
१५ कात्तिक, काठमाडौं । संघीय संसदमा अर्को अधिवेशनदेखि संसदीय क्यालेण्डर लागू गर्ने तयारी भएको छ ।
संसदको चालू अधिवेशन अन्त्य हुनु अघिल्लो दिन बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले अर्को अधिवेशनदेखि संसदीय क्यालेण्डर लागू गर्नुपर्ने बताएका छन् ।
‘संसदीय क्यालेण्डर लागू गर्नेपर्ने महसुस भएको छ । यसपटक सुरुवात गर्न सकिएन । अर्को अधिवेशनदेखि सुरुवात गरौं । अभ्यासमा गएपछि त्यसका सफ्ठेरा र अफ्ठेराहरु थाहा हुन्छन् र सुधार गर्दै जान सकिन्छ’ सभामुख घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठकमा भनेका छन् ।
राजनीतिक दलहरुका बीचमा हुने बेमेलले संसदीय क्यालेण्डर लागूमा हुन सक्ने अवरोध र त्यसलाई चिर्न अपनाउन सकिने उपायका विषयमा पनिसभामुख घिमिरेले अध्ययन गर्न संसद सचिवालयका कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका रमेश लेखकले सभामुख घिमिरेको प्रस्तावको स्वागत गरे । ‘संसदीय क्यालेण्डरले हामी सबैलाई एउटा विधिमा बाँध्छ । यो आवश्यक छ’ उनले बैठकमा भने ।
संसद सचिवालयका अधिकारीहरु कार्य व्यवस्था परामर्श समितिको निष्कर्षका आधारमा तयारी गर्ने बताउँछन् ।
प्रतिनिधि सभा नियमावलीमा संसदीय क्यालेन्डरको विषय छ । प्रतिनिधि सभा नियमावलीको नियम २५५ मा यस सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘सभाले सुव्यवस्थित ढङ्गले कार्यसम्पादन गर्ने सम्बन्धमा कार्यतालिका बनाई लागू गर्न सक्नेछ ।’
प्रतिक्रिया 4