+
+

ताराध्वज पाण्डेको राजीनामासँगै जंगीअड्डामाथि पनि प्रश्न

जंगीअड्डामाथि पनि केही प्रश्न उठेका छन्, ‘जन्ममितिमा कैफियत हुँदा हुँदै बढुवा सिफारिसको सूचना किन प्रकाशित भयो ? सेनाले सुरुमा छानबिन भइसकेको विषय भनेर यो मामलामा किन हल्का जवाफ दियो ? सहायक सेनानी हुँदै उपरथीसम्म बढुवा हुँदासम्म उनका कागजातमाथि किन जाँच भएन ?’

गौरव पोखरेल गौरव पोखरेल
२०८० कात्तिक २४ गते २२:२९
प्रधानसेनापति प्रभुराम शर्मा १६ कात्तिकमा फर्किँदा उनलाई स्वागत गर्दै उपरथी ताराध्वज पाण्डे । तस्वीरः सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालय

२४ कात्तिक, काठमाडौं । जन्ममिति विवादमा छानबिन सुरु भएर कैफियत देखिएलगत्तै जंगीअड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् ।

उपरथी पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष बुझाएको राजीनामा स्वीकृतिका लागि रक्षा मन्त्रालय पुगिसकेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी बताउँछन् । उनले भने, ‘राजीनामा आएको छ, मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने भएकाले रक्षा मन्त्रालय पठाएका छौं ।’

उपरथी पाण्डेलाई जंगीअड्डाले प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी बढुवाको सिफारिस गर्न सूचना प्रकाशित गरेको समाचार प्रकाशन गरेको थियो । उनको शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरकफरक जन्ममिति भेटिएको थियो ।

उनले अधिकृत क्याडेटमा २०४३ सालमा भर्ना हुँदा जन्ममिति २३ मंसिर २०२३ उल्लेख गरेका थिए । तर, शैक्षिक प्रमाण पत्रमा जन्ममिति १२ माघ २०२१ उल्लेख थियो । विगतमा सेनाभित्र भएका यस्ता विवादमा जुन मितिले पहिले अवकाश हुन्छ, त्यही कायम गरिँदै आएको थियो ।

तर, जंगीअड्डाले जन्ममितिमा ‘कैफियत’ भएका उपरथीलाई भावी प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी २९ असोजमा बढुवा सिफारिस सूचना प्रकाशित गरेको थियो ।

युद्धकार्य विभागका प्रमुख उपरथी पाण्डेलाई ७ दिनभित्र बढुवा सिफारिस गर्न भन्दै सूचना प्रकाशित गरेपनि दशैं बिदा, लगत्तै १० कात्तिकमा प्रधानसेनापति प्रभुराम शर्माले गरेको चीन भ्रमण लगायतका कारण फाइल अघि बढेको थिएन ।

१६ कात्तिकमा अनलाइनखबरले उपरथी पाण्डेको परीक्षा नियन्त्रण कार्यालयमा रहेको ढड्डामै केरमेट रहेको सार्वजनिक गर्‍यो । ढड्डामा पाण्डेको जन्ममिति झण्डै दुई वर्ष घटाएको स्पष्ट देखिएको थियो ।

परीक्षा नियन्त्रण कार्यालय स्रोतबाट प्राप्त जन्ममितिको मार्क रजिस्टरमा सुरुमा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख थियो । पछि त्यसलाई केरेर २३ मंसिर २०२३ बनाउँदै पाण्डेको उमेर घटाइएको छ । उनको जन्ममिति सच्याइएको व्यहोरा मार्क रजिष्टरको माथिल्लो भागमा पनि उल्लेख छ ।

जबकि, जन्ममितिमा कैफियत भए प्रवेशिका परीक्षा दिएको ६ मभहिनाभित्र सच्याइसक्नुपर्ने प्रावधान उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ मा थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भनेका थिए, ‘पहिले जन्ममिति सच्याउनलाई ६ महिनाभित्र दरखास्त दिनुपर्ने व्यवस्था थियो, २०८० सालमा भएको तेस्रो संशोधनपछि अहिले बल्ल यसलाई बढाएर ६ वर्ष पुर्‍याइएको छ ।’

उमेर विवादलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी पर्‍यो । आयोगका एक अधिकारी भन्छन्, ‘सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत परेका उजुरीका आधारमा छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका थियौं ।’

विवाद सतहमा आएपछि उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि छानबिनविना बढुवाको फाइल पठाए फिर्ता हुने संकेत जंगीअड्डालाई दिएको मन्त्रालय स्रोत बताउँछ ।

त्यसपछि जंगीअड्डामा प्रधानसेनापति शर्मापछि दोस्रो वरियतामा रहेका रथी सीताराम खड्काको नेतृत्वमा कानूनी मामिला हेर्ने प्राड विवाकका प्रमुख रत्नप्रकाश थापासहित अर्का एक अधिकृत भएको छानबिन समिति गठन भयो ।

