
पोखरा । ‘पुतली बाजे’को नामले परिचित बेलायती नागरिक कलिन स्मिथको शनिबार बिहान पोखरामा निधन भएको छ । ८८ वर्षीय स्मिथ मुटुसम्बन्धी रोगका दुई महिनादेखि हरियोखर्कमा उपचाररत् थिए ।
स्मिथ निकट रहेका सुनिल उलकले उनको शनिबार बिहान करिब ३ बजे उपचारकै क्रममा निधन भएको पुष्टि गरे । ‘उहाँ लामो समयदेखि उपचारमै हुनुहुन्थ्यो, आज बिहान निधन भयो,’ उनले भने, ‘अन्त्येष्टि भने सोमबार मात्रै गर्ने कुरा भएको छ ।’ कलिन स्मिथको दुई महिनादेखि हरियोखर्कमा प्यालिएटिभ केयरमा उपचार भइरहेको थियो ।
स्मिथ सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि नेपाल आएका थिए । उनले पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालयबाट अध्यापन सुरु गरे पनि पछि पोखरा र गोरखाका विभिन्न विद्यालयमा पनि पढाएका थिए ।
नेपालमा पाइने करिब ६४० प्रजातिका पुतलीबारे लामो खोज अनुसन्धान गरेका उनलाई पुतली बाजेकै उपनामले चिनिन्छ । उनले संग्रहित गरेका पुतली पृथ्वीनारायण क्याम्पसमा रहेको अन्नपूर्ण म्युजियम राखिएको छ । उक्त संग्रहालय नामले भन्दा पनि ‘पुतली संग्रहालय’को नामले बढी चिनिन्छ ।
उनको पुतलीबारे लेखेको ३० भन्दा बढी किताब प्रकाशित छन् । ती पुस्तक पुतली र झ्याउँकिरीका विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएका हुन् । उनले पहिलो पटक निकालेको किताब बटरफ्लाइज अफ नेपाल इन सेन्टरल हिमालय हो । सो किताब उनले सन् १९८९ मा लेखेका थिए ।
युवावस्थामै नेपाल आएका स्मिथले मानार्थ नेपाली नागरिकता पनि पाएका छन् । सन् १९९० देखि नागरिकताका लागि प्रशासनमा आवेदन दिन थालेको उनले २०७६ मा मानार्थ नेपाली नागरिकता पाएका थिए ।
प्रतिक्रिया 4