+
+

केपी ओलीको जीवनमा दुर्गा अधिकारी र दुर्गा प्रसाईं

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० कात्तिक १२ गते २०:५९

दुर्गा अधिकारी र दुर्गा प्रसाईं– थर नमिले पनि उनीहरुको नाम मिल्छ । कुनै बेला पार्टी पनि मिल्थ्यो । घर र दलको वतन खोज्दै जाँदा दुवैलाई जोड्ने एउटै कडी भेटिन्छन्– केपी ओली ।

दुर्गा अधिकारी २०२८ सालको झापा विद्रोहमा लाग्दा उनका जिल्ला पार्टी सचिव बनेका ओली अहिले नेकपा एमालेका केन्द्रीय अध्यक्ष छन् । दुईपल्ट प्रधानमन्त्री भइसके । दुर्गा अधिकारीले पार्टी छाडेको धेरै वर्षपछि ओली अध्यक्ष रहेको पार्टीमा केन्द्रीय सदस्य बनेर केही समय साथै रहे दुर्गा प्रसाईं ।

दुर्गा अधिकारी आजकल झापा चारआलीस्थित पाथीभरा मन्दिरका पुजारी छन्, दुर्गा प्रसाईं मेडिकल व्यवसायी । ओलीको राजनीतिक यात्रामा कुनै बेला दुवै दुर्गाको अलग–अलग उपयोगिता थियो । अहिले दुवै दुर्गा ओलीसँग छैनन् । यसलाई ‘सकारात्मक’ कोणबाट यसरी पनि भन्न सकिन्छ– ओली अहिले दुवै दुर्गासँग छैनन् ।

हिजो शनिबार एमाले अध्यक्ष ओलीले यी दुई दुर्गामध्ये एकबारे प्रधानमन्त्री प्रचण्डसँग लामै कुरा कुरा गर्नुपर्‍यो । तीमध्येको एउटा विषय आइतबार बिहानको माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफलको विषय बनेको थियो ।

कोही अलमलमा नपरुन्, ओली–प्रचण्डबीच दुर्गा अधिकारीबारे पक्कै कुरो भएन । माओवादी युद्धभित्र यस्ता ‘दुर्गा’ कति छन् कति, जसलाई प्रचण्डले त के, विप्लवले समेत सम्झेर साध्य छैन ।

केही वर्षअघि स्वयं प्रचण्ड, माधव नेपाललगायतसँग धेरै उतारचढाव बेहोरेर शक्तिमा एक हदसम्म टिकिरहन सफल नेता हुन् ओली । आखिर दुर्गा प्रसाईंका अनर्गल प्रचारले उनी किन प्रभावित बन्न पुगे ?

माओवादी केन्द्रका एक पदाधिकारीले यो पंक्तिकारलाई टेलिफोनमा बताए अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘दुर्गा प्रसाईका अराजकताले सबै सीमा नाघ्यो भन्दै हुनुहुन्थ्यो केपीजी । कम्बोडियाको टेलिकममा आफूले (ओलीले) लगानी गरेको भन्दै गलत हल्ला फिँजाइरहेको छ । कतिपय मान्छेले उसका कुरा नबुझी पत्याउँछन् ।’

प्रचण्डले बैठकमा सुनाएअनुसार ओलीले उनीसँग भने, ‘कि त मैले गैरकानुनी ढंगले त्यसरी लगानी गरेको प्रमाणित हुन्छ भने मलाई सजाय गर्नुपर्‍यो । यो प्रमाणित हुन सक्दैन भने त्यसरी हल्ला फिँजाउनेलाई सरकारले कारबाही गर्नुपर्‍यो । अहिले खुब राजावादी भएर गणतन्त्रका नेताहरुलाई खुइल्याउन हिँडेको छ ।’

ओली त्यति कमजोर चित्तका नेता होइनन्, जसलाई एउटा व्यक्तिका सीमाहीन बोली–व्यवहारले प्रभावित गर्न सकोस् । केही वर्षअघि स्वयं प्रचण्ड, माधव नेपाललगायतसँग धेरै उतारचढाव बेहोरेर शक्तिमा एक हदसम्म टिकिरहन सफल नेता हुन् ओली । आखिर दुर्गा प्रसाईंका अनर्गल प्रचारले उनी किन प्रभावित बन्न पुगे ?

