
२० कात्तिक, काठमाडौं । नबिल बैंक लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई एक करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
भूकम्प प्रभावित क्षेत्रका जनताको उद्धार र राहतका लागि उक्त रकम बराबरको राहत सामग्री उपलब्ध गराउने निर्णय भएको बैंकले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटबाट सञ्चालित एकद्वार राहत संकलन तथा वितरण केन्द्रलाई बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यान्न, त्रिपाल, ब्लाङ्केट, औषधि लगायतका एक करोड बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ ।
‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, उनले भने ।
उनले जाजरकोट र रूकुम पश्चिम दुवै क्षेत्रमा राहत सामाग्री उपलब्ध गराउने जानकारी दिए ।
राहत सामाग्री बोकेर बैंकका प्रमुख बजार अधिकृत सुवेदी र रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4