+
+

टिकटक प्रतिबन्धको निर्णयमा कांग्रेसबाटै प्रतिवाद

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते २०:११

२७ कात्तिक, काठमाडौं । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको चार दिन पछि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने भन्दै निर्देशिका ल्याएको सरकारले त्यसको कार्यान्वयन प्रक्रिया सुरु नगरी टिकटक प्रतिबन्ध गरेको हो ।

टिकटक प्रतिबन्धको निर्णयको पक्ष र विपक्ष दुबैथरि मत सार्वजनिक भएका छन् । राजनीतिक दलका कतिपय नेताहरुले टिकटकमाथि प्रतिबन्धको विपक्षमा धारणा राखेका छन् । उनीहरुले टिकटकलाई मर्यादित बनाउन सरकारले नियम बनाउनुपर्नेमा प्रतिबन्ध लगाउनु उचित नहुने धारणा राखेका छन् ।

सरकारको निर्णयका विषयमा सत्तारुढ दल नेपाली कांग्रेसले औपचारिक धारणा दिएको छैन । मन्त्रिपरिषद्मा कांग्रेसबाट ९ जना मन्त्री भएकाले उनीहरु निर्णय प्रक्रियामा नै सहभागी नै भए ।

टिकटक बन्द गराउने सरकारी तयारीमा सभापति शेरबहादुर देउवा जानकार रहेपनि उनले पार्टीभित्र छलफल नगराएको एक नेताले बताए । देउवाले पदाधिकारी बैठक वा शीर्ष तहका नेतासँग छलफल गर्न आवश्यक देखेनन् ।

सरकारले टिकटकमाथि प्रतिबन्धको निर्णय गरेको केहीबेरमा नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विपक्षमा धारणा सार्वजनिक गरेका छन् ।

थापाले टिकटकमा प्रतिबन्ध लगाएर सरकार उल्टो बाटो हिंडेको बताए । ‘यसमा सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन’, थापाले भनेका छन् ।

महामन्त्री शर्माले गर्धनमा पिलो आयो भन्दैमा गर्धन काट्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । शर्माले भनेका छन्, ‘आज टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रियो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने प्रधानमन्त्रीज्यू ?’

कांग्रेस नेता प्रदीप पौडेलले सामाजिक सञ्जालहरु सूचना र मनोरञ्जनका लागि मात्र नभई व्यवसाय सञ्चालनमा समेत सहयोगी बन्दै आएको बताए ।

राज्यले सामाजिक सञ्जालको प्रयोग रोक्ने नभई दुरुपयोग हुन नदिन कडाइ गर्नुपर्ने उनको भनाइ छ । ‘उचित कानुनी दायराभित्र रहने गरी निरन्तर सञ्चालन गर्न दिइयोस्’, केन्द्रीय सदस्य पौडेलले भने ।

अर्का केन्द्रीय सदस्य नैनसिंह महर सरकारी निर्णय अभिव्यक्ति स्वतन्त्रताका स्थापित अन्तर्राष्ट्रिय सीमा विपरीत मात्र नभई संविधानको परिकल्पना विपरीत भएको बताए ।

कांग्रेसका संस्थापन पक्षका शीर्ष तहका नेताले सरकारी निर्णयको विषयमा मुख खोलेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका देउवा पक्षीय नेता रमेश रिजाल टिकटक प्रतिवन्धबारे आफू केही नबोल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?