+
+

भुवन केसीको गोवा भ्रमण : नेपाली फिल्मको विदेशी बजारमा ढोका खुल्ला ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १८:१५

काठमाडौं । भुवन केसी यतिबेला भारतको गोवा भ्रमणमा छन् । उनको यो भ्रमण सेलिब्रिटी हैसियतमा नभएर चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा भइरहेको छ ।भारतको यो पर्यटकीय थलोमा चलिरहेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा केसी पाहुनाको रुपमा रहनेछन् । साइडलाइनमा ‘फिल्म बजार-२०२३’ आयोजना भइरहेको छ । पहिलोपटक नेपालले कुनै विदेशी भूमिमा स्टल खडा गरेर फिल्म बजार खोज्ने सपना देखिरहेको छ ।

यसका लागि भुवन चार दिनसम्म गोवामा हुनेछन् । बिना कुनै तयारी अकस्मात् त्यता निस्किएका उनले काठमाडौं विमानस्थलमा मिडियासँग कुरा गर्दै उनले सम्भावित आलोचनातर्फ लक्षित गर्दै उत्तर दिए, ‘अहिलेलाई संघसंस्थाका प्रतिनिधि र पत्रकार समेट्न सकिएन, अर्कोपल्ट समेट्ने प्रयास गर्छौं ।’

भुवनको गोवा भ्रमणअघि नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन थलोको रुपमा विकास गर्ने सरकारी सपनातर्फ हेर्नुपर्ने हुन्छ । पछिल्लो १० वर्षमा जति सरकार आए, ती सबैको नीति तथा कार्यक्रम र बजेटमा ‘फिल्म डेस्टिनेसन’कै मुद्दाले चर्चा पायो । यतिबेला त्योसँगै विदेशी फिल्म बजारको कुराले महत्व पाउन थालेको छ ।

तर फितलो कार्यान्वयनले गर्दा लोकेसन र फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारी योजना अलपत्र बनिरहेको छ । यो पृष्ठभूमिमा भुवन गोवा भ्रमणमा निस्किएका छन् । उनको यो भ्रमण सिक्ने र बुझ्ने योजनाबाट प्रेरित देखिन्छ । किनभने, उनी कुनै तयारीबिनै निस्किएका छन् । फिल्मलाई सांस्कृतिक कूटनीतिको माध्यम मान्ने हो भने उनीसँग फेस्टिभलमा संयुक्त लगानीका प्रोजेक्ट पिचिङ गर्ने, विदेशी फिल्मलाई सुटिङ गर्दा अनुदान सुविधा दिने, नसके भ्याट सहुलियत दिने वा भारतको फिल्म निकायसँग द्विपक्षीय वार्ताका कुनै एजेण्डा बन्न सक्थे ।

ठीक यही समयमा दुई कुरा मिडियामा आएका छन्- जुन नेपालका लागि अनुकरणीय हुन सक्छन् । गोवा फिल्म फेस्टिभलको उद्घाटन गर्दै भारतका केन्द्रीय सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले विदेशी फिल्मको छायांकन गर्न भारत सरकारले ४० प्रतिशत अनुदान सहुलियत दिने घोषणा गरे । क्याप सीमा पनि ३०० मिलियन भारु पुर्‍याइएको छ ।

अर्कोतर्फ, यस वर्षको अन्तर्राष्ट्रिय ब्लकबस्टर फिल्म ‘बार्बी’ले छायांकनको क्रममा बेलायती अर्थतन्त्रमा ८० मिलियन पाउण्डको योगदान गरेको बीबीसीले जनाएको छ । वितरण कम्पनी वार्नर ब्रदर्सका अनुसार यो फिल्मले ६८५ जनालाई रोजगारी दिएको छ, ६ हजारभन्दा अतिरिक्त रोजगारी सिर्जना गरेको छ । ७५४ स्थानीय व्यापारीलाई प्रत्यक्ष फाइदा पुगेको छ र स्थानीय ज्यालामा ४० मिलियन पाउण्ड भुक्तानी गरेको छ ।