दुर्गा प्रसाईंसँग कुनै सेना छैन, कार्यकर्ता पनि खासै छैनन् । तर उनीसँग युट्युबे छन्, जसले जोसुकैको आनन्दमय जीवनमा घुसेर अफवाहको आगो सल्काउने क्षमता राख्छन् । दुर्गा आफैं टिभी, युट्युबमा उभिएर अपुष्ट उछित्तो काढ्छन् ।

विगतमा क्रमशः प्रचण्ड, ओली हुँदै अन्तिम शाह राजा ज्ञानेन्द्रलाई समेत प्रभावमा पारेर प्रसाईले व्यवसायलाई अपारदर्शी ढंगले उकासे । मारवाडी लगायत समुदायबारे साम्प्रदायिक भड्काउका भाषा बोल्छन् । दुर्गा प्रसाईले धुलिसात् पारेको ‘अभिव्यक्ति स्वतन्त्रता’ सँग स्वयं लोकतन्त्र डराउने परिस्थिति बन्दैछ ।

प्रचण्डले आज आइतबारको बैठकमा बताए अनुसार विगतमा माओवादी छाडेर प्रसाईं एमालेमा बस्दा आफूविरुद्ध विभिन्न प्रचारबाजी गर्दा एमाले पक्षले आनन्द मानेर सुनेको कुरो पनि उनले ओलीसँग उठाए ।

ओलीले नेताहरुको चरित्र हत्या गरेरमात्रै यो व्यवस्था उल्टाउन सकिन्छ भन्ने कतिपयले ठानेको हुनाले अहिले विगतमा कसले कुन कुरा मन पराएर सुन्यो भन्ने कुुरो नझिक्न आग्रह गरे ।

पोहोर आम चुनावसम्म दुर्गा प्रसाईं उनै ओलीलाई हजुरबा पुकार्थे । नेकपा (नेकपा) को ‘महान एकता’ मा दुर्गा प्रसाईलगायत व्यवसायीको ठूलै योगदान थियो । दुर्गाले ओली–प्रचण्डलाई घरै डाकेर चरेसको थालमा मार्सीधानको भात खुवाएको प्रसंग चर्चितै भइहाल्यो ।

दुई वर्षअघि २०७८ मंसिरमा चितवनमा आयोजित एमाले दसौं महाधिवेशनमा दुर्गा प्रसाईले केन्द्रीय सदस्य बन्ने चाहना राखेका थिए । सौराहा बन्दसत्र स्थलमा पुग्दासम्म उनलाई बन्दसत्र भनेको के हो थाहा रहेनछ । पार्क सफारी होटलको चउरबाट दुई तलामाथि बार्दलीमा बसेका ओलीलाई हजुरबा भनेर उनले गरेको साष्टांग दण्डवत् अहिले पनि हामी संवाददाताहरुको आँखा अघिल्तिर झलझली छ ।

महाधिवेशनमा केन्द्रीय सदस्य हुन नपाए पनि प्रसाईं पार्टी बैठकबाट मनोनित भइहाले । ओलीले माओवादी छाड्दै आफूसँग आएका प्रसाईंलाई केन्द्रीय सदस्य बनाएर पुरस्कृत गर्दैगर्दा डा. दीपकप्रकाश भट्टजस्ता होनहार नेता कमिटीमा पर्न सकेनन् । भट्ट जसले कांग्रेसका रमेश लेखकजस्ता शक्तिशाली नेतालाई ०७४ को आम चुनावमा हराउन सफल भएका थिए । उनी छुटे, दुर्गा प्रसाईं अटाए ।

ओलीले उपेक्षा गरे पनि भट्ट एमालेमै छन् । ओलीले पुल्पुल्याएका दुर्गा प्रसाईं हिजोआज के गर्दैछन् भनी व्याख्या गर्नै पर्दैन । ओली उनीमाथि कारबाही गरिदिन प्रचण्ड गुहार्दैछन् ।

जुन बेला ओली शक्तिमा छाइसकेका थिएनन् । त्यसबेला उनको आडभरोसा बन्न पुगेका थिए, झापाका अर्का दुर्गा । अर्थात् दुर्गा अधिकारी । लेखक निरोज कट्टेलले लेखेको ‘२०२८ : झापा विद्रोहको अन्तर्कथा’ नामक भर्खरै प्रकाशित पुस्तकमा दुर्गा अधिकारीबारे लामै अध्याय छ ।

इलाम शान्तिपुरका दुर्गा अधिकारी झापा झरेर कालान्तरमा केपी ओली, सीपी मैनालीलगायत नेताका कट्टर कम्युनिस्ट कार्यकर्ता बन्लान् भन्ने कल्पना अरु त के, उनी स्वयंको थिएन । साना काँटीका दुर्गाको नामलाई जेलमा प्रहरीले ठूलो दुर्गा अधिकारी नामकरण गरिदिए । किनभने हेर्दा उनीभन्दा ठूला, तर उमेरले साना अर्का दुर्गा अधिकारी जेलमै आइसकेका थिए ।

जग्गाजमिन र थोरै निजी सम्पत्ति जोड्ने आशमा इलामबाट झापा झरेका दुर्गा अधिकारीले कम्युनिस्ट राजनीतिमा लागेर निजी सम्पत्ति उन्मुलनको भाष्य मन पराए ।

