३० कात्तिक, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी दाजुभाइ निर्मल र निराजन श्रेष्ठले कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग जुटाएका छन् ।
श्रेष्ठ दाजुभाइले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई २० लाख रुपैयाँ बराबरको २ सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
उक्त सामग्री खरिद गर्न दाजुभाइसहित अस्ट्रेलिया बस्ने सक्षम कार्की, रञ्जन श्रेष्ठ, मनोज मल्ल, ज्ञानेन्द्र मल्ल र भुपेन श्रेष्ठ तथा मकाउ बस्ने राकेश केसीले सहयोग गरेका हुन् । सबै तेक्वान्दो खेलाडी हुन् ।
मुख्य प्रशिक्षक श्रेष्ठका अनुसार सहयोगी सबै कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन हुन् । निर्मल र निराजनले पाकिस्तानमा भएको नवौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका थिए । दुवै विगत १८ वर्षदेखि ओमेरिकाको ओरेगनमा बस्दै आएका छन् । त्यहाँ पनि उनीहरुले तेक्वान्दो एकेडेमी चलाउनुका साथै मुख्य गरी व्यवसायमा संलग्न छन् । उनीहरु सेभेन इलेभेन मार्ट सञ्चालन गर्छन् ।
दुवैले संगै एसियाली खेलकुद (बुसान एसियाड) पनि खेलेका थिए । निराजनसंग विश्व तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव पनि छ । परिवारसहित चाडपर्वका लागि नेपाल आएका दुवै बिहीबारै अमेरिका फर्केका छन् ।
कार्यक्रममा निराजनले नेपालकै चर्चितमध्येको एक र राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाएका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउदै खेलाडीको समस्यामा हरदम साथ रहने प्रतिबद्धता जनाए ।
‘म र मेरो दाइ (निर्मल) पनि कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हौं । मेरो दाइ (नवीन) हाम्रो गुरु हो । कोटेश्वर तेक्वान्दो डोजाङको काम प्रशंसनीय छ । खेलाडी उत्पादनमा डोजाङको भूमिका तारिफ योग्य छ । त्यसैले हामी आफै र अरुसंग पनि सहयोग जुटाएर सानै भएपनि सहयोग गरौं भनेर सामाग्री दिएका हौं । आउने दिनमा पनि सक्दो सहयोग गर्छौ’, निराजनले भने ।
निराजनले खेल जीवनमा उतार चढाव आइरहने बताउदै खेलाडीले कुनै एउटा अवसर गुमाउदैमा निराश हुन नहुने बताउँदै निरन्तरतानै सफलताको कडी भएको बताए । उनले ओलम्पिकमा पदक जित्ने आफ्नो चाहना पूरा नभएपनि कुनै दिन कोटेश्वर तेक्वान्दो डोजाङका खेलाडीले आफ्नो अधुरो चाहना पूरा गर्नेमा आफू आशावादी रहेको बताए ।
निर्मलले आफू विदेशमा भएपनि नेपाली तेक्वान्दो र खेलाडीलाई सहयोग गर्न कहिले पछि नहट्ने प्रतिबद्धता जनाउदै खेलाडीलाई अनुशासित र लगनशील भएर खेलमा लाग्न सुझाए ।
मुख्य प्रशिक्षक श्रेष्ठले सहयोगका लागि सबैलाई धन्यवाद दिँदै यस्ता सहयोगले डोजाङकर्मीको हौसला अभिवृद्धि गर्ने बताए ।
प्रतिक्रिया 4