
१७ कात्तिक, काठमाडौं । नेपाल एसबिआई बैंकको नाफामा २३ प्रतिशतले गिरावट आएको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म खुद नाफा ४७ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा ६२ करोड ७३ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी बढे पनि समयमै ऋण उठाउन नसक्दा बढेको लोन लस प्रोभिजनका कारण नाफामा गिरावट आएको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २९ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सो अवधिमा भने १ अर्ब ३८ करोड पुगेको छ । बैंकको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) भने बढेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा इम्पेरिमेन्ट चार्ज रकम ९ करोड रहेकोमा अहिले बढेर २९ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा बैंकको नाफामा संकुचन देखिएको हो । नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा २४ रुपैयाँ ८० पैसा प्रतिसेयर आम्दानी रहेकोमा अहिले १८ रुपैयाँ ९४ पैसा छ । बैंकको निष्क्रिय कर्जा बढ्नुले अर्को चुनौती थपिएको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्म निष्क्रिय कर्जा कुल कर्जामा ०.३६ प्रतिशत मात्रै रहेकोमा यो वर्षको असोज मसान्तमा यस्तो कर्जा २.३५ प्रतिशत पुगेको छ ।
बैंकको निक्षेपमा कर्जा अनुपात (सीडी रेसियो) ७५ प्रतिशतमा झरेको छ । त्यस्तै आधार दर १०.२५ प्रतिशत छ भने कर्जा तथा निक्षेपको औसत ब्याजअन्तर (स्प्रेड रेट) ३.९९ प्रतिशत छ ।
प्रतिक्रिया 4