+
+

लेखाका कर्मचारीको सरुवामा सधैं अलमल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १८:२६

४ मंसिर, काठमाडौं । यो वर्ष पनि लेखा समूहका कर्मचारीहरुको सरुवामा ढिलाइ भएको छ । तोकिएको समयभन्दा करिब २ महिना ढिला हुँदा समेत महालेखा नियन्त्रक कार्यालय लट सरुवाबारे अनिर्णित छ ।

गत वर्षहरुमा पनि महालेखा नियन्त्रक कार्यालयले तोकिएको समयमै कर्मचारीहरुको ‘लट’ सरुवा गर्न सकेको थिएन । करिब लेखाका ४ सय कर्मचारीहरु सरुवाको प्रतीक्षा छन् । तर, विभिन्न कारण देखाएर महालेखा नियन्त्रक कार्यालयले कर्मचारीहरुको सरुवा गरेको छैन ।

गत वर्ष पनि महालेखाले १७ पुसमा मात्रै कर्मचारीहरुको नियमित लट सरुवा गरेको थियो । सोभन्दा अघिल्लो वर्ष ९ पुसमा यस्तो सरुवा भएको थियो । यो वर्ष पनि महालेखाले तत्कालै कर्मचारीहरुको सरुवा गर्ने छाटकाट देखिएको छैन । लेखा समूहका कर्मचारीको सरुवा व्यवस्थापन महालेखाले नै गर्ने गरेको छ ।

निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम छ ।

त्यसकै आधारमा क्षेत्रीय (प्रदेश) स्तरका निकायहरुले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र सरुवाको निर्णय गर्नुपर्ने हुन्छ । तालिकाबाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ ।

देशभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयसहित निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयहरुबाट कर्मचारीहरु सरुवा गर्नुपर्नेछ भने विभिन्न संघीय मन्त्रालय र कार्यालयमा लेखामा कार्यरतहरु पनि सरुवाको प्रतिक्षामा छन् । लेखा अन्तरगत हाल करिब ४ हजार कर्मचारी कार्यरत छन् ।

महालेखाले जरुरीबाहेक उपसचिव (प्रमुख लेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रक) लेखा तथा कोष अधिकृत सहित लेखापालहरुको सरुवा गर्न सकेको छैन । किन कर्मचारीको नियमित सरुवा हुन सकेन त ? महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक तथा सूचना अधिकारी गायत्रीरमण खनाल गत आर्थिक वर्ष २०७९/८०को हिसाब भिडानको काम नसकिएकाले लट सरुवाको ढिलाइ हुन पुगेको बताउँछन् ।

‘अब प्रतिवेदनहरु तयार भएर आउन थालेका छन्, हिसाव भिडानको काम सकिएपछि नियमित लट सरुवा हुन्छ,’ खनालले भने,‘गत वर्षहरुमा पनि यस्तै कारणले केही ढिला गरी सरुवा भएकाले २ वर्षको अवधि पनि पुग्दैछ ।’ हिसाब भिडान नगरी कर्मचारी सरुवा गर्दा भविष्यमा लेखासम्बद्ध समस्याहरु बढ्ने भएकाले तोकिएको जिम्मेवारी पुरा गरेपछि मात्रै सरुवा गर्ने योजनामा महालेखा छ ।

‘आवश्यक भएको ठाउँमा लेखाका कर्मचारीहरु सरुवा भएर गइरहनु भएको छ, लट सरुवा मात्रै नभएको हो,’ सूचना अधिकारी खनालले भने,‘अब यस्तो सरुवा गर्न धेरै समय लाग्दैन ।’

महालेखाले सरुवा तथा काज व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने व्यवस्था गरेको छ । यसअनुसार कार्य प्रकृति, कार्यबोझ, भौगोलिक क्षेत्र, कार्य सञ्चालन, कोष सञ्चालन एवम् व्यवस्थापन, आन्तरिक लेखा परीक्षण केन्द्रीय लेखा सम्बन्धी अनुभव समेत दिलाउने उद्देश्यले सरुवा गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?