+
+

धुनी बालेर चन्द्रविनायक जात्रा सुरू, आज खट निकालिँदै, विहीबार सिन्दुरजात्रा   

बालेनले गरे अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १३:२९

१२ मंसिर,काठमाडौं । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चन्द्रविनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन गरेका छन् । जात्राको पहिलो दिन सोमबार राति बालेनले  चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिएका थिए ।

वडा नम्बर  ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगतका अनुसार जात्राको पहिलो दिन गुठीयार पूर्ण संगतको घरबाट भैरवको र सानुकाजी शाक्यको घरबाट गणेशको मूर्ति गणेशस्थान परिसरमा ल्याएपछि गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइएको छ । धुनीको लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ ।

यसरी जगाइएको धुनी तापे चिसो नलाग्ने, चिसो लागिसकेको भए यसको असर हराउने, घुँडा दुख्ने, सरीर दुख्ने समस्या समाधान हुने जनविश्वाश रहेको संगतले बताए ।

आज खट निकालिँदै, विहीबार सिन्दुर जात्रा 

आज खट निकालिँदै हिजो धुनीबाले सुरु भएको जात्राको दोस्रो दिन आज खट निकाल्ने दिन हो । आज गणेश र भैरवको खट निकाल्ने, गणेश मन्दिर परिसरको सरसफाइ गर्ने कार्यक्रम रहेको ७ नम्बर वडाध्यक्ष विमल होडाले जानकारी दिए ।

‘आज पशुपति अमालकोट कचहरीबाट पूजा ल्याउने, कचहरीको द्वारेबाट सिन्दुर चढाउने, गुठीयार श्री प्रधानको घरबाट मूल पूजा ल्याउने, खट उठाएर नचाउने र गणेशसँग गहना माग्न लगाउनेलगायत क्रियाकलाप हुन्छन्,’ उनले भने ।

देवतालाई गंगाहिटीमा मुख धुन लैजाने, गणेश स्थान चौरमा खट नचाउने, मन्दिरको दक्षिण गेट, पूर्व गेट तथा गल्लीमा खट राख्दै बहालमा ल्याएर विसाइन्छ । विहीबार ८ बजे बहालबाट खट उठाएर खट यात्राका क्रममा नाट्येश्वर मार्ग, मुसे गणेशस्थानमा बिसाइन्छ ।

भैरवको खटलाई कुटुबहालमा बिसाएर गणेशको खटलाई पशुपतिनाथको मन्दिरमा लगिन्छ । यस क्षेत्रका मुसे गणेशस्थान, मित्रपार्क, जयबागेश्वरी, इटापाखा, नवाली टोल, ताम्रेश्वर महादेवमा खट लगिन्छ । सिफल चौरमा ल्याएर खेलाउने र ठोक्काउने गरिन्छ ।

यसपछि गंगाहिटी, चावहिल चोक, धारा मार्ग, शान्ति गोरेटो चोक, चुच्चेपाटी चोक, मनमैजु जाने बाटो, वाँःहिटी चोक, चारुमती बहाल पछाडिको चोक, बहालमा रहेको इनारको अगाडि, बहालको पश्चिम कुनामा खट लगेर राखिन्छ । यसलाई उठाएर बहालको परिक्रमा गराइन्छ र डबलीमा लगेर बिसाइने परम्परा रहेको छ ।

देउतालाई बुधबार बिमिरो, सगुन र मसला दिने र  बेलुका ९ बजे गणेश र भैरवको पूजा गरेर दीपावली गरिनेछ ।  यस्तै बिहीबार सिन्दुर जात्रा हुन्छ । यसका लागि दिउँसो १२ बजे सांस्कृतिक बाजागाजासहित बहालमा भेला हुने कार्यक्रम छ ।

यसपछि खट उठाएर चारुमती बहाल, गणेशस्थान, चावहिल चोक, चुच्चेपाटी, मुसे गणेशस्थान, मित्रपार्क, कुटुबहाल, गणेशस्थानबाट चारुमती बहाल हुँदै सम्बन्धित पालाको घरमा देउता पुर्‍याउने कार्यक्रम रहेको जात्रा समन्वय समितिले जानकारी दिएको छ ।

नवौ शताब्दीमा निर्माण भएको चन्द्र विनायकको मूर्ति

काठमाडौं उपत्यकाका चार विनायकमध्येको चन्द्र विनायक एक हो । महानगरपालिका वडा नम्बर ७ गणेशस्थानमा रहेको मन्दिरभित्र चिवहा अर्थात् स्तुप पनि छ ।

