ अस्पतालमा काम गर्दाको घटना हो । भर्खरै जन्मिएको बच्चा लिएर एक जना अभिभावक अस्पताल आएका थिए, ती बालकको मलद्वार थिएन । त्यस्तो बच्चाको उपचार कान्ति बाल अस्पतालमा मात्र सम्भव थियो । तर, राईले हिम्मत हारेनन् ।

अभिभावकले मरे मरोस् भनेर बच्चालाई छाडेका थिए । तर उनले निको बनाएर घर फर्काए । ‘नदुख्ने सुई लगाएर छाला काटें । बच्चाको मलद्वार देखियो । मैले सक्दिनँ भनेर त्यत्ति नगरेको भए त्यो बालकको मृत्यु हुन्थ्यो होला’, त्यो घटना उनको स्मृतिमा ताजै छ ।

जब अस्पतालको निर्देशक बने

२०६० सालमा उनी कन्सल्टेन्ट भए । त्यसको दुई वर्षपछि १०औं तहमा बढुवा भए । त्यसपछि फेरि बढुवा हुँदै कान्ति बाल अस्पतालको निर्देशकसम्म भए । बालबालिकाको नाडी छाम्दाछाम्दै उनी तीन वर्ष प्रशासक पनि बने । भन्छन्, ‘बिरामीको नाडी छाम्ने डाक्टरले कर्मचारीको नाडी छाम्ने मौका पनि पायो ।’

निर्देशकको कुर्सीमा बस्दा उनले सुधारका धेरै काम गरे । तर, पत्रकारसँग भन्थे– ‘कान्तिमा यस्तो समस्या छ, उस्तो समस्या छ ।’ ‘राम्रो कुरा मैले कहिल्यै बाहिर ल्याइनँ । सधैं नराम्रो कुरा मात्रै भनें, त्यो केही सुधार हुन्छ कि भनेर थियो’, उनी थप्छन् ।

कान्ति बाल अस्पतालमा अहिले पनि एउटा मुख्य समस्या बजेट अभाव हो । त्यसमाथि सरकारले उनकै पालामा बजेट काटिदियो । २५ करोडभन्दा बढी वार्षिक बजेट पाउँदै आएको कान्तिले त्यो वर्ष १९ करोडमा चित्त बुझाउनुपर्यो ।

अब कसरी अस्पताल सञ्चालन गर्ने ? उनलाई चुनौती थपियो । ‘तर पनि मैले अस्पताल चलाउने हिम्मत गरें । खर्च कटौती गरें । कहाँ–कहाँ पैसो चुहिएको छ त्यो टाल्ने कोसिस गरें । स–साना कुराबाट सुधारको सुरुवात गर्नुपर्दो रहेछ’, उनी सुनाउँछन् ।

रिटायर्डपछि पनि डाक्टर त डाक्टरै हुन् । ६० वर्ष पुगेर सरकारले पो विश्राम दियो । उनको सीप, ज्ञान र क्षमताले विश्राम लिएको छैन ।

इन्धन खर्च जोगाउन उनी अस्पताल आउँदा–जाँदा सार्वजनिक बस चढ्थे । धेरैले उनलाई नौटंकी गरेको भनेर हाँस्थे पनि । तर, डा.राई डगमगाएनन् । ‘त्यो मेरो प्रयास थियो, त्यसैगरी धेरै मितव्ययी बानीको विकास गर्न खोजेको थिएँ’, उनी भन्छन् ।

कान्ति बाल अस्पताल आर्थिक रूपले हेपिएको अस्पताल हो । बालबालिकाको उपचार गर्ने देशको एक मात्रै ठूलो बाल अस्पताल । विपन्न वर्गका धेरै बिरामी यहाँ आउँछन् । तर, धेरैलाई थाहा हुँदैन अस्पतालमा सहुलियत पाइन्छ भनेर । धनी र हुनेखानेले गरिबको सहुलियत भाग पनि खोस्ने गरेको उनले चाल पाए । यो मामलामा डा.राई निकै कडा बने । निःशुल्कको सिफारिस माग्न आउने धेरै हुनेखानेलाई उनले फर्काइदिए । ‘धेरै नेताहरू मसँग रिसाए, धेरैले गाली पनि गरे’, उनी भन्छन् ।

कान्तिसरस्वतीको मन्दिर

कान्तिमा उनले करिब १७ वर्ष बिताए । धेरै कुरा भोगे, धेरै कुरा सिके । ‘कहिल्यै आफ्नो घरपरिवारको बारेमा सोच्ने मौका पाइनँ । सुत्दा पनि अस्पतालकै चिन्ता हुन्थ्यो । उठ्दा पनि त्यही चिन्तामा ब्युँझिन्थें’, कान्तिप्रति उनको लगाव थियो ।

अस्पताललाई धेरैले सिक्ने थलो मात्रै बनाए । सरकारी जागिरे भए पनि कान्तिमा सिक्ने र निजी क्लिनिकमा काम गरेर पैसा कमाउने धेरै डाक्टर–कर्मचारी उनले देखे । तर, डा. राईलाई यो लोभले कहिल्यै छोएन ।

‘सरकारी अस्पताललाई सिक्ने थलो मात्रै बनाउने । बाहिर काम गरेर पैसो कमाउने स्वार्थले सरकारी अस्पतालको विकास हुनसकेको छैन । सबै सरकारी अस्पतालको यस्तै हविगत छ’, उनी भन्छन् ।

डा. राई कान्ति अस्पतलालाई सरस्वतीको मन्दिर ठान्छन् । ‘जबसम्म हामीले आफ्नो कर्मथलोलाई मन्दिरका रूपमा लिंदैनौं तबसम्म हाम्रो पनि भलो हुँदैन’ राई भन्छन्, ‘जीवनको पहिलो स्वार्थ भनेकै आफ्नो कर्मथलो हुनुपर्छ ।’

यसरी उनले ३० वर्ष अनवरत सरकारी सेवामा रहेर काम गरे । दुई वर्ष मात्र भयो उनी रिटायर्ड भएको । रिटायर्ड हुनु अघिल्लो रात उनी घोत्लिए, ‘के–के गरें त मैले कान्तिमा ? ‘सारा कुरा सम्झिंदा धेरै राम्रा काम गरेको रहेछु’ आफ्नो कामको मूल्यांकन आफैं गरेर उनी सरकारी सेवाबाट बाहिरिए ।

रिटायर्डपछि पनि डाक्टर त डाक्टरै हुन् । ६० वर्ष पुगेर सरकारले पो विश्राम दियो । उनको सीप, ज्ञान र क्षमताले विश्राम लिएको छैन । ‘सरकारी जागिर त सकियो, आफ्नो ज्ञान, सीपलाई मार्न त दिनुभएन । परिवार पनि पाल्नैपर्यो । यत्रो अनुभव छ । अझै बिरामीको सेवा गर्नु छ’ कुराको बिट मार्दै डा.राईले भने ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?