
२६ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेश पुगेर १६ औँ योजनाका लागि सुझाव लिएको छ । १६ औं योजनाको तयारीमा जुटेको आयोगले पहिलो पटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो ।
आयोगकी सदस्य डा. अनिता शाह ढुंगाना आयोगको नेतृत्व गर्दै सुदूरपश्चिम प्रदेश पुगेकी थिइन् । आयोग सदस्य डा. शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री तथा सबै मन्त्री सहभागी भए ।
२१–२२ कात्तिकसम्म चलेको छलफल कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले १६ औं योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन् ।
सुझाव दिने धेरैले संघीयताको मर्म अनुसार आगामी योजना बनाउनु पर्नेमा जोड दिएका छन् ।
आयोग सदस्य डा. शाहले कार्यक्रम एकदमै सभ्य र भव्य रुपमा सम्पन्न भएको बताइन् ।
आयोगले अहिले केवल दस्तावेजका लागि मात्रै नभएर साँच्चिकै यथार्थपरक योजना बनाउने उनले बताइन् ।
तल्लो तहबाटै वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएकाले तल तहसम्म सुझाव लिन पुगेको उनले जानकारी दिइन् ।
आयोगले ६ वटा प्रदेशमा सदस्यको नेतृत्वमा टोली बनाएर पठाएको थियो ।
कोशी प्रदेशमा सदस्य डा. आरपी विच्छाको नेतृत्वमा टोली पुगेको थियो भने मधेश प्रदेशमा डा. जयकान्त राउत, बागमती प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. रामकुमार फुयाँल र सुदूरपश्चिममा डा. अनिता शाह ढुंगाना नेतृत्वको टोली पुगेको थियो ।
कर्णाली प्रदेशमा भने भूकम्पको पीडा रहेकाले कार्यक्रम स्थगन गरिएको छ ।
प्रतिक्रिया 4