+
+

संरक्षणको पर्खाइमा दाङको ‘नमूना थारूग्राम’

करिब १३ वर्ष अघि स्थापना भएका घोराही उपमहानगरपालिका–७ सिसहनियाँस्थित ‘नमूना थारुग्राम’ जीर्ण बन्दा कसैले संरक्षण गरेर जीवित बनाउला की भनेर पर्खाइमा छन् । थारु समुदायको पहिचान झल्काउने उद्देश्यले तत्कालनी जिल्ला विकास समितिले स्थापना गरेको नमुना थारुग्रामको अवस्था अहिले जीर्ण बनेको हो ।

रासस रासस
२०८० कात्तिक १७ गते १९:३६

१७ कात्तिक, देउखुरी । साना एकैनाशका घर, फुसले छाएको छानो मक्किएर पानी पर्दा चुहिने भएका छन् । माटोको भित्ता भत्किएर वारपार देखिन थालेका छन् । आँगनभरि उम्रिएका घाँस झाडी भइसकेका छन् । फुसको छानोमा घाँस उम्रिएका छन् ।

करिब १३ वर्ष अघि स्थापना भएका घोराही उपमहानगरपालिका–७ सिसहनियाँस्थित ‘नमूना थारुग्राम’ जीर्ण बन्दा कसैले संरक्षण गरेर जीवित बनाउला की भनेर पर्खाइमा छन् । थारु समुदायको पहिचान झल्काउने उद्देश्यले तत्कालनी जिल्ला विकास समितिले स्थापना गरेको नमुना थारुग्रामको अवस्था अहिले जीर्ण बनेको हो ।

उक्त थारुग्राम सञ्चालन र संरक्षणमा ध्यान नदिँदा २०६५ सालमा निर्माण गरिएका घर भत्किन थालेका नमुना थारुग्राम सञ्चालन समितिका पूर्वअध्यक्ष बेझलाल थारुले बताए । स्थापना भएपछि करिब पाँच÷छ वर्ष राम्रोसँग सञ्चालन भए पनि त्यसपछि बन्द भएको उनको भनाइ थियो ।

थारु जातिको परम्परागत घर, उनीहरुले प्रयोग गर्ने भाँडाकुँडा, लगाउने कपडा, बोलिने भाषा, बसाइँसराइ झल्काउने चित्रसँगै अन्य विभिन्न कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले जिविसले रू तीन लाख १५ हजार खर्च गरेर नमुना थारुग्राम स्थापना गरेको थियो ।

करिब पाँच बिघा क्षेत्रफलमा रहेको उक्त थारुग्रामसँगै सङ्ग्रहालय स्थापना गर्नेगरी थारु जातिका परम्परागत पाँच घर निर्माण गरिएको पूर्वअध्यक्ष थारुले बताउनुभयो । स्थानीय सरकारले संरक्षण र सञ्चालनमा ध्यान नदिँदा अलपत्र परेको उनको भनाइ थियो ।

आफ्नो संस्कृति जोगाउन युवापुस्ताले चासो दिन नसक्दा बनेका संरचना र पूर्वाधार अलपत्र अवस्थामा पुगेका थारुले बताए । थारु समुदायको मौलिक घर, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुरुआती चरणमा काम भए पनि पछिल्लो समय राज्य तथा थारु समुदायले चासो नदिँदा थारुग्राम ओझेलमा परेको उनले गुनासो गरे ।

पूर्वअध्यक्ष थारुका अनुसार थारु समुदायका परम्परागत घर निर्माणसँगै भित्तामा थारु जातिसँग सम्बन्धित विभिन्न चित्रसमेत बनाइएको थियो । ‘घरका भित्तामा घोडा, हात्ती, माछा, थारुले सिखर बोकेका चित्र, घरभित्र बस्ने, खानलाई प्रयोग गरिने सामग्री राखिनुका साथै धान कुट्ने ढिकी, पिठो पिस्ने चाखी, तेल पेल्ने कोल राखिएको थियो’, उनले भने, ‘अहिले ती सामग्री कहाँ छन् भन्ने थाहा छैन।’

घरबास सञ्चालनका लागि नयाँ पुस्तामा आवश्यक ज्ञानको अभावसँगै नमुना थारु ग्रामलाई विकास गर्न स्थानीय समुदायले चासो नदिँदा अलपत्र परेको थारुले बताए । उनका अनुसार सुरुमा त्यस ठाउँमा घुम्न जाने पाहुनालाई बास बस्नका लागि व्यवस्था गरिएको थियो ।

नमुना थारुग्रामलाई विकास गर्दै उक्त स्थानमा थारु सङ्ग्रहालय स्थापना गरिने, ग्रीनपार्कलगायतका संरचना निर्माण गर्ने भनिए पनि अहिलेसम्म कुनै पनि संरचना निर्माण नहुँदा १३ वर्षदेखि अलपत्र बन्न पुगेको उनको भनाइ थियो ।

घोराही उपमहानगरपालिका वडा–७ का वडाध्यक्ष खोपीराम चौधरीले स्थानीयको बेवास्थाका कारण थारुग्राम अलपत्र परेको बताए । ‘राज्यले लगानी गरेर बनाएको उक्त थारुग्रामको संरक्षण र सञ्चालन गर्न स्थानीय जागरुक हुन आवश्यक छ’, उनले भने, ‘यहाँका स्थानीयको चासो नहुँदा नमुना थारुग्राम अलपत्र परेको छ ।’

थारु जातिको इतिहास, संस्कृति र रीतिरिवाजका बारेमा जानकारी दिने उद्देश्यले घर निर्माण गरिए पनि आर्थिक अभावका कारण सञ्चालन हुन नसकेको वडाध्यक्ष चौधरीको भनाइ छ ।

स्थानीय सरकारले सहयोग गरे नमुना ग्रामलाई सञ्चालन गर्न सकिने थारु कल्याणकारी सभा दाङका पूर्वअध्यक्ष भुवन चौधरीले बताउनुभयो । दुई वर्षअघिसम्म थारुग्रामका लागि स्थानीय सरकारले बजेट छुट्याए पनि स्थानीयवासीले चासो नदिँदा पछिल्लो समय बजेट छुट्याउन छोडिएको उनको भनाइ थियो ।

थारु कला, संस्कृति, भाषा लोप हुने अवस्थामा पुगेका बेलामा यसको संरक्षण गर्न बनाएका संरचनाको संरक्षण गर्न युवापुस्ता विशेषरुपमा लाग्नुपर्नेमा उनले जोड दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?