संसारमा दुःखको स्रोत भनेकै निजी सम्पत्ति हो भनेर नेता कमरेडहरुले पढाएको कुरो उनलाई जँच्यो । उनी गरिब हुनु भनेको पूर्वजन्मको खेल होइन, सामाजिक अन्यायको परिणाम हो भन्ने स्वीकार्न थालेका थिए ।

समयले दुर्गालाई ओली, मैनालीका साम्यवादी सपनाबाट च्यूत बनाउँदै चारआली झापाछेउको मन्दिरमा पुजारी बनायो । उनी गरिब हुनुलाई प्रारब्धको खेल होइन, वर्गीय शोषणको नतिजा मान्थे । उनी फेरि प्रारब्धलाई नै दोष दिने अवस्थामा आइपुगे ।

व्यक्तिहत्याको राजनीतिमा संलग्नताको अभियोगमा दुर्गा अधिकारीले जेलमा एक दशक गुजारे । पत्नीले अर्को बिहे गरिन् । सन्तानलाई नजिकका आफन्तले बनिबुतो गरेर हुर्काए । जेलबाट मुक्त भएर आउँदा उनीसँग आफ्नो भन्नु केही थिएन, कोही थिएन । आफ्नो भनिएको पार्टी पनि असफल झापा विद्रोहसँगै रुपान्तरित भइसकेको थियो । सीपी, राधाकृष्ण मैनाली, केपी ओली, धनेन्द्र बस्नेत आदि कोअर्डिनेशन केन्द्र (कोके) हुँदै नेकपा मालेमा लागिसकेका थिए ।

समयले दुर्गालाई ओली, मैनालीका साम्यवादी सपनाबाट च्यूत बनाउँदै चारआली झापाछेउको मन्दिरमा पुजारी बनायो । उनी गरिब हुनुलाई प्रारब्धको खेल होइन, वर्गीय शोषणको नतिजा मान्थे । उनी फेरि प्रारब्धलाई नै दोष दिने अवस्थामा आइपुगे ।

दुर्गाजस्तै धेरै मानिसहरुको कायाकल्प अनेक किसिमले भयो । आन्दोलनमा कोही मैनाली, ओली बन्छन्, कोही दुर्गा अधिकारी, डेकेन्द्र राजवंशी बन्छन् । कतिले बिर्से, कतिले सम्झरहेका होलान्, राजवंशीले एमालेको तत्कालीन मूख्यालय बल्खुमा झुण्डिएर जीवन त्यागेका थिए ।

सिधा आँखाबाट हेर्दा यसमा केपी ओलीको के दोष ? आन्दोलनले प्रत्येकलाई सपना भरिदिन सक्छ, तर प्रत्येकको ज्यानको जिम्मा नेता विशेषसँग नहोला । ओली साथी बिर्सिहाल्ने व्यक्ति होइनन् । उनले ०७२ सालको वैशाख १ गते बालकोट निवासमा सीपी मैनाली, राधाकृष्ण लगायत नेतासँगै दुर्गा अधिकारीसँगै झापा आन्दोलनका योद्धाहरु डाकेर नयाँ वर्ष मनाए ।

त्यो त एक दिनको सम्झना थियो । दुर्गा अधिकारी फर्केर उही पाथीभरा मन्दिरमा पुजारी रहे । बीचका यी आठ वर्षमा दुर्गा प्रसाईंकै चर्चा रह्यो, जसका लागि ओलीले प्रा. डा. गोविन्द केसीको अनशनको प्रतिवाद गर्न पुगेका थिए । पंक्तिकारसँगको यो अन्तर्वार्तामा समेत ओलीले प्रसाईको बलियो पक्षपोषण गरेका थिए । अचेल केसी के गर्दै होलान्, तर ओलीलाई भने दुर्गा प्रसाईंको कारण आजित हुनुपरेको छ ।

दुर्गा अधिकारी अहिले पनि उही नियतिमा छन् । ओलीले उनलाई तारन्तार भेटिराख्नुपर्ने आवश्यकता अब नहोला पनि । उनी ओलीको निर्वाचन क्षेत्रका मतदाता पनि होइनन्, जसको प्रभाव वा असर दुर्गा प्रसाईं जति रहोस् ।

समयले पार्टीहरुलाई निर्वाचन क्षेत्रभन्दा पर देख्न नसक्ने बनाइदिएको छ । हामी यस्तो बेलामा छौं, जहाँ नेतृत्वले ‘गल्ती’ गर्दैन । सायद यो ‘समय’ कै दोष हो, अघिसम्म माला बोकेर एयरपोर्टको रनवेसम्मै धनुष्टंकार गर्न आउने व्यक्ति नै अब मुक्का उज्याउँदै आउँछ । कोहीलाई नेताले प्रयोग गर्छन्, कोहीले नेतालाई । यस्तोमा ओलीको ‘कारबाही माग’ प्रचण्डले पूरा गर्न सक्ने ताकत या ल्याकत दुवै नहुन सक्छ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?