
काठमाडौं । अभिनेता आकाश श्रेष्ठले आइतबार मूलपानीमा रहेको बालआश्रममा पुगेर जन्मदिन मनाएका छन् । उनले स्थानीय स्नेहा आश्रमलाई ५० हजार रुपैयाँ पनि सहयोग प्रदान गरे ।
उनले आश्रित बालबालिकासँग जन्मदिन सेलिब्रेट गरे, उनले त्यहाँ केक काटे । साथै नगदसहित खाद्य सामग्री पनि आश्रमलाई प्रदान गरे । उक्त बालआश्रमलाई अभिनेता सुलेमान शंकर इकुले सञ्चालन गर्छन् ।
जन्मदिन गेट टुगेदरमा पनि आकाशलाई विवाहको प्रश्नले पछ्यायो । उनले केही वर्षको अर्को जन्मदिनमा आफू एकबाट दुई भएर त्यही आश्रममा जोडीसहित उपस्थित हुने बताए ।
उनले फिल्म चल्न कलाकारभन्दा निर्देशकको भिजन र स्क्रिप्ट बलियो हुनुपर्ने बताए । उनले ‘परदेशी २’ राम्रोसँग चलिरहेको भन्दै डेब्यु अभिनेता प्रकाश सपुतको प्रशंसा गरे । चाँडै आफूले फिल्म गर्न लागेको जानकारी पनि उनले दिए ।
फिल्म ‘म त तिम्रै हुँ’बाट अभिनय करिअर थालेका आकाशले ‘ब्ल्याक, रामकहानी, पोई पर्यो काले, सम्झना बिर्सना, सम्हालिन्छ कहिले मन, हिंड्दा हिंड्दै’ लगायतका फिल्ममा काम गरेका छन् । उनी बेला बखत प्रेमको कारणले पनि चर्चामा आउँछन् ।
आकाश बेलाबखत प्रेम चर्चाका कारण पनि मिडियामा छाउँछन् । आकाशले अभिनय गरेको ‘हिंड्दा हिंड्दै’ यो वर्ष रिलिज भएको थियो । यसपछि उनले नयाँ फिल्म भने साइन गरेका छैनन् ।
यतिबेला मोडल तथा अभिनेत्री करुणा श्रेष्ठसँग आकाशको प्रेम चर्चा छ । करुणाले पनि इन्स्टाग्राममार्फत आकाशलाई जन्मदिनको शुभकामना दिएकी छन् । उनलाई आफ्ना लागि संसारका सबैभन्दा प्रिय व्यक्ति भएको बताउँदै करुणाले हार्ट इमोज उल्लेख गरेकी छन् । उनले आकाशसँगका रोमान्टिक स्टोरी पनि पोस्ट गरेकी छन् ।
करुणाको यो इन्स्टाग्राम पोस्टले यी दुईजना प्रेम सम्बन्धमा रहेको चर्चामा बल पुग्छ । केही महिनादेखि यी दुईले म्युजिक भिडियोमा एकसाथ धेरै काम गर्दै आएका छन् ।
प्रतिक्रिया 4