बदाममा धेरै पोषक तत्व पाइन्छ । प्रोटिनको राम्रो स्रोत बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । तर खाने विधि जानिएन भने यसले फाइदाको सट्टा बेफाइदा पनि पुर्याउन सक्छ ।
बदामलाई मात्रा मिलाएर नखाँदा यसले कब्जियतको समस्या ल्याउन सक्छ । किनकि यसमा उच्च मात्रामा प्रोटिन चिल्लो र फाइबर हुन्छ । साथै बदामको बोक्रामा बायोएक्टिम पोषक तत्व हुन्छ । जसलाई शरीरले सजिलै पचाउन सक्दैन । जसले पेटसम्बन्धी विभिन्न समस्या ल्याउन सक्छ ।
त्यसैले व्यायाम नगर्ने मानिसले यसको प्रयोग नगर्न पनि सुझाव दिइन्छ । खाएर सुत्ने वा टेबल वर्क गर्ने मान्छेले यसको दैनिक सेवनले फाइदा भन्दा बेफाइदा बढी हुन सक्छ ।

मिर्गौलाको समस्या
बदाममा उच्च प्रोटिन माइक्रोन्युट्रिसियन हुन्छ । यसमा पाइने उच्च पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस र भिटामिन सहजै पच्दैन । पेटभित्रको खाना नपच्दै अर्को उच्च प्रोटिन पेटमा गएमा त्यो मिर्गौलामा जम्मा भएर बस्छ । यसले मिर्गौलाको समस्या भएका बिरामीलाई थप समस्या निम्त्याउन सक्छ ।
मोटोपन
बदामलाई मोटोपन घटाउन पनि खाइन्छ । यसमा भएको उच्च प्रोटिनले शरीरलाई ऊर्जा दिन्छ । पचाउन समय लाग्ने भएकाले भोक ढिलो लाग्छ र खाना कम खाइन्छ । जसले गर्दा मोटोपन घट्छ । तर यसमा फ्याटको मात्रा बढी हुने भएकाले आवश्यकताभन्दा बढी खाएमा मोटोपना बढ्न सक्छ ।
फुड एलर्जी
कसैकसैलाई फुड एलर्जी हुन्छ । फुड एलर्जी भएका व्यक्तिले खाएमा छाला चिलाउने, फोका-फोका आउने, सुन्निने, रातो-रातो डाम समस्या हुन सक्छ ।
एसिडिटी बढ्छ
बदामले शरीरमा गर्मी बढाउँछ । जसले एसिडिटी बढ्ने, नाकबाट रगत बग्ने, छातीमा समस्याका साथै बेहोस हुने समेत हुन सक्छ ।
कसरी र कति खाने ?
बदामलाई एक रातअघि नै भिजाएर वा बोक्रा निकालेर खानु उपयुक्त हुन्छ । एकपटकमा पाँचदेखि २० वटासम्म खान सकिन्छ ।
(आहारविद् डा. अधिकारीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4