
दिवा पश्यति नोलुक: काको नक्तं न पश्यति।
विद्याविहीनमूढस्तु दिवा नक्तं न पश्यति ।।
हाम्रा शास्त्रहरू मानव सभ्यतासँगै जीवन जगतका महत्त्वपूर्ण पथप्रदर्शक हुन्। उपर्युक्त पंक्तिहरू हितोपदेशका हुन्। ‘उल्लुले दिनमा आँखा देख्दैन भने कागले रातमा। विवेकरहित मूर्खले त न दिनमा देख्छ, न रातमा।’ यसको अर्थ उसले ठिक-बेठीक छुट्याउन सक्तैन। जसले असल र खराब छुट्याउने क्षमता राख्दैन, उसले समाजलाई मार्गनिर्देश गर्न पनि सक्तैन। नेपाली समाज यस्तै प्रवृत्तिको शिकार भएको छ। विभिन्न राजनीतिक दलहरू भित्र त उल्लु र कागहरूको रजाइँ चलिरहेको छ।
माथिका पंक्ति मननीय छन्, किनभने देशमा विवेकहीनहरूको सत्ता छ र मूर्खतापूर्ण शासन जारी छ। समाजका विवेकशील मानिसहरूलाई बलपूर्वक र छलपूर्वक रूपमा पन्छाइएको छ।
यस क्रममा कहिलेकाहीं लाग्छ, परिवर्तन वा रूपान्तरणको वेगलाई समयले र यस्तै प्रवृत्तिले रोकेको हुन्छ भन्ने कुरा इतिहासका घटनाहरूले पुष्टि गर्दा रहेछन्।। समयको प्रतिकूलता र पात्रको अयोग्यताले परिवर्तनलाई केही समयका लागि व्यवधान खडा गरी असम्भव जस्तो बनाइदिंदोरहेछ।
कतिपय फगत पदाकांक्षी पात्रको अपात्रता टिठलाग्दो हुँदोरहेछ। न कुशलता, न गति, न चिन्तन, न त योग्यता नै। यस्ता गतिहीन खेलाडीले कहिलेकाहीं सहयात्रीहरूको मूल मर्ममा निर्मम प्रहार गर्दा रहेछन्। र सुर न तालको तथाकथित संगीत पस्किंदा रहेछन्। यस्ता बोझिल पात्र इतिहासका जोकर प्रमाणित हुन केही समय पर्खनु आवश्यक हुन्छ सायद।
सामान्यतया समयले पर्खंदैन, तर कहिलेकाहीं भने निश्चित कालखण्ड पर्खेर पर्दाफास गर्छ। नेपालको राजनीति र खासगरी विभिन्न राजनीतिक दलहरूभित्र यस्ता अनेकौं दृष्टान्त पाइन्छन्। जसले आफ्नो क्षुद्र स्वार्थका निम्ति मुलुकको राजनीतिलाई नै बन्धक बनाएका छन्। अघि बढ्न खोजेको समग्र राजनीतिको बाटो छेकेका छन्। आर्थिक/सामाजिक उन्नतिलाई क्षीण बनाएका छन्।
कुनै पनि देशका बासिन्दाहरूका निम्ति आफ्नो देशको उन्नति सर्वाधिक मुख्य र पहिलो कुरा हो। देशको उन्नतिको लाभ त्यहाँका नागरिकले उठाउने हो। त्यसैले हरेक नागरिकको भावना देशको उन्नतिसँग जोडिएर रहेको हुन्छ।
अमूर्त जस्तो लाग्ने उपर्युक्त भावना विश्व मानचित्रका हरेक भूगोलका बासिन्दाको हो। उनीहरूको हृदयमा आफ्नो मातृभूमिप्रतिको अगाध प्रेमका कारण त्यसको उन्नति, जनताको सुख र समग्र रूपान्तरण छचल्किएको हुन्छ। यो नै उन्नत भावना पनि हो। यसै भावनाले देश, समाज जोगिएको, चलेको र बनेको पनि छ।
