
१९ कात्तिक, काठमाडौं । प्रतिनिधी सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधको छ । समितिमा प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृति दिंदा अनियमितता भएको भन्दै उजुरी परेपछि समितिले बोर्डलाई स्पष्टीकरण सोधेको हो ।
पछिल्लो केही समय यता उत्पादनमूलक समूहका सिमेन्ट उद्योग मात्रै नभएर आयोजनाको उत्पादन मिति तोकिएको हाइड्रोपावर कम्पनीले पनि धमाधम प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाइरहेका छन् । हिमालयन रि-इन्स्योरेन्स कम्पनी र जीवन बीमा कम्पनीलाई पनि बोर्डले प्रिमियममा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो ।
प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न स्वीकृति दिंदा अनियमितता भएको भन्दै समितिमा उजुरी परेपछि बोर्डलाई जवाफ माग गरेको सार्वजनिक लेखा समितिले जनाएको छ ।
समिति सभापति ऋषिकेष पोखरेल एक हप्ताको समय दिएर प्राप्त उजुरीका सम्बन्धमा जवाफ माग गरिएको बताउँछन् ।
‘उजुरी गम्भीर लागेका कारण जवाफ मागिएको हो । जवाफ आएपछि समितिले सत्य तथ्य हेरेर थप निर्णय लिन्छ,’ उनले भने ।
समितिका सचिव एकराम गिरी समितिमा धेरै उजुरीहरु परेको र त्यसमध्ये एउटा धितोपत्र बोर्डसँग समेत सम्बन्धित रहेको बताउँछन् ।
उनका अनुसार समितिले उजुरीहरु लिन्छ र त्यसको गम्भीर्यताको आधारमा छलफल समेत चलाउने गर्दछ । यही क्रममा बोर्डलाई पत्र काटिएको उनले बताए ।
प्रतिक्रिया 4