धार्मिक तथा जातीय रुपमा व्यक्ति व्यक्तिबिचमा सम्बन्ध टाढिँदै गइरहेको वर्तमान सन्दर्भमा धार्मिक सहअस्तित्वको सन्देश दिने यो संरचना पाँचौं शताब्दीदेखि १८औं शताब्दीको बीचमा निर्माण भएको देखिन्छ ।

काठमाडौं महानगरमा सम्पदा क्षेत्रमा काम गरेका वडाध्यक्ष संगतका अनुसार  मन्दिरभित्रको चिवहा अर्थात् स्तुप, बुद्ध मूर्ति र कुमारी लिच्छवीकालीन संरचना हुन् ।

पाँचौं शताब्दीमा निर्माण भएका यी संरचनापछि चन्द्रविनायकको मूर्ति नवौ शताब्दीमा निर्माण भएको देखिन्छ । उनका अनुसार यी मूर्तिहरुको संरक्षणका लागि १८औं शताब्दीमा आएर मल्लकालीन राजा अमर मल्लले विं.सं. १५८६ देखि १६१९ का बिचमा मन्दिर निर्माण गर्न लगाएको देखिन्छ । बौद्ध धर्माबलम्बी र हिन्दू धर्मावलम्बीहरुको साझा आस्थाको तीर्थ चन्द्रविनायकभित्र भएका मूर्तिहरुलाई गणेश स्थान भनेर जनसाधारणले चिन्ने गरेका छन् ।

रैथाने नेपाल भाषीहरु यसलाई ल्होंसाः गणेद्यः भनेर चिन्दछन् । यो गणेश चाबहिल क्षेत्रको चारुमती महाविहार तथा भन्दो चैत्य नजिक रहेको छ । यी सबै स्थान पाशुपत क्षेत्रमा समेटिन्छन् ।

यस्तो छ धार्मिक आस्था र सामाजिक मान्यता 

चन्द्रविनायकमा गणेशलाई समय अनुसार पहिरन लगाइ दिने चलन छ । अन्य सामान्य दिनमा प्रस्तर रुपमा हुने गणेशलाई मंगलबार पित्तलको कलेबर र शनिबार चाँदीको मुखौटा लगाइ दिने चलन छ ।

जात्राको बेला तामाको कलेवर लगाइ दिइन्छ भने क्षमा पूजाको बेला अलग्गै पित्तलको कलेबर लगाइ दिने चलन छ ।

चन्द्र विनायकको भाकल गरे शरीरमा आएका घाउ खटिरा निको हुने, हराएका सामान भेटिने विश्वासका साथ पूजा गर्ने गरिएको पाइन्छ । यहाँका भैरवनाथ मन्दिरको नजिक चार किल्लामा बस्ने स्थानीयबासीमा कहिल्यै झाडा पखाला नलाग्ने विश्वास गरिन्छ ।

मन्दिरसँग सम्बन्धित अर्को महत्वपूर्ण पक्ष भनेको परम्परागत वैद्यहरुलाई वैद्य विद्या तथा उपचार गणेशको पूजा गरेपछि मात्र सिकाउने गर्नु हो ।

वैद्यहरुको यो कार्यसँग जोडेर चन्द्रविनायकलाई गुरु गणेश पनि भन्ने गरिएको छ । यसबाहेक प्रत्येक दिनको उमङ्ग र सफलताका लागि मन्दिर आउने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य पाइन्छ ।

मन्दिरको वास्तुकला

दुई तले, छाना भएको नेपाली मण्डप शैलीको चन्द्र विनायक मन्दिरले आधुनिक शहरमा प्राचीन संरचना शैली देखाउँछ ।

दक्षिण दिशामा रहेको कलात्मक तोरणमा सुनको मोलम्मा भएको मूख्य द्वारबाट नाग आसनमा बसेका चन्द्रविनायकलाई नियाल्न तथा दर्शन गर्न सकिन्छ ।

मन्दिरका अन्य ढोकामाथि काष्ठकलाको अनुपम नमूना नियाल्न सकिन्छ । मूर्तिको माथिल्लो भागमा स्तुप रहेको छ । त्यसको वरिपरिको भागमा बुद्ध मूर्तिहरु देख्न सकिन्छ ।

मन्दिरका टुँडालमा अष्टमातृका, अष्ट भैरव र गणेशका मूर्तिहरु कुँदिएका छन् । मन्दिरको माथिल्लो छानामा र गजुरमा सुनको जलप लगाइएको छ । तल्लो छाना, तामाजडित छ ।

मन्दिरको दक्षिण र पश्चिम दिशामा भएका प्राचीन र कलात्मक सत्तलले तत्कालीन जीवनशैलीको सम्झना गराइरहेका छन् । यिनीहरुको निर्माण शैली र परम्परागत पक्षले नेपाली मौलिकतालाई प्रदर्शन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?