
२४ कात्तिक, काठमाडौं । १६ औं योजनाका लागि सुझाव लिन देश दौडाहामा लागेको राष्ट्रिय योजना आयोगले शुक्रबार लुम्बिनी प्रदेश भित्रका सबै पालिकाहरुबाट सुझाव संकलन गर्दै छ । पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेर सुझाव संकलनको कार्यक्रम राखिएको छ ।
बिहीबारदेखि लुम्बिनीसँगै कोशी प्रदेशमा पनि सुझाव संकलन कार्यक्रम चलिरहेको छ ।
यसअघि आयोगले मधेश प्रदेशको जनकपुरमा, बागमती प्रदेशको हेटौँडामा, गण्डकी प्रदेशको पोखरामा र सुदूरपश्चिम प्रदेशको धनगढीमा कात्तिक २० र २१ गते अन्तरक्रिया गरेर सुझाव लिइसकेको छ । कर्णाली प्रदेशको हकमा भने हालै गएको विनाशकारी भूकम्पका कारण सुझाव संकलन स्थगित गरिएको छ ।
बिहीबार लुम्बिनीमा आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सोह्रौं योजना संघीय शासन प्रणालीको मर्म अनुरुप हुनुपर्ने र यसले तीन तहकै सरकारका विकास प्रयासलाई मार्गदर्शन एवम् समन्वय गर्न सक्नुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रदेश सरकारका पदाधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, राजनीतिक दलका प्रदेशस्तरीय प्रमुखहरू, प्राध्यापक, निजी क्षेत्रका प्रतिनिधि लगायतले योजनालाई यथार्थपरक, कार्यमूलक एवम् नतिजामुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका राष्ट्रिय योजना आयोगका सदस्य डा. पौडेलले सोह्रौं योजनाको प्रस्तावित मस्यौदा उपर छलफलका क्रममा प्राप्त सुझावहरूलाई योजनामा यथोचित सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4