+
+

राष्ट्रसंघका महासचिव गुटेरेस मंगलबार लुम्बिनी पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ११ गते १८:५९

११ कात्तिक, बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आउँदो मंगलबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएका छन् ।

आइतबार राति काठमाडौं ओर्लिएपछि गुटेरेस कात्तिक १४ गते मंगलबार लुम्बिनी आउने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषले जनाएको छ । गुटेरेस लुम्बिनी आउने राष्ट्रसंघको छैठौं महासचिव हुनेछन् ।

महासचिव गुटेरेसको स्वागतका लागि कोषले आवश्यक तयारी समेत गरेको लुम्बिनी विकास कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । उनका अनुसार मंगलबार बिहान ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस सहभागी औपचारिक कार्यक्रम हुनेछ । त्यहां सञ्चारकर्मीसंग गुटेरेसले आफ्ना भनाइ राख्ने राईले जानकारी दिए ।

महासचिव गुटेरेससंग लुम्बिनीको विकासका लागि सहयोगका लागि अपिल गरिने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए । लुम्बिनीको गुरुयोजना नै संयुक्त राष्ट्रसंघको पहलमा तयार भएको हो ।

जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको आग्रहमा लुम्बिनी गुरुयोजना तयार गरेका थिए । लुम्बिनी गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय स्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसंघकै भूमिका रहेको छ । सन् १९६७ को अप्रिलमा राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गरेका थिए ।

त्यसक्रममा बुद्ध जन्मस्थल लुम्बिनीको विकास नभएको र अवस्था दयनीय देखेपछि नेपालका तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनीको विकासका लागि आफू सहयोग गर्न तयार रहेको बताएका थिए । राष्ट्रसंघको महासचिवका रुपमा ड्याग हयामरकोल्ड, ऊ थान्त, ज्याभियर पेरिज डि कुइलर, कर्ट वाइल्डहाईम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका छन् ।

राष्ट्रसंघका महासचिवले लुम्बिनीको भ्रमण गरेपछि लुम्बिनीको योजनाबद्ध विकासको सुरुवात भएको हो । त्यसै कारणले अहिलेसम्म पनि संयुक्त राष्ट्रसंघका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष महत्वका साथ हेर्दै आएका छन् ।

विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले लुम्बिनी अहिलेको अवस्थामा रहन संयुक्त राष्ट्रसंघकै योगदान रहेको बताए ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना ४५ वर्ष बितिसक्दा समेत अधुरो छ । अहिले सम्म ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यतिबेला केही योजनाका काम अगाडि बढेका छन् ।

विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको थियो ।

राष्ट्रसंघको टोलीले १० डिसेम्बर १९६७ देखि ९ जनवरी १९६८ सम्म लुम्बिनी विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदिबारे विशेष परामर्श दिएको थियो । महासचिव गुटेरस लुम्बिनीपछि पोखरा र अन्नपूर्ण आधार शिविरमा पनि जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?