यही प्रेमले ठूल्ठूला लडाइँ र जित, हार पनि भएका छन्। अन्यथा संसारको चित्र अलग्गै हुन्थ्यो सायद। प्रेम र अठोटको प्रतिफल नै गतिशील भूमिका र राष्ट्र निर्माण हो। आजसम्म प्रेम र अठोटले ओतप्रोत संघर्षले मात्र सार्थकता पाएका छन्। र समृद्धिको शिखर चुमेका छन्।
मूलतः मेरो देश, समाज, भाषा, संस्कृति, जाति जस्ता भावनात्मक तत्वहरूले अन्ततः प्रगतिका लागि निर्णायक भूमिका खेल्छन्। जहाँ यी विषयहरूलाई मानिसले आफ्नो जीवनको कार्यसूचीको मुख्य प्राथमिकतामा राखेको हुन्छ। त्यहाँको विकास अवश्यंभावी छ। देशको हरेक नागरिकले सामान्यतया आफूलाई भन्दा बढी माया देशलाई गर्छ। यो भावना अरू प्राणीमा हुँदैन।
त्यसैले समयको गतिसँगै आफूलाई हिंडाउन खोज्छ उसले। तर कहिलेकाहीं सँगै हिंड्नुपर्ने अनेकानेक पात्रहरूको वैयक्तिक स्वार्थको क्षुद्रताले यात्रालाई नै खल्बल्याउने रहेछ। तर हामी सबैलाई थाहा छ, त्यस्ता पात्रहरू इतिहासको गर्तमा विलाउन पुग्छन् या अपात्रताले डामिएर समाजमा मुखै देखाउन नहुने ठाउँमा पुग्छन्। यस्ता पात्रको पुनर्जीवन वा पुनर्स्थापना सम्भव छैन।
कहिलेकाहीं कतिपय नागरिकको उच्च प्राथमिकता आफ्नो जीविकासँग जोडिएको हुन्छ। जीविकाको सुरक्षाले मात्र जीवनका अरू आयामहरू उघ्रन्छन् र पूर्णाकारमा फक्रन्छन्। यो मानवीय जीवनको आधारभूत पक्ष हो। भोकमरी र अभावले पिल्सिएको समाजले कुनै क्षेत्रमा पनि उन्नति गर्न सक्तैन।
तसर्थ राज्य सञ्चालनको आधारभूत शर्त नागरिकको जीविकाको प्रत्याभूति हो। यसको अभावमा समाज एकपाइला पनि अघि बढ्न सक्तैन। संसारभर प्रयोगबाट सिद्ध भएको यथार्थ हो यो। यस दिशामा नसोच्ने राजनीतिक नेतृत्वका कारण दुनियाँका कतिपय देशहरू अभाव र गरीबी झेलिरहेका छन्। नेपालको विडम्वना समेत यही हो। हाम्रा राजनीतिक दल र नेतृत्वको प्राथमिकतामा यो विषय कहिल्यै परेन। भोकै नाङ्गै जीवन गुजारेको नागरिकमा राष्ट्रप्रेम झांगिन असम्भव हुन्छ।
आजसम्म के गर्यो वादले ?
नेपालका राजनीतिक दलहरूमा आजसम्म ‘वाद’ को विवाद जारी छ। हुन त दुनियाँभरमै यस्तो द्वन्द्व चलिरहेको पाइन्छ। तर उनीहरू यस्ता द्वन्द्वलाई छिचोलेर अघि बढे र मुकाम हासिल गरे। नेपालमा भने तर्कहीन र अर्थहीन द्वन्द्व निरन्तर छ। अब प्रश्न उठ्छ, यसमाथि जति बहस भयो, परिणाम के आयो त ? जति समय र शक्ति खर्च भयो, उपलब्धि के भयो त ?
नेपालको राजनीतिक इतिहासलाई युगान्तकारी मोड दिएर जहानियाँ राणाशासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्थाको सूत्रपात गर्ने र खासगरी २०४६ सालको परिवर्तन पश्चात् जनताको विश्वास प्राप्त गरी राज्यको बागडोर सम्हालेको राजनीतिक दल कांग्रेसको प्रजातान्त्रिक समाजवादले आर्थिक, सामाजिक क्षेत्रमा के परिवर्तन ल्यायो ?