समितिले गरेको अध्ययनका क्रममा पाण्डेले भर्ना हुँदा पेश गरिएको जन्ममिति र शैक्षिक प्रमाण–पत्रमा मात्र होइन, उनको नागरिकतामा समेत गम्भीर समस्या फेला पर्‍यो।

स्रोतका अनुसार, छानबिन समितिले पाण्डेको फरकफरक जन्ममिति भएको फरकफरक नागरिकता रहेको तथ्य भेटेको थियो । यसले नागरिकतासम्बन्धी गम्भीर कसूर समेत आकर्षित हुनसक्ने देखिएपछि उपरथी पाण्डे राजीनामा दिनुपर्ने दबाबमा परे । यसपछि प्रधानसेनापति शर्माले पनि स्वेच्छिक अवकाशको बाटो नरोजे परिस्थिति थप जटिल बन्ने संकेत गरेपछि उपरथी पाण्डेले राजीनामा दिएको स्रोत बताउँछ ।

जंगीअड्डामाथि पनि प्रश्न

सैनिक स्रोतका अनुसार, उपरथी पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिनाअघि १२ माघ २०७८ मै अवकाश पाउनुपर्ने थियो । किनकि, उपरथीका लागि अवकाशको उमेरहद ५७ वर्ष छ ।

अझै १२ माघ २०२१ जन्ममिति कायम हुँदा उनले अधिकृत क्याडेटमै भर्ना हुन पाउँथेनन् । सेनामा अधिकृत क्याडेटमा १८ देखि २१ वर्षभित्र भर्ना भइसक्नुपर्ने प्रावधान छ । तर उनी अधिकृत क्याडेटमै भर्ना मात्र भएनन्, उपरथी भए ।

जंगअड्डा स्रोतका अनुसार, पूर्णचन्द्र थापा प्रधानसेनापति भएका बेला नै उनको जन्ममितिमाथि प्रश्न उठेको थियो । जन्ममिति विवाद भएका थुप्रै उच्च सैन्य अधिकृतहरुको तत्कालीन सेना प्रमुख थापाले छानबिन गराएका थिए । सार्वजनिक वृत्तमा त्यसको प्रशंसा पनि भएको थियो । तर पाण्डेलाई भने उनले त्यसबेला जोगाएको जंगीअड्डाका उच्च अधिकृतहरु बताउँछन् ।

सैनिक स्रोतका अनुसार, थापानिकट जर्नेल पवनबहादुर पाँडे लगायतसँग निकट सम्बन्ध र भेगीय हिसाबले उनले थापाको साथ पाएका थिए । ‘त्यसबेला निकटस्थहरुको जोडबलमा पछि चिफ हुने बेला जेसुकै होस् भन्दै बढुवा दिइएको थियो’, जंगीअड्डा स्रोत भन्छ, ‘थापा लमजुङका थिए, पाण्डे तनहुँका हुन् ।’ थापाअघिका प्रधानसेनापति राजेन्द्र क्षेत्री र पाण्डे जिल्लावासी पनि हुन् । त्यसैले उनले क्षेत्रीको पनि बलियो साथ पाएका थिए ।

तर अहिलेका प्रधानसेनापति प्रभुराम शर्माले पनि उमेर विवादलाई ‘आँखा चिम्लिएर’ उनलाई रथी बढुवाका लागि सिफारिस गर्नु ‘रहस्यमय’ भएको अधिकृतहरु बताउँछन् । स्रोतका अनुसार, पाण्डेको जन्ममिति विवादबारे प्रधानसेनापति शर्मा जानकार थिए ।

अझ गएको जेठ अन्तिम साता काठमाडौंको होटल सोल्टीमा भएको एउटा घटनालाई लिएर पाण्डेविरुद्ध ‘कोर्ट मार्सल’ गर्नुपर्ने माग समेत सेनाभित्र उठेको थियो । तर, पूर्वमाओवादी लडाकू समेत रहेका सहायक रथी यम अधिकारीको पदावधि थप गरेको भनेर आलोचना भइरहेका बेला शर्माले त्यसलाई मथ्थर पार्न पाण्डेलाई बढुवा सिफारिस गर्ने सूचना प्रकाशित गरेका थिए ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले यसअघि भने झैँ हरेक तहको बढुवामा सैनिक सचिव विभागबाट प्रमाण–पत्र जाँच हुन्छ भने त्यसबेला उनी कसरी जोगिए भन्ने प्रश्न  पनि जंगीअड्डातर्फ तेर्सिएको छ

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी कृष्णप्रसाद भण्डारीले पाण्डेको जन्ममितिको विषयमा पहिल्यै निर्क्यौल गरेर मात्र बढुवा सिफारिसको सूचना प्रकाशित भएको बताएका थिए ।

