
काठमाडौं । नेपालमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द रेड सुट्केस’लाई जर्मनीको प्रतिष्ठित मानहायम हेडेलबर्ग फेस्टिभलमा प्रिमियर गरिएको छ । फेस्टिभलको मुख्य प्रतिस्पर्धामा फिल्म छनोट भएको हो ।
प्रिमियरपछि सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माता रामकृष्ण पोखरेलले जानकारी दिए । प्रदर्शनपछि फेस्टिभलमा दर्शकमाझ प्रश्नोत्तर समेत चलाइएको थियो ।
सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको यो फिल्मको वर्ल्ड प्रिमियर चाहिं यस वर्षको प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा भएको थियो । भेनिसमा यसले मेन्सन अवार्ड जित्यो । स्वीट्जरल्याण्डको जुरिच फिल्म फेस्टिभलमा समेत मनोनयन भएको थियो । फिडेल देवकोटा निर्देशित फिल्मले वैदेशिक रोजगारीको सामाजिक असरको कथा भन्छ ।
आइसफल फिल्म्सले निर्माण गरेको यो फिल्मलाई यसै वर्ष हलमा रिलिज गर्ने तयारी छ । आइसफलकै पछिल्लो फिल्म ‘हल्कारा’ आगामी ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको छ ।
‘द रेड सुट्केस’लाई अन्तर्राष्ट्रिय म्यागजिन द युनिभर्सलले भेनिस रिभ्यु गर्दै फिल्म उत्कृष्ट भएको बताएको थियो । गहिरो मानवीय कथाको माध्यमबाट यसले महत्वपूर्ण प्रभाव छाड्ने उल्लेख गर्दै म्यागजिनले यसलाई कलात्मक ऐनाको रुपमा विश्लेषण गरेको थियो ।
प्रतिक्रिया 4