
काठमाडौं । ‘जारी’ र ‘कबड्डी’जस्ता ब्लकबस्टर फिल्म निर्माता कम्पनी बाँसुरी फिल्म्सले आगामी रिलिज ‘दयारानी’लाई ठूला अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने भएको छ । निर्माता रामबाबु गुरुङ र वितरण कम्पनी सेभेन सिजका प्रतिनिधिबीच यसबारे सहमति भएको छ ।
सहमतिअनुसार सेभेन सिजले घरेलु फिल्मका ठूला बजारहरु उत्तर अमेरिका, अष्ट्रेलिया र मध्यपूर्वमा फिल्म रिलिज गर्नेछ । त्यसपछिका बाँकी बजारमा द्विपक्षीय सहमतिअनुसार प्रदर्शनको तयारी छ ।
यी ठूला बजारमा ‘कबड्डी’ र ‘जारी’ले उछाल कमाइ गरेका थिए । बाँसुरी फिल्म्सको ‘डिग्री माइला’ पनि सेभेन सिजको अन्तर्राष्ट्रिय रिलिजको लाइनअपमा छ । ‘दयारानी’ निर्देशक माओत्से गुरुङले सुरुमा तीन ठूला विदेशी टेरिटोरीमा फिल्म रिलिज गर्नेबारे सहमति जुटेको बताए ।
‘त्यसपछि आपसी सहमतिमा अन्य बजारमा प्रदर्शनको कुरा छ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘विदेशमा फराकिलो रिलिजको हिसाबले यो निकै खुसीको कुरा हो ।’ सेभेन सिजका मध्यपूर्व वितरक रमेश ढकालले सबै कुरा ठीक ढंगले अघि बढे कलाकार र टिमको उपस्थितिमा दुबईमा ‘दयारानी’को भव्य प्रिमियर हुने बताए ।
‘दयारानी’ घरमा भने माघ २६ गते रिलिज हुँदैछ । दयाहाङ राई र दीया पुनको शीर्ष भूमिका रहेको यो फिल्म गुरुङ फिल्मका पाका मेकर माओत्सेको नेपाली फिल्ममा डेब्यु निर्देशकीय प्रोजेक्ट हुनेछ । यसपछि माओत्से अर्को एक फिल्मको तयारीमा छन्, जसलाई उनी स्वयंले निर्देशन गर्ने भएका छन् ।
बाँसुरी फिल्म्सको कुरा गर्दा ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन बाँकी छ ।
प्रतिक्रिया 4