
२८ कात्तिक, काठमाडौं ।आजदेखि नेपाल संवत् ११४४ सुरु भएको छ । देशभर विविध कार्यक्रम आयोजना गरेर नेपाल संवतको नयाँ वर्ष मनाइँदैछ ।
खासगरी नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं उपत्यका लगायत देशैभर हर्षउल्लासका साथ नेवार समुदायले नयाँ वर्ष मनाइरहेका छन् ।
काठमाडौंको बसन्तपुरमा विभिन्न संघसंस्थाको आयोजनामा नेपाल संवत ११४४ को अवसरमा झाँकीसहित कार्यक्रमम गरी मनाइएको छ । भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा प्रधानमन्त्री प्रचण्डकै उपस्थितिमा विशेष कार्यक्रम गरिएको छ । त्यहाँ नेपाल संवतका प्रवर्तक साख्वाको प्रतिमामा माल्यार्पण पनि गरिएको छ ।
यसबाहेक यहाँका टोलटोलमा समेत कार्यक्रम गरेर मनाइएको छ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।
नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिकक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा अझै छ ।
आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।
प्रतिक्रिया 4