+
+

सिनेमा समीक्षा हुँदै आख्यानमा आएका पल लिन्च बने बुकर प्राइज विजेता

‘समानुभूति’ आफैंमा नरम भाव दिने शब्द हो । सिरिया युद्धमा आधारित ‘प्रोफेट सङ’का लागि यस वर्षको बुकर विजेता पलले किन कट्टर समानुभूति शब्द प्रयोग गरे होलान् त ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १९:४२

११ मंसिर, काठमाडौं । विश्वप्रसिद्ध बुकर प्राइज घोषणासँगै यसका विजेता पल लिन्चले प्रयोग गरेको एउटा शब्द यतिखेर चर्चामा छ । त्यो शब्द हो- ‘र्‍याडिकल इम्प्याथी’ अर्थात् नेपालीमा भावानुवाद गर्ने हो भने कट्टर समानुभूति ।

‘समानुभूति,’ अर्थात् अर्को मानिसले जत्तिकै संवेदनशील भएर उसको बारेमा सोच्नु । यो आफैंमा नरम भाव दिने शब्द हो । सिरिया युद्धमा आधारित ‘प्रोफेट सङ’ का लागि यस वर्षको बुकर विजेता पलले किन कट्टर समानुभूति शब्द प्रयोग गरे होलान् त ?

पत्रकारिता र मिडियाको जमानालाई भर्चुअल रियालिटी अर्थात् सांकेतिक यथार्थले लिएको, त्यसले मान्छेभित्रको सहानुभूतिको पाटो कमजोर हुँदै गएको यी आइरिस आख्यानकारलाई लाग्दो रहेछ ।

बुकर प्राइज कमिटीसँगको एउटा भिडियो वार्तामा पलले भनेका छन्- ‘पाठकहरु समाचारमा भर्खरै भइसकेको घटनाको बारेमा समाचार पढ्छन् । सूचनाहरुको बीचमा उनीहरु जेलिन्छन् । मैले उपन्यास लेख्दा भूतकालमा लेखिनँ, बरु वर्तमानकालमा लेखें । उनीहरुलाई भर्खरै भएको युद्धग्रस्त ठाउँको संकटबारे अझै बढ्ता महसुस हुनसकोस् भनेर मैले त्यसो गरेको हुँ । उनीहरुले सिरियामा भएको युद्धको विभीषिकालाई केवल समाचारमात्रै ठानेर नपढुन्, बरु त्यहाँको दुःख भोग्ने मान्छेको शरीरलाई आफ्नै शरीरजस्तो मानेर महसुस गर्न सकुन् ।’

उनले उपन्यासको शैली नै अनौठो गरी बुनेका छन् । कोटेशन मार्क नदिई, अनुच्छेदहरु नछुट्याई पलले प्रोफेट संघका वाक्य लामा-लामा लेख्दै गए, ता कि सिरिया युद्धको घटनाका तीव्रतालाई पाठक स्वयंले पढ्ने बेलामा अनुभूति गर्न सकोस् ।

पल भन्छन्, ‘बम हानेको ठाउँमा पुरिएर मुस्किलले बाँचेका मान्छेलाई सास फेर्न कस्तो कठिन हुन्छ, त्यो समेत पाठकले महसुस गर्न सकोस् भनेर एकदमै लामा वाक्य लेख्न पुगेछु ।’

पल उपन्यासकार बन्नुभन्दा पहिले सिने-समीक्षक थिए । बुकर प्राइजसँगको वार्तामा उनलाई सोधिन्छ-यो उपन्यास द प्रोफेटमा सिनेमा धेरै हेर्दाका प्रभाव कत्तिको झल्केको छ ?

पलको जवाफ- यो प्रश्न अण्डा पहिले आयो कि कुखुरा भन्ने जस्तो हो ? किनभने जब कुनै दृश्यको चित्रण वा वर्णन गर्नुपर्‍यो भने म सिनेमा हेर्ने लतबाट प्रभावित भएको देखिन्छु । अनि त्यसलाई साहित्यमा भन्दा आफ्नै शैली बनाउनुपर्ने हुन्छ । त्यसैले यी दुवै कुरा सत्य हुन् मेरा लागि । खासमा साहित्यमात्रै होइन, सिनेमा आफैं पनि अहिलेको आधुनिक साहित्यबाट प्रभावित भएर बनाउन थालिएका छन् । साहित्यलाई मात्रै सिनेमाले प्रभावित गर्छ भन्ने कुरा सत्य होइन । पहिलाका सिनेमा पनि भिक्टोरियन नोभलबाट प्रभावित हुन्थे ।

पल लिन्चका यी जवाफहरु बुकर प्राइज कमिटीको भिडियोबाट उद्धृत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?