७ मंसिर, काठमाडौं । स्पोर्टिङ इलाम एफसी डी मेचीले शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेपाल सुपर लिग एनएसएल फुटबलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग खेलेर प्रतियोगिता सुरु गर्दै छ ।
पहिलो पटक एनएसएल खेल्न लागेको इलाम उपाधिको लक्ष्यसहित मैदान उत्रने तयारीमा छ । इलाममा युवा र पाका खेलाडी तथा विदेशी खेलाडीको राम्रो समिश्रण छ ।
यहि सन्तुलन र फिट खेलाडीसहित टिम इलाम उपाधी लक्ष्यसहित प्रतियोगितामा होमिने प्रशिक्षक मेघराज केसी बताउँछन् । ‘हाम्रो लागि सबैभन्दा बलियो पक्ष भनेको हाम्रो खेलाडी सबै फिट छन् । त्यसैले हामी यो प्रतियोगितामा उपाधी दाबेदारकै रुपमा प्रस्तुत हुनेछौं’, प्रशिक्षक मेघराज केसीले भने ।
३ हप्तायता प्रशिक्षणमा रहेको टिममा सबै पक्ष सकरात्मक रहेको भन्दै प्रशिक्षक मेघराज केसी टिमको लक्ष्य उपाधि नै रहेको बताउँछन् ।
‘एनएसएलको यो संस्करणमा आउँदा सबै टिम नयाँ नै हुन्,’ केसीले अनलाइनखबरसँग भने, ‘त्यसैले हामी पनि यो प्रतियोगितामा उपाधि लक्ष्यको साथ मैदानमा उत्रने हो ।’
एनएसएलको दोस्रो संस्करणमा आफूहरु नयाँ टिमको रुपमा आएको इलामले आफूलाई अरु टिम सरह ठानेको म्यानेजर उत्सव शाक्य बताउँछन् । उनी प्रतियोगितामा आफूहरु कडा प्रतिस्पर्धा दिन तयार रहेको बताउँछन् ।
डेब्यूटान्ट इलामका प्रशिक्षक केसी डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सविरुद्ध जित निकालेर प्रतियोगिताको सुरुवात गर्न चाहेको बताउँछन् । ‘भोलिको लागि हाम्रो टिम तयार छ,’ उनले भने, ‘हामी राम्रो फुटबल नेपाली दर्शकको माझ दिएर पहिलो जितसहित प्रतियोगिता सुरु गर्न चाहन्छौं ।’
राम्रो तयारी सन्तुलित टिम
नेपाली र विदेशी खेलाडीको सन्तुलित टिम इलाम रहेको प्रशिक्षक केसी दाबी गर्छन् । ‘लामो समयदेखि नेपाली फुटबलमै काम गरिरहेको हुँदा खेलाडीको बारेमा राम्ररी थाहा छ । अब विदेशी खेलाडी पनि छन् । विदेशी र नेपाली मिसाएर टिममा राम्रो तयारी भएको छ ।’
प्रतियोगिता सुरु हुनु एक दिन अघि च्यासल मैदानमा अन्तिम अभ्यास गरेको टिममा ५ जना विदेशी खेलाडी छन् । टिम भने ६ जना विदेशी खेलाडीका साथ खेल्नेछ । एक खेलाडी नेपाल आएर पनि व्यक्तिगत कारणले फर्किने तयारीमा छन् उनको स्थानमा नयाँ खेलाडी आउने पक्का भइसकेको टिम म्यानेजर उत्सव शाक्यले बताए ।
टिममा १ भारतीय सहित ४ जना सेनेगलका खेलाडी छन् । टिममा आएका चारै जना विदेशी खेलाडी नयाँ हुन् । नयाँ खेलाडी भएका कारण यी खेलाडीले कसरी खेल्छन् भन्ने जानकारी विपक्षीलाई नभएकाले त्यो आफूहरलाई लाभ हुने म्यानेजर उत्सवले बताए । ‘हामीले सेनेगलको एकेडेमी जेनेरेसन फुटबाट खेलाडी ल्याएका हौं । यी सबै खेलाडी सेनेगलमा प्रशिक्षण सकेर युरोपमा अनुबन्ध भइसकेका खेलाडी हामीले लोनमा ल्याएका हौं ।’
यो टिममा रहेका विदेशी खेलाडी प्राय २० देखि २२ कोबीचको उमेरका छन् । भन्छन्, ‘हामीले भित्र्याएका विदेशी खेलाडी सबै युवा खेलाडी छन् । उनीहरु उर्जावान छन् ।’
प्रशिक्षक केसी विदेशी खेलाडी निकै उर्जावान र राम्रो प्रशिक्षणले खारिएका कारण टिममा विश्वास बढेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो टिम गोलकिपरदेखि फरवार्डसम्म एकदमै सन्तुलित टिम छ ।’

विदेशी र नेपाली खेलाडीले एकले अर्काेलाई सिकाउँदै अभ्यास गरेको बताउँदै म्यानेजर उत्सव भन्छन्, ‘अहिले टिममा माहोल निकै राम्रो छ । विदेशी र नेपाली खेलाडीहरु एक अर्कालाई सिकाउँदै अघि बढिरहेका छन् ।’
नेपाली खेलाडीलाई विदेशी खेलाडीबाट उनीहरुको स्किल र स्पिड सिक्न मद्दत पुग्ने प्रशिक्षक केसीले बताए । ‘विदेशी खेलाडीसँग यसरी लामो समय बसेर खेल्दा नेपाली खेलाडीले उनीहरुको स्किल र स्पिड सिक्न र पछ्याउन सक्छन् ।’
दीर्घकालीन योजनाको रुपमा निरन्तरता पाए नेपाली फुटबलको विकासमा यसले टेवा पु¥याउने प्रशिक्षक केसीले बताए । ‘यो अवधारणले निरन्तरता पाएको खण्डमा नेपाली फुटबलको स्तर उन्नतीमा पनि एनएसएल निकै सहयोगी बन्न सक्छ ।’
इलाममा पूर्व उपाधि विजेता गोलकिपर विकेश कुथु मार्की खेलाडीको रुपमा छन् । उनी त्रिभुवन आर्मीका रेगुलर गोलकिपर हुन् । उनीसँग नेपालको घरेलु फुटबलको प्रशस्त अनुभव छ ।
टिममा भरत खवास र विराज महर्जन जस्ता माझिएका खेलाडी पनि छन् । युवा र पाका दुवै खेलाडीको समिश्रण तथा विदेशी खेलाडीको उर्जाले टिम सम्पन्न भएको प्रशिक्षक केसीले बताए । ‘हाम्रो टिममा अनुभवी खेलाडीदेखि युवा खेलाडी र विदेशी खेलाडीको राम्रो सन्तुलन छ । त्यसले गर्दा यो टिम निकै पूर्ण छ । ’
भरत पहिलो संस्करणमा एफसी चितवनको मार्की खेलाडीको रुपमा थिए ।
इलाममा पूर्व च्याम्पियन काठमाडौंमा विकेशसँगै खेलेका विमल पाण्डे र आशिष गुरुङ पनि छन् । यी दुई डिफेन्डरहरुसँग उपाधी जितेको अनुभव छ । त्यस्तै मिडफिल्डर आशिष राई पनि पहिलो सिजनमा काठमाडौंको टिममा थिए ।
प्रतिक्रिया 4