+
+

सुत्केरी र शिशुको मृत्युपछि लमजुङ अस्पताल २ दिनदेखि तनावग्रस्त, ८ राउन्ड अश्रुग्यास प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते २०:०६

१४ मंसिर, पोखरा । सुत्केरी र शिशुको मृत्युपछि २ दिनदेखि लमजुङ अस्पताल तनावग्रस्त छ । मर्स्याङ्दी गाउँपालिका–९, पामचोक दलितबस्तीकी २६ वर्षीया शोभा विक र उनको शिशुको मृत्यु भएको विषयले बुधबारदेखि लमजुङ अस्पताल तनावग्रस्त बनेको हो ।

अस्पतालमा मृतक परिवारका आफन्त तथा परिवारले बिहीबार साँझ प्रदर्शन, नाराबाजी गर्दै तोडफोडसमेत गरेका छन् । सो क्रममा ढुंगाले लागेर अस्पतालको सीसा फुटेको छ र २ प्रहरीलाई पनि ढुंगा लागेको छ ।

तनाब बढ्दै गएपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । मृतको परिवारका पक्षबाट भएको प्रदर्शनका क्रममा टायर बाल्ने र प्रहरीतिर फाल्ने क्रम सुरु भएपछि अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएको छ ।

लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीका अनुसार अस्पतालतर्फ ढुंगामुढा प्रहार भएपछि चिकित्सक र उपचाररत बिरामीसमेत त्रसित बनेका छन् । अस्पताल प्रशासनले अहिलेसम्म घटनाबारे यथार्थ सार्वजनिक नगरेको मृतकको परिवार र आफन्तको भनाइ छ ।

साँझ परिसक्दा पनि अस्पताल, सरोकारवाला र प्रहरी प्रशासनले वार्तामा बोलाउन ढिलाइ गरेको भन्दै आफन्त आक्रोशित बनेका थिए ।

गर्भवती शोभा विकलाई सुत्केरी ब्यथाले च्यापेपछि सोमबार अस्पतालमा भर्ना गरिएको थियो । लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार अस्पतालले विकको शल्यक्रिया गरेको थियो ।

शल्यक्रियामार्फत निकालिएको शिशु मृत रहेको र सुत्केरी आमाको निरन्तर रक्तश्राब भएपछि मंगलबार बिहान चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । सुत्केरी विकको चितवनमा अस्पताल पुर्‍याउनेबित्तिकै मृत्यु भएको थियो ।

सुत्केरी र शिशुकै मृत्यु भएपछि उनको परिवार र आफन्तले अस्पताल तथा चिकित्सकको लापरबाहीले घटना भएको भन्दै बुधबार बिहानदेखि नै अस्पतालमा प्रदर्शन गरेका हुन् । अस्पतालले राम्रोसँग गर्भवतीको शल्यक्रिया नगरेको, बेलैमा रिफर नगरेको भन्दै आफन्त तथा परिवारले अस्पताल घेरेका थिए ।

अस्पताल, प्रहरी प्रशासन र आफन्तबीच बुधबारदेखि नै वार्ताको प्रयास भए पनि सहमति हुन सकेको थिएन । आफन्तले घटनाको छानबिन हुनुपर्ने माग राखेपछि गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको निर्णयअनुसार प्रदेश निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

बुधबार बिना निश्कर्ष टुंगिएको वार्ता बिहीबार छानबिन समितिसँग बस्ने भनिएको थियो । छानबिन समितिका संयोजक खड्काले आफू लमजुङतर्फ गइरहेको बताए ।

‘मन्त्रालयले खटाउनेबित्तिकै म पोखराबाट लमजुङ अस्पताल हिँडेको हुँ । अब केहीबेरमा घटनाबारे छानबिन र अवस्था हेरेर छलफल सुरु हुन्छ’, खड्काले भने । खड्काको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनेको हो । समितिले छानबिन गरेर १ हप्ताभित्र प्रतिवेदन बुझाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?