+
+

माओवादी युद्धका असरलाई विस्मृतिमा नछाड्न आह्वान गर्दै जारी भयो काठमाडौं स्मृति घोषणापत्र

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १४:५३

१५ मंसिर, काठमाडौं। माओवादी र सरकारको सशस्त्र युद्धका क्रममा भएका विभिन्न घटनालाई समयक्रमसँगै बिर्सन खोजिएको भन्दै सरोकारवालाले त्यसो नगर्न आग्रह गरेका छन् । काठमाडौं स्मृति घोषणापत्र जारी गर्दै उनीहरुले विगतका हिंसापीडित र सम्बन्धित पात्रहरुबारे इतिहास राखिनुपर्ने माग गरेका हुन् ।

बुधबार र बिहीबार राजधानीमा आयोजित प्रथम राष्ट्यिर स्मृति सम्मेलनपछि उनीहरुले स्थानीय सरकार समेतलाई पुराना सम्झनाहरु सुरक्षित गर्न, स्कुलमा पाठ्यक्रम बनाएर पढाउन आह्वान गरेको आयोजक राष्ट्रिय स्मृति सन्जालका राम भण्डारीले बताए ।

सम्मेलनमा प्राध्यापक अभि सुवेदीले राष्ट्रको इतिहासमा घटेको महत्वपूर्ण घटनासँगै जोडिएका विषयलाई किन जोगाएर राख्न आवश्यक छ भन्नेमा व्याख्यान दिएका थिए ।

‘इतिहासको महत्वपूर्ण घटना, भोगाइ, अनुभवहरुलाई राज्यले बिस्मृतितर्फ लाँदै गरेको अवस्थामा हामी बिगतका हिंसाका पीडितहरू र सरोकारवालाहरु हातेमालो गर्दै स्थानीय र राष्ट्रिय रूपमा आफै स्मृतिलाई संरक्षण गर्न एकसाथ आएका हौं,’ सम्मेलनपछि सरोकारवालाहरुले घोषणापत्र जारी गर्दै भनेका छन्, ‘संक्रमणकालीन न्याय प्रकियामा स्मृति कार्यलाई प्राथमिकताका साथ सम्बोधन नगरिएको तथा विद्यमान औपचारिक तवरबाट गरिएका स्मृतिका कार्यहरु पनि एकपक्षीय, विवादास्पद देखिएका छन् ।

पीडित, समुदायका कथा र उनीहरुको दृष्टिकोणलाई योजनावद्ध रुपमा मौन बनाइएको अवस्थामा पीडित केन्द्रित र पीडितले नेत्तृत्व गरेका अनौपचारिक स्मृति कार्यहरुबाट पाठ सिक्दै औपचारिक स्मृतिका पहलहरु गर्न राज्यले आफ्नो दायित्ववोध बेलैमा गर्न आवश्यक छ ।’

उनीहरुले स्मृति बचाउन, पीडितका भाष्य स्थापित गर्न र जनताको इतिहास निर्माणमा उद्दत सरोकारवालाहरुको साझा बुझाई, अनुभव र पहलहरुको सामूहिक आवाज उठाउन प्रथम राष्ट्रिय स्मृति सम्मेलनको घोषणा पत्र जारी गरिएको बताए ।

घोषणापत्रको पूर्ण पाठ :

 जीवन र समाजसँग जोडिएका भोगाइ र अनुभवहरुको अभिलेखिकरण र प्रस्तुति नै स्मृति हो । त्यसैले स्मृति सामाजिक न्यायको अभिन्न पाटो हो । आजको स्मृति भोलिको इतिहास हो । तसर्थ, आजका स्मृतिहरुलाई समयमै सचेत भएर व्यवस्थित रुपमा संरक्षण गर्न सकिएन भने इतिहास निर्माण पनि असम्भव प्रायः छ । हाल सम्मका बहुआयामिक स्मृतिहरुलाई एकत्रित र एकिकृत गर्न नसक्दा इतिहास एकपक्षीय बन्ने गरेको तथ्य जगजाहेर छ । 