नेपालका होनहार र अतुलनीय नेता बीपी कोइरालाले अघि सारेको सिद्धान्तलाई कांग्रेसले आत्मसात् गर्यो त ? जनताको समर्थन पाएर सरकार चलाउने ठाउँमा पुगेको कांग्रेसले समाजवादी सिद्धान्तको निष्ठापूर्ण अभ्यास गर्यो त ? सत्ता केका लागि ? चुनाव किन जित्नु पर्यो ? अनि सरकार केका लागि र कसका लागि ? मूलतः ‘वाद’ को प्रयोग कहिले हुने र कसले गर्ने ? अब त जनता बुझ्ने भइसके। कांग्रेस पार्टीका एकसे एक नेताले पार्टीले समाजवाद छोडिसक्यो भनेको धेरै भइसक्यो।
समाजवादी चिन्तक स्व. प्रदीप गिरीले त धेरै अघि कांग्रेस नेतृत्वसमक्ष प्रश्न उठाइसकेका हुन्। हामीले बुझेको कुरा के हो भने शासन व्यवस्थाले जबसम्म गरीब जनताको जीवनमा आधारभूत परिवर्तन ल्याउँदैन, तबसम्म वादको पैरवी व्यर्थ छ। र जुन वादले जनतालाई अनुभूति हुने गरी परिवर्तन ल्याउँदैन भने, त्यस्तो वादको औचित्य के ?
प्रजातान्त्रिक समाजवाद नेपालको सन्दर्भमा निकै उपयुक्त बाटो थियो र हो पनि। तर नवउदारवादको चपेटामा परेर उठ्नै नसक्ने गरी प्रजातान्त्रिक समाजवाद थला पर्यो। यसको जिम्मेवारी साढे तीन दशक पार्टी र देश चलाएका कांग्रेस नेताहरूले लिनुपर्छ। किन समाजवाद भनियो र किन सरकारमा गएर यसलाई बिर्सने काम भयो, जनताले जवाफ खोजेका छन्।
पश्चिम बंगालको नक्सलाइट आन्दोलनबाट प्रभावित भई झापा विद्रोह अर्थात् जमिनदार हत्याको हिंसात्मक घटनाबाट उदाएको र शान्तिपूर्ण राजनीतिमा पदार्पण गरी आम निर्वाचनकै माध्यमबाट बारम्बार सरकार चलाएको एमालेले जनताको भरोसा जित्न सकेन। मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर जनताका लागि काम गर्छु भन्ने यो पार्टीको कार्यशैली र गतिविधि जनभावना अनुकूल एवं लोककल्याणकारी छैन।
सत्ता मार्फत पार्टीलाई बलियो बनाउने र पार्टी भित्र पनि नेता विशेष शक्तिशाली बन्ने चिन्तन र प्रवृत्ति यस पार्टीमा देखिन्छ। एमालेमा सरकारमा पुगेकाहरूको छुट्टै वर्ग खडा भएको छ, जसले आम सदस्य र जनतालाई शासित वर्ग ठान्छ र आफूलाई शासक। यसले एमालेभित्रको ठूलो संख्या प्रताडित छ। हुन त यो नेपालका राजनीतिक दलहरूको साझा प्रवृत्ति हो। कांग्रेस, माओवादी लगायतका कुनै पनि दल यस प्रवृत्तिबाट मुक्त छैनन्।
पार्टीले अपनाएको सिद्धान्तका कारण मात्र कांग्रेस अलग छ, नत्र प्रवृत्तिगत रूपमा चारित्रिक समानता देखिन्छ। एमाले पार्टी बारम्बारको परीक्षणबाट उत्तीर्ण हुन नसकेको वा राजनीतिक परीक्षामा असफल पार्टी हो।
