
काठमाडौं । मिस वर्ल्ड प्रतियोगिता सरेको सर्यै गर्दा ‘मिस नेपाल’को लाइनअप प्रभावित हुने जोखिम देखिएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले डिसेम्बरमा भारतको दिल्लीमा गर्ने भनेको फिनाले पुनः स्थगित गरेको छ ।
सुरुमा यूएईको दुबईमा गर्ने भनेर घोषणा गरिएको फिनालेलाई त्यसपछि भारतमा सारियो । डिसेम्बरमा दिल्लीमा मेयरको चुनाव हुने कारण दर्शाउँदै पुनः स्थगित भएको छ ।फिनालेको मिति सरेको यो तेस्रोपटक हो ।
कोरोना महामारका कारण दुई वर्ष रोकिएको मिस वर्ल्डको फिनाले अहिलेको सामान्य अवस्थामा पनि आयोजना हुन मुस्किल भइरहेको छ । यसको कारण नखुलाइए पनि मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरलाई मिति सरेको मात्र भनिएको छ ।
सन् २०२२ कै संस्करण अहिलेसम्म हुन सकेको छैन । जसले गर्दा सोही वर्षकी मिस नेपाल वर्ल्ड विजेता प्रियंकारानी जोशी एक वर्षदेखि नै तयारीमा व्यस्त छिन् । पटकपटक मिति सर्दा तयारी समेत प्रभावित हुने देखिन्छ ।
अनलाइनखबरसँग कुरा गर्दै प्रियंकाले मिति सरे पनि आफू आशावादी ढंगले तयारीमा जुटेको बताइन् । नियमानुसार सन् २०२३ का लागि सृच्छा प्रधान मिस वर्ल्डमा जानुपर्ने हो तर हिडन ट्रेजरले २०२२ की विजेता प्रियंकालाई नै पठाउने निधो गरिसकेको छ । यदि सन् २०२३ भित्र पनि नहुने हो भने मिस नेपालकै लाइनअप प्रभावित हुने मात्र होइन, हिडन ट्रेजरमाथि दबाब समेत थपिने देखिन्छ ।
यो समस्या नेपालको मात्र नभई मिस वर्ल्डको तयारीमा जुटेका सबै सदस्य मुलुकको हो । मिस वर्ल्ड समयमा नभए पनि मिस इन्टरनेसनल र मिस अर्थ भने समयमै भइरहेका छन् । मिस इन्टरनेसनल यसै महिना सकियो भने मिस अर्थका लागि रेना मजगैंया डिसेम्बरमा प्रस्थान गर्ने तयारीमा छिन् ।
प्रतिक्रिया 4