‘यो विषय पहिल्यै सम्बन्धित शिक्षण संस्थाबाट यकिन गरिसकेको कुरा हो, अहिले आएर निस्किएको कुरा होइन’, उनले भनेका थिए, ‘फेरि हरेक तहको बढुवामा सैनिक सचिव विभागबाट कागजातको सक्कल प्रमाण–पत्र जाँचपछि मात्र बढुवाको निर्णय हुन्छ, त्यो सबै जाँचेरै उहाँ यो दर्जासम्म आइपुग्नु भएको हो ।’

तर अहिले सेनाकै छानबिनबाट उपरथी पाण्डेको जन्ममितिमा कैफियत देखिएको पुष्टि भएको छ । यसले सेना जस्तो संगठनमा प्रधानसेनापति बनाउनुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि किन गम्भीरतापूर्वक जाँच गरिएन भन्ने प्रश्न समेत उठाएको छ ।

अझ सहायक रथी भण्डारीले भने झैँ हरेक तहको बढुवामा सैनिक सचिव विभागबाट प्रमाण–पत्र जाँच हुँदा पनि उनी कसरी जोगिए भन्ने प्रश्न पनि जंगीअड्डातर्फ तेर्सिएको छ ।

‘हरेक पटक बढुवामा सिटरोलको सम्पूर्ण विवरण जाँच गरिन्छ भने अधिकृत क्याडेटबाट सहायक सेनानी, उपसेनाननी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायक रथी र उपरथीसम्म उनी कसरी आए ?’, नेपाली सेनाका एक पूर्वसहायक रथी भन्छन्, ‘सेनाकै प्रवक्ताले भनेको विषयलाई जोड्ने हो भने यत्रो दर्जासम्म बढुवा हुँदा सैनिक सचिव विभाग कहाँ चुक्यो भन्ने अब खोजी हुनुपर्छ कि पर्दैन ?’

हरेक तहमा बढुवा दिनेहरुलाई यसमा जिम्मेवार बनाउनुपर्छ कि पर्दैन भन्ने प्रश्न उठेको पूर्वसैनिक अधिकृतहरु बताउँछन् ।

अझ गम्भीर प्रश्न चाहिँ सैनिक नेतृत्वले पाण्डेको जन्ममिति विवादबारे गाइँगुइँ चलिरहेकै बेला उनलाई भावी सेना प्रमुखको रोलक्रममा राख्ने गरी किन बढुवा सिफारिस सम्बन्धी सूचना निकाल्यो भन्ने पनि रहेको जानकारहरु बताउँछन् ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भने भर्ना प्रक्रियादेखि नै सचेत हुनुपर्नेमा जोड दिन्छन् ।

पछिल्लो पटक फागुन २०७९ मा नेपाल प्रहरीमा महानिरीक्षक बन्ने प्रतिष्पर्धामा रहेका डीआईजी अशोक सिंहले जन्ममिति विवादकै कारण राजीनामा दिनुपरेको उल्लेख गर्दै उनले भने, ‘यसमा जसा’ब वा सिंह सा’बको मात्र दोष होइन । त्यतिबेला भर्ना गराउने मान्छेहरु चाहिँ छानबिनको दायरामा आउनु पर्छ कि पर्दैन भन्ने प्रश्न हो ।’

राजीनामा गराएर सधैँ उन्मुक्ति

नेपाली सेनाका उच्च अधिकृतहरुको जन्ममितिको विवाद पहिलो पटक सतहमा आएको विषय होइन ।

विगतमा गौरव शम्शेर राणा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा सेना प्रमुख भएका बेला उपरथी जगदिशचन्द्र पोखरेल, देवकुमार सुवेदी, दिपक भारती, सहायक रथी प्रदीप अधिकराी, रवीन्द्रदास श्रेष्ठ, ज्ञानेन्द्र रायमाझीसहितका अधिकृतहरुलाई पहिले अवकाश हुने मितिले घर पठाएर ‘सेफ ल्याण्डिङ’ गराइएको थियो ।

सेनाभित्र देखिएका यस्ता गम्भीर विषयमा राजीनामा र पहिले अवकाश हुने मितिबाट घर पठाउने गरेर थप कारबाहीबाट उन्मुक्ति दिने गरिएको विगतले देखाउँछ ।

‘भर्ना हुनै योग्य नभएका व्यक्तिले कीर्ते गरेर सरकारी निकायमा जागिर खानु, दोहोरो नागरिकता र प्रमाण–पत्रहरुमा जन्ममिति गैरकानूनी रुपमा केरमेट गर्नु जस्ता विषयहरु राजीनामा दिएर मात्र उन्मुक्ति दिन मिल्ने विषयहरु हुन् ?’, एक पूर्वउच्च सैनिक अधिकृत प्रश्न गर्छन् । यसको जवाफ जंगीअड्डासँग अपेक्षित छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?