कतिपय इतिहास बुझ्न किताबका ठेलीहरु खोज्न पर्ने अवस्था हिजो पनि थियो र आज पनि छ । तर आजको दिनमा मानिसहरु स–शरिर इतिहास बोकेर हिँडिरहेका छन् । इतिहास लेखन कुनै पनि कुराको समाप्ति पछि मात्रै सुरु गर्नु पर्छ भन्ने छैन । मानिसहरुले शरिरमै स्मृति बोकेर हिँडेकै अवस्थामा इतिहास लेख्न शुरु गरियो भने भोलिको इतिहास यथार्थपरक हुन जान्छ । अन्यथा, त्यो इतिहास राज्य सत्तामा बसेका वा शक्तिको नजिक रहेकाहरुको महिमामण्डन मात्र हुनपुग्छ । त्यसैले, आजका बहुआयामिक स्मृतिहरुको संरक्षण गर्दै भोलिका लागि सर्वस्वीकार्य इतिहास निर्माणमा जुट्न यस घोषणा पत्र मार्फत हामी आव्हान गर्दछौं । 

नेपाली इतिहासको विभिन्न कालखण्डमा अनेक किसिमका उत्पीडनका विरुद्ध सामाजिक तथा राजनीतिक संघर्ष र आन्दोलनहरू भएका छन् । ती संघर्ष÷आन्दोलनमा सहभागी भएका तथा बिना कारण पीडित बनाइएका व्यक्तिहरूका भोगाइ, पीडा र योगदानको अनौपचारिक तवरमा स्मृतिकरण गर्ने प्रयासहरु भएता पनि औपचारिक इतिहासले बेवास्ता गरेको छ । इतिहासको महत्वपूर्ण घटना, भोगाइ, अनुभवहरुलाई राज्यले बिस्मृतितर्फ लाँदै गरेको अवस्थामा हामी बिगतका हिंसाका पीडितहरू र सरोकारवालाहरु हातेमालो गर्दै स्थानीय र राष्ट्रिय रूपमा आफै स्मृतिलाई संरक्षण गर्न एकसाथ आएका हौं । 

संक्रमणकालीन न्याय प्रकियामा स्मृति कार्यलाई प्राथमिकताका साथ सम्बोधन नगरिएको तथा विद्यमान औपचारिक तवरबाट गरिएका स्मृतिका कार्यहरु पनि एकपक्षीय, विवादास्पद देखिएका छन् । पीडित, समुदायका कथा र उनीहरुको दृष्टिकोणलाई योजनावद्ध रुपमा मौन बनाइएको अवस्थामा पीडित केन्द्रित र पीडितले नेत्तृत्व गरेका अनौपचारिक स्मृति कार्यहरुबाट पाठ सिक्दै औपचारिक स्मृतिका पहलहरु गर्न राज्यले आफ्नो दायित्ववोध बेलैमा गर्न आवश्यक छ । स्मृति बचाउन, पीडितका भाष्य स्थापित गर्न र जनताको इतिहास निर्माणमा उद्दत सरोकारवालाहरुको साझा बुझाई, अनुभव र पहलहरुको सामूहिक आवाज नै प्रथम राष्ट्रिय स्मृति सम्मेलनको घोषणा पत्रको मर्म हो ।

 २०५२ फागुन १ देखि २०६३ मंसीर ५ सम्म तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकारबीच भएको सशस्त्र द्वन्द्व र त्यसका असरले छोडेका स्मृतिहरुलाई समकालीन इतिहास अध्ययनको वृत्तमा उल्लेख पनि नगर्नुलाई नियोजित रुपमा बिस्मृति तर्फ उन्मुख गराउन खोजिएको यथार्थ प्रष्ट छ । विस्तृत शान्ति सम्झौताले निर्दिष्ट गरेको रुपान्तरणमुखी न्यायको कार्ययोजनाबाट बिमुख भई जारी संक्रमणकालीन न्याय प्रक्रिया अलमलिइरहेको अवस्थामा पीडित र समुदाय स्तरबाटै भएका स्मृति कार्यहरुको सामाजिकिकरण र सामुदायिकिकरणका पहलकदमीहरु स्वागत योग्य छन् । हाम्रो दृष्टिकोणमा स्मृति केवल सम्झना मात्रै होइन । यो, विगतमा भएका अन्यायहरु विरुद्धको प्रश्न, प्रतिरोध, संगठित आक्रोश र सामूहिक आन्दोलन हो जसले राज्यलाई सशस्त्र द्वन्द्वकालीन मानव अधिकार उल्लंघनका घटनाहरु प्रति जवाफदेही हुन खबरदारी गर्दछ । 

