
काठमाडौं । रंगकर्मी विमल सुवेदीले थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्डमा मोस्ट क्रियटिभ डिरेक्टरको अवार्ड प्राप्त गरेका छन् । इ–प्लानेट इन्टरनेसनल सिंगापुर र थाइल्याण्डको संस्थाले आयोजना गरेको अवार्डका लागि संसारभरका ३० बढी देशबाट ८ हजार ९७० जना दाबेदार थिए ।
सबैलाई उछिन्दै सुवेदीले अवार्ड हात पारेका हुन् । केन्याका राजदूतश्री लिन्ड्से किमवलकिपतिनेस र मंगोलिया राजदूतावासका प्रतिनिधिले संयुक्त रुपमा अवार्ड हस्तान्तरण गरेका थिए ।
विमलले यसघि पनि भारतबाट ओटिजी अन्तर्राष्ट्रिय अवार्ड, मेटा अवार्ड र गत वर्ष मलेसियाबाट अन्तर्राष्ट्रिय हेरिटिज अवार्ड प्राप्त गरेका थिए । अभिनयबाट अभिनय यात्रा थालेका उनले नाटक निर्देशन समेत गरेका छन् ।
दिल्लीको नेसनल स्कुल अफ ड्रामाका ग्राजुएट रहेका सुवेदीले लेखेका नाटक २५ भन्दा बढी मुलुकमा मञ्चन भइसकेका छन् । उनी थिएटर भिलेज नेपालका निर्देशक पनि हुन् । थिएटर भिलेज नेपालमा नयाँ शैलीका नाटक मञ्चन गर्ने समूहको रुपमा स्थापित छ ।
सन् २०१३ मा सुवेदीले थाइल्याण्डमा ४ हजारभन्दा बढीको संख्यामा रहेका महिला कैदीलाई थाइल्याण्डकै केन्द्रीय जेलभित्रै थिएटर फर रिह्याविलिटेसन वर्कशप गरेका थिए । यो अवार्ड कार्यक्रम बैंकक नजिक पर्ने पातुमथानीमा शनिबार सम्पन्न भएको थियो ।
प्रतिक्रिया 4