
१९ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको धनजनको क्षतिबाट अर्थतन्त्र र मुलुक सामु नयाँ चुनौती थपिएको निजी क्षेत्रले बताएको छ ।
अर्थतन्त्र संकटको अवस्थामा रहेको बेला मुलुकको पश्चिमि भू-भागमा भूकम्पबाट भएको ठूलो धनजनको क्षतिबाट उत्पन्न हुने चुनौती सामना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै निजी क्षेत्रका प्रमुख तीन वटा संस्थाका प्रमुखहरुले यस्तो धारणा राखेका हुन् । भूकम्पका कारण उत्पन्न मानवीय र धनजनको क्षतिप्रति उनीहरुले दुःख समेत व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्याग परिसंघका अध्यक्ष राजेश अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भूकम्पबाट भएको ठूलो धनजनको क्षतिले मुलुक सामु थप चुनौती आइलागेको भन्दै सबैपक्ष मिलेर यसलाई सामना गर्नु पर्ने बताए ।
उद्धार र उपचार प्रभवकारी बनाउन सरकारसँग माग गरेका उनीरुले राहत र पुनर्स्थापना तथा पीडितलाई सहयोगका लागि निजी क्षेत्रले पनि सघाउने उनीहरुले प्रतिबद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले भूकम्प प्रभावितलाई आफूहरुले पनि राहत वितरण गर्ने बताए । उनले सक्दो राहत वितरण गर्न व्यवसायीहरुलाई आग्रह समेत गरे ।
भूकम्प प्रभावितका लागि महासंघले छिट्टै राहत घोषणा गर्छ,’ अध्यक्ष ढकालले भने, ‘उद्योगी व्यवसायीहरुलाई पनि जतिसक्दो छिट्टो सहयोग र राहतमा जुट्न म आग्रह गर्छु ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरे । मुलुकमा एकपछि अर्को गर्दै प्राकृतिक विपद् आइलागेको भन्दै यसलाई सबै मिलेर सामना गर्नु पर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बाह्य र आन्तरिक विविध समस्याले अर्थतन्त्रलाई गाँजेको बेला देश फेरि अर्को प्राकृतिक विपद्मा परेकोमा दुःख व्यक्त गरे ।
सरकारबाट उद्धार र उपचारमा कुनै कसर बाँकी नहुने विश्वास व्यक्त गर्दै उनले विपद्मा आफूहरु पनि सरकारसँगै रहेको बताए ।
प्रतिक्रिया 4