
७ मंसिर, काठमाडौं । नेकपा एमालेको युवा विद्यार्थीहरुले बिहीबार काठमाडौैंको तीनकुनेमा प्रदर्शन गरे । नेपाल राष्ट्रिय युवा संगठन र अनेरास्ववियुको आयोजनामा भएको उक्त कार्यक्रमलाई एमालेले युवा विद्यार्थी विशेष कार्यक्रम भनेको छ ।
प्रदर्शनमा एमालेले प्रधानमन्त्री र सरकारको कामकारबाहीमाथि प्रश्न उठाएको थियो । त्यस्तै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गरेको कैद छुटको पनि विरोध गरेका थिए । प्रदर्शनपछि सम्बोधन गर्दै एमाले पोलिट्ब्यूरो सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बेलैमा सच्चिन आग्रह गरे ।
‘प्रचण्ड बेलैमा नसच्चिए सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर कि तीनकुनेमा पछार्ने तागत एमालेको युवा विद्यार्थीसँग छ’, उनले भने ।
नेता बस्नेतले सरकारविरुद्ध अब सातै प्रदेशमा विरोध कार्यक्रम गर्ने पनि बताए । ‘पार्टीले मध्यपहाडी लोकमार्ग केन्द्रित कार्यक्रम सकेपछि फागुनमा काठमाडौंमा मानव सागर उतार्ने सम्भावना छ’, उनले भने ।
बस्नेतले गणतन्त्रमाथि औंलो ठड्याउनेलाई एमालेले ठीक पार्ने पनि बताए । ‘संघीय गणतन्त्रको विषयमा, यो व्यवस्थाको विषयमा, राजतन्त्र पक्षमा कसैले औंलो ठ्ड्याउन थाले ठीक पार्न एमाले तयार छ, केपी ओलीको आदेश आइसकेको छ’, उनले भने ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत नेकपा एमालेलाई हिलो छ्यापेर देशमा अस्थिरता पैदा गर्न खोजेको पनि टिप्पणी गरे ।
बालेन र रविप्रति आक्रोश
नेता बस्नेतले एमाले सिध्याउन रवि लामिछाने र बालेन शाह प्रयोग भएको टिप्पणीसमेत गरे । ‘एमालेलाई सकाउनको लागि बालेनहरुलाई परिचालित गरियो, रविहरुलाई परिचालित गरियो । हामीले यी सिंगानेहरुले मुलुक बनाउँदैनन् भनेर भन्दा हामीलाई लखेटियो’, उनले भने ।
बालेनकै कारण काठमाडौंमा ६० प्रतिशत सटर बन्द भएको भन्दै बस्नतेले काठमाडौं बस्न अयोग्य हुँदै गएको बताए । बालेन र रविलाई प्रयोग गर्दा नसकेपछि देशलाई प्रयोगशाला बनाउन खोज्नेहरुले दुर्गा प्रसाईंलाई प्रयोग गरेको बस्नेतको जिकिर छ ।
एमाले सत्तामा नहुँदा व्यवस्थामाथि प्रश्न उठ्यो
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठनका इन्चार्ज भानुभक्त ढकालले सत्तामा एमाले नहुँदा व्यवस्था माथि प्रश्न उठेको बताए ।
‘अहिले जनतामा संघीयता हार्छ कि, धर्मनिरपेक्षता हार्छ कि, गणतन्त्र माथि नै प्रश्न उठ्छ कि डर रहेको छ । यसरी किन सोच्दैछन् भन्दा नेकपा एमाले सत्तामा नरहेको कारणले हो’, उनले भने ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइन खबर
प्रतिक्रिया 4