
काठमाडौं । फिल्म ‘परदेशी २’ ले जाजरकोट भूकम्प पीडितलाई राहतका लागि ५१ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । निर्देशक तथा निर्माता नारायण रायमाझीले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने बताए ।
भूकम्पको असहज परिस्थितिको कारण कतिपय विशेष शो स्थगित गरिएको जनाउँदै रायमाझीले अनाथ आश्रमका बालबालिका र वृद्धवृद्धाको लागि च्यारिटी शो गर्न लागिएको बताए ।
अहिले हलमा चलिरहेको यो फिल्मले घरेलु बक्स अफिसमा सन्तोषजनक कमाइ गरिरहेको छ । प्रकाश सपुत, केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्मले वैदेशिक रोजगारीको सामाजिक असरको कथा पेश गर्छ ।
यसैबीच, गायक हेमन्त शर्माले पूर्वघोषित पुरस्कारबापतको ५० हजार रुपैयाँ नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका छन् । मंगलबार बिहान उनले पौडेल र कुशल भुर्तेललाई रकम प्रदान गरेका हुन् ।
आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गरे नेपाली क्रिकेट टोलीलाई ५० हजार दिने घोषणा उनले गरेका थिए । शर्माले दिएको रकम जाजरकोट भूकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुरानाको घर मर्मतका लागि पठाइने क्रिकेट कप्तान पौडेलले जनाएका छन् ।
प्रतिक्रिया 4