
३ मंसिर, विराटनगर । स्थानीय प्रशासनले अनुमति नदिएपछि मुस्लिम समुदायले आयोजना गर्न लागेको धार्मिक सभा ‘इज्तेमा’ स्थगित भएको छ ।
सुनसरीको दुहबी र इटहरीमा इज्तेमा आयोजनाका लागि अस्थायी संरचना निर्माण गरिएको थियो । तर, प्रशासनले अनुमति नदिएपछि स्थगित भएको हो ।
देशको पछिल्लो परिस्थितिका कारण तत्काललाई धार्मिक सभा स्थगन गर्ने सहमति भएको कोशी प्रदेश सांसद तथा मुस्लिम समुदायका अगुवा इस्राइल मन्सुरीले बताए ।
उनका अनुसार सुरुमा आयोजना गर्ने तयारी भएको सभामा नेपाल भारतसहित अन्य देशबाट सहभागि हुने तयारी थियो । तर पछि सुनसरी र मोरङबाट मात्रै सहभागि हुने गरी कार्यक्रम गर्ने तयारी थियो ।
देशको पछिल्लो परिस्थीति र प्रशासनको आग्रहपछि अहिलेलाई स्थगित गर्ने सहमति भएको उनले बताए । धार्मिक सभा केही समयपछि गर्ने उनले बताए । ‘इज्जेता निरन्तर भइरहन्छ, यो पटक सुनसरीमा गर्ने तयारी थियो,’ उनले भने,‘मंसिर ७ गतेको आन्दोलन र छठ पनि परेका कारण अहिलेलाई स्थगित गर्ने सहमति भयो ।’
यसअघि धार्मिक सभाका लागि अनुमति माग्न गएको टोलीलाई गृह मन्त्रायले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै तत्काललाई कार्यक्रम नगर्न आग्रह गरेको थियो ।
सुनसरीको इटहरीस्थित खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म मुस्लिम धर्म सभा इज्तेमा कार्यक्रम आयोजना गर्ने तयारी भएको थियो ।
प्रतिक्रिया 4