अब माओवादी पार्टीको चर्चा गर्दा गज्जबको घटनाक्रम देखिन्छ। माओवादलाई मार्गदर्शक सिद्धान्त मानेर हिंसात्मक बाटो अवलम्बन गरी संसदीय व्यवस्था समाप्त पार्ने प्रयास असफल भएपछि बृहत् शान्ति सम्झौता मार्फत खुला राजनीतिमा आएको माओवादीको सशस्त्र विद्रोह कालमा एकप्राण भएर काम गरेका नेताहरू सत्तामा पुगेपछि आधा दर्जन जति टुक्रामा विभाजित भएको वास्तविकता छ। यो राजनीतिक दलभित्रको सैद्धान्तिक मतभेद देखाएर विभाजन भएको भनिए पनि सत्ता नै पार्टी टुक्रिनुको प्रमुख कारण हो।
पार्टीमा एकल र केन्द्रीकृत नेतृत्व देखिन्छ र मूल नेताको मनोगत चाहनामा पार्टी चलेको देखिन्छ। एकप्रकार पार्टीभित्र नेतृत्वको स्वेच्छाचार छ। आफ्ना र आफूले चाहेका मानिसहरू बाहेकका अरूमाथि बक्रदृष्टि छ। पारिवारिक सदस्य र नातेदारहरू राज्यको जिम्मेवारीमा छन्।
विद्रोहमा साथ दिने व्यक्तिहरू किनारामा धकेलिएका छन्, चरम उपेक्षित र तिरस्कृत छन्। नेतृत्व आफ्नै धुनमा मग्न देखिन्छ। विद्रोहकालमा परिवार गुमाएका र अङ्गभङ्ग भएका व्यक्तिहरूको बेहाल छ। सरकारमा गएर जनता उत्साहित पार्ने काम गर्नु सट्टा राज्य दोहनमा ध्यान केन्द्रित छ। यस्तो स्थितिबाट गुज्रिएको माओवादी दल सुध्रिने कुनै लक्षण छैन।
अनि अब प्रश्न उठ्छ, नेपालमा वादहरूको टकरावले के गर्यो ? जापान कुन वादले बनाएको हो ? दक्षिणकोरिया, सिंगापुर, मलेसिया कुन कुन वादले बनायो ? के चीन माओवादले बनाएको हो ? कि चिनियाँ जनताको सुझबुझ, पौरख र मिहिनेतले बनाएको हो ? भारत कुन वादले बन्दैछ र महाशक्ति राष्ट्र हुँदैछ ? ६ महिना हिउँ पर्ने युरोप, अमेरिका केले बनाएको हो ? के त्यहाँ ‘वाद’ पुगेको थिएन ? कसरी बने ती देशहरू ? हामीले सोच्नुपर्दैन ? नेपालका दर्जनौं विमानस्थल घाँसे मैदानमा परिणत हुँदैछन्।
अरबौं ऋण काढेर अन्तर्राष्ट्रिय विमानस्थल किन बनाइयो, यसको आवश्यकता र औचित्य के ? नेपालका सयौं कलेज बन्द हुँदैछन्। यसको जवाफ कसले दिने ? कुन वाद र कुन पार्टीले ? तसर्थ हामीले तत्कालै इतिहासको समीक्षा गर्न आवश्यक छ। समाज परिवर्तन र रूपान्तरणको बाधक को हो र के हो ? खुट्याउन जरूरी छ।
प्राकृतिक र धार्मिक सम्पदाले भरिपूर्ण देश नेपालमा जम्मा दश वर्षमा विकासको जग बसाउन सकिन्छ। यसका लागि अन्य कुनै वादको आवश्यकता छैन। हामीलाई चाहिएको एउटै वाद हो, ‘विकासवाद’। अनुशासनमा चलेको प्रजातन्त्र र विकासवाद आजको आवश्यकता हो। यसलाई समयमै मनन गरी अघि बढ्ने हो भने नेपाल बन्न बेरै लाग्दैन। तर अहिलेकै जस्तो शासन शैली र राजनीतिक नेतृत्व कायम रहने हो भने नेपाल र नेपालीको थप दुर्दशा हुनबाट कसैले रोक्न सक्ने छैन।
प्रतिक्रिया 4