
४ मंसिर, काठमाडौं । काठमाडौंको गैरीधारास्थित सान इन्टरनेसनल कलेज घरभाडा नतिरी सम्पर्कविहीन भएको छ । काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार घरबेटीले भाडा नदिई कलेज सरेको गुनासो गरेपछि महानगरपालिकाले अनुगमन गरेको थियो ।
कोइराला भन्छन् ‘घरबेटीको गुनासो आएपछि हामी तुरुन्तै गएर हेर्दा ढोका लगाएको छ । ढोका बाहिरबाट हेर्दा ठाउँ छोडेको जस्तो देखिन्छ ।’
कलेजले स्थानान्तरणका लागि विद्यार्थीको सहमतिमा महानगरपालिकाको शिक्षा विभागबाट स्वीकृति लिनुपर्छ । तर त्यस्तो अनुमति नलिएको र घरभाडा पनि नतिरेको पाएइएको शिक्षा अधिकारी कोइरालाले बताए ।
महानगरको शिक्षा विभागले राष्ट्रिय परीक्षा बोर्ड र काठमाडौं जिल्ला शिक्षा समन्वय इकाइलाई विना जानकारी विद्यालय सञ्चालनमा नआएको पाइएको र रजिष्ट्रेसन प्रक्रियामा स्थानान्तरण प्रक्रिया रोक्का गर्न पत्राचार गरेको छ ।
तर अहिलेसम्म अभिभावक तथा विद्यार्थीको गुनासो नआएको शिक्षा अधिकारी कोइराला बताउँछन् ।
कलेजका आधिकारिक व्यक्तिसँग सम्पर्क हुन नसकेको र विद्यार्थी तथा अभिभावक गुनासो गर्न नआएकाले विद्यार्थी संख्यालगायत कलेजका अन्य विवरण पत्ता लगाउन नसकिएको उनले बताए ।
कलेजले कक्षा ११, १२ र पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थपन संकायको बीबीए र विज्ञान संकायको बीएससी बायोटेक्नोलोजी कार्यक्रम सञ्चालन गर्दै आएको थियो । पूर्वाञ्चल विश्वविद्यालय कलेजको पछिल्लो अवस्थाबारे जानकार नभएको व्यवस्थापन संकायकी सहायक डीन सोनिला शाक्यले बताइन् ।
सान कलेजका अध्यक्ष डा. सुवास घिमिरेले भने कलेज चन्द्रागिरि नगरपालिकाको नैकापमा रहेको आफ्नै भवनमा सार्ने प्रक्रियामा रहेको बताए । कलेजले पूर्वाञ्चल विश्वविद्यालयसँग ठाउँ स्थानान्तरण गर्ने र महानगरपालिकामा पनि प्रक्रिया अगाडि बढाइसकेको उनले बताए ।
‘सीताराम सरले के आधारमा सम्पर्कविहीन भन्नुभयो तर हामी महानगरपालिकाका नेत्रनारायण पौडेल र खगराज जोशीसँग निरन्तर सम्पर्कमा छौं,’ घिमिरेले भने ।
प्रतिक्रिया 4