देशैभरका द्वन्द्वपीडित तथा स्मृति कार्यमा सक्रिय सरोकारवाला प्रतिनिधिहरुको सहभागीतामा २०८० मंसिर १३ र १४ गते काठमाण्डौमा सम्पन्न प्रथम राष्ट्रिय स्मृति सम्मेलनबाट पारित १२ बुँदे यस घोषणा पत्रमा उल्लिखित सवालहरुलाई सम्बन्धित सबै निकायहरुले तदारुकताका साथ सम्बोधन गर्नु हुन हामी अपिल गर्दछौं ।

 १. स्मृति अवधारणा संक्रमणकालीन न्यायको पाँचौ खम्बा (धुरीखाँबो) को रुपमा स्वीकार्दै स्मृतिका कार्यलाई संक्रमणकालीन न्याय प्रक्रियाको अभिन्न पाटो बनाइयोस् ।

 २. स्मृतिको निर्माण बहुआयामिक, बहुपक्षीय र सामूहिक बनाउनका लागि पीडित नेत्तृत्वकृत र पीडित केन्द्रित प्रकृयाहरु अबलम्बन गरियोस् ।

 ३. पीडितको स्मृतिसँग जोडिएका ऐतिहासिक महत्व राख्ने ठाउँ, भौतिक संरचना, वस्तु, अभिलेख र कार्यहरु कतिपय अवस्थामा नष्ट गरिदैँ गएकोमा पीडितको स्मृति र इतिहास प्रदर्शित गर्ने यस्ता मूर्त र अमूर्त स्मृति धरोहरहरुको संरक्षणका लागि तत्काल पहल गरियोस् ।

  ४. द्वन्द्वकालीन मूर्त तथा अमूर्त स्मृतिहरुको स–सम्मान आत्मसात गर्दै राष्ट्रिय स्मृति दिवस घोषणा गरि सार्वजनिक प्रचलनमा ल्याइयोस् ।

 ५. द्वन्द्वकालीन स्मृतिलाई संस्थागत रुपमा व्यवस्थापन तथा संरक्षण गर्न राष्ट्रिय स्मृति नीति बनाइयोस् ।

  ६. अनौपचारिक रुपमा भएका स्मृति कार्यहरुलाई संघीय, प्रदेश, र स्थानीय सरकारको तहका योजनाहरुमा अनिवार्य रुपमा समावेश गरियोस् ।

 ७. स्मृतिसँग सम्बन्धित सम्पूर्ण नीति, कार्य तथा कार्यक्रमहरुमा महिला, बालबालिका, अपांगता भएका व्यक्ति, अल्पसंख्यक, दलित, जनजाति र अन्य सिमान्तकृत समुदायको दृष्टिकोण र मागहरुको सम्बोधन भएको सुनिश्चित गरियोस् ।

  ८. संघीय, प्रदेश, र स्थानीय सरकारले गर्ने बिकास निर्माणका नीति तथा कार्यक्रमहरुलाई पीडितहरुसँगको सहभागीता र सहकार्यमा स्मृति कार्यसँग जोडियोस् ।

 ९. द्वन्द्वकालीन स्मृतिलाई औपचारिक शैक्षिक पाठ्यक्रमहरुमा समावेश गरि संस्थागत गरियोस् ।

 १०. द्वन्द्वकालीन विगतसँग जोडिएका स्मृति तथा स्मृति कार्यहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने कार्य औपचारिक तथा अनौपचारिक रुपमा अघि बढाइयोस् ।

 ११. समुदाय स्तरको द्वन्द्वकालीन अनुभव र भोगाइलाई ज्ञान उत्पादनका लागि अध्ययन अनुसन्धानको विषय बनाइ प्रबद्र्धन गरियोस् ।

 १२. स्मृतिका हरेक कार्यलाई ऐतिहासिक महत्व दिँदै स्थानीयकरणको प्रक्रिया अबलम्बन गरि राजनीतिक पद्धतिसँग जोडियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?