
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोगापेक्षी सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन हुने गरी आगामी संसद अधिवेशनमा विधेयक पेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मानव सेवा आश्रमले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।
मानव सेवा आश्रमलाई सहयोगापेक्षी सडक मानव उद्धारका लागि आतिआवश्यक पर्ने भवन, जग्गा, बाहनलगायतका सेवा उपलब्ध गराउन पनि सरकार प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री दाहालले बताए ।
उनले त्यस अवसरमा सबै प्रदेशमा एक/एक वटा सडक आश्रित मानव उद्दारका लागि आजैबाट सञ्चालनमा आउने गरी सवारी साधन उपलब्ध गराउने घोषणा समेत गरे ।
प्रधानमन्त्री प्रचण्डले सडक मानव मुक्त बनाउने नेपाल सरकारको घोषणा पूरा गर्नका लागि एक महिना भित्र मन्त्रिपरिषदबाट ठोस योजना बनाई अघि बढ्ने संकल्प समेत गरे ।
उनले भने, ‘बेवारिसे, असहाय, अशक्त, जोखिममा परेका, मानसिक असन्तुलन भएका, सहयोगापेक्षी सडक आश्रित मानिसहरुको समुचित व्यवस्थापन गर्न आउँदो संघीय अधिवेशन सम्म नेपाल सरकारले सो सम्बन्धि विधेयक तयार गरी पेश गर्ने प्रतिवद्धता म व्यक्त गर्न चाहन्छु ।’
प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहको सरकारलाई पनि सडक सहयोगोपेक्षी मानवहरुको उचित व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने बताए ।
कार्यक्रममा उनले मानव सेवा आश्रमले मानवीय सेवाका लागि गरेको कार्यक्रममा निरन्तरताको पनि कामना गरेका थियो ।
प्रतिक्रिया 4