यी उदाहरण यहाँ पेश गर्न किन जरुरी छ भने भारत र बेलायतजस्ता ठूला अन्तर्राष्ट्रिय फिल्म बजारले विदेशी फिल्म छायांकनलाई किन महत्व दिइरहेका छन् र यसले राष्ट्रिय अर्थतन्त्रमा कति योगदान पुग्छ भन्ने पुष्टि भएको छ । तर दशकौं लामो फिल्म यात्रामा नेपाल सरकारले अन्तर्राष्ट्रिय फिल्म बजारको खोजी गर्ने ठोस कार्यक्रम गर्न सकेको छैन ।

सरकारले सहुलियत अनुदान दिन नसक्दा चाहेर पनि विदेशी फिल्म नेपालमा आउन सकेका छैनन् । चाहे त्यो, ‘आइसरोड’ होस् या एक्सपेन्डेबल जस्ता ब्लकबस्टर हलिउड फिल्म । यी सबैले विदेशमा नेपालको सुटिङ सेट खडा गरेर त्यहीं छायांकन गरिरहेका छन् । अनुदान त परै जाओस्, भ्याट रकम फिर्ता गर्ने सहुलियत पनि दिन नसक्दा विदेशी फिल्म नेपालमा आउन सकिरहेका छैनन् । बरु सरकारले चलचित्र नीतिमार्फत विदेशी फिल्मको सुटिङलाई कस्ने नीति अख्तियार गरेको देखिन्छ । यसरी नेपाल आउने रकम पनि विदेशिएको देखिन्छ ।

हालैको कान्स फिल्म फेस्टिभलमा भारतले स्टल नै खडा गरेको थियो । त्यहाँ उपस्थित भारतीय प्रतिनिधिलाई सिक्किम फिल्म प्रवर्द्धन बोर्डकी अध्यक्ष पूजा शर्माले नेपालसँग संयुक्त लगानीका लागि प्रस्ताव गर्नुपर्ने कुरा राखेकी थिइन् । नेपालको चलचित्र विकास बोर्डले प्रस्ताव गरेको खण्डमा भारत सकारात्मक रहेको जवाफ उनले दिएका थिए । तर बोर्ड यतिबेला मौन मात्र होइन अनेक विवादले रुमल्लिएको देखिन्छ । साथै, बोर्ड अन्तर्गतको अन्तर्राष्ट्रिय समिति नाम मात्रको देखिन्छ ।

यी समग्र तयारी र योजना थाँती राख्दै भुवन केसी अकस्मात् गोवा लागेका छन् । अन्तर्राष्ट्रिय बजारको अनुभव बटुलेका नेपाली फिल्ममेकरलाई साथमा लिएर जान उनी चुकेको देखिन्छ । ‘उहाँ एक्लै गएर हुँदैन । बोर्ड आफैंले मात्र गरेर केही हुँदैन । जसले काम गरिरहेका छन्, उनीहरुलाई पनि साथमा लिएर जानुपर्छ । त्यहाँ गएर केही गर्नेभन्दा पनि सिकेर आउने हो । सोही अनुसार नीति बनाउन सजिलो हुन्छ,’ नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा सक्रिय फिल्ममेकर रामकृष्ण पोखरेलको टिप्पणी छ ।

‘नेपालले इण्डियाबाट फाइदा लिनेभन्दा पनि सिक्ने कुरा हो । किनभने सरकारले छायांकनलाई बेवास्ता गरेको छ । हाम्रो अनुभव पनि प्रयोग हुनसक्थ्यो तर उहाँहरुले अप्रोच गर्नुभएन,’ पोखरेल भन्छन्, ‘अवश्य पनि गोवा राम्रो प्लेटफर्म हो । केही कुरा सिक्न सके नेपाली फिल्मलाई प्रमोसन हुने हो । बोर्डले उक्त स्पेसबाट फाइदा लिने वातावरणतिर काम गर्नुपर्छ ।’

पोखरेलले भनेजस्तै भुवनका लागि गोवा भ्रमण यतिबेला सिक्ने र बुझ्ने उद्देश्यले मात्र प्रेरित देखिन्छ । यो एक किसिमले सकारात्मक पक्ष हो किनभने चलचित्र विकास बोर्डले कम्तीमा पहिलोपटक अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुने मौका पाएको छ । खासगरी नीतिगत सुधारका लागि भुवन केसीको गोवा भ्रमण महत्वपूर्ण हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?