
२४ कात्तिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को लागि परीक्षा आवेदन खुला गरेको छ ।
कार्यालयले २०८० मा हुने एसइइको लागि कक्षा १० मा अध्ययनतरत नियमित (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेत) ले शुक्रबार (२४ कात्तिक) देखि मंसिर मसान्त भित्र फारम भर्नुपर्नेछ ।
मंसिर मसान्तभित्र फारम भर्न छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित १५ पुषभित्र फारम भर्न भराउन सकिने कार्यालयले जानकारी दिएको छ । फारमको लागि आवश्यक कागजात सहित नियमित तर्फ पाँच सय र विलम्ब तर्फ एक हजार शुल्क तिर्नुपर्नेछ ।
आगामी वर्षको एसइइका लागि रजिष्ट्रेसन भर्नुपर्ने
परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले आगामी वर्ष एसइइमा समावेश हुनका लागि रजिष्ट्रेसन फारमको आवेदन खुला गरेको छ ।
कार्यालयले शैक्षिक वर्ष २०८१ म एसइइमा सहभागी हुनको लागि कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत, वेदविद्याश्रम, गुरुकुल, मदर्सा, गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीले मंसिर मसान्तभित्र फारम भर्न भराउन सूचित गरेको छ ।
कक्षा ९ मा अध्ययनरत नियमित विद्यार्थीले अङ्काङ्कन पद्धतिमा कक्षा ८ वा सो सरहको वार्षिक परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ ।
साथै अक्षराङ्कन पद्धति (२०७२-२०७७) का हकमा अनिवार्य विषयहरुमा न्यूनतम डी प्लस ग्रेड र २०७८ र २०७९ सालमा न्यूनतम ग्रेड डी प्राप्त गरेको ग्रेडसिछ र जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि (प्रधानाध्यापकबाट प्रमाणित) अनिवार्य छ । विद्यार्थीले विलम्ब शुल्क सहित १५ गतेसम्म रजिष्ट्रेसन फारम भर्न सक्नेछन् ।
प्रतिक्रिया 4