
१५ मंसिर, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का निर्देशक डा. सन्तोष पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएका छन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बुधबार निर्णय गर्दै पौडेललाई वीर अस्पतालको निर्देशकबाट मन्त्रालय तानेका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भन्दै तानिएको बताए ।
‘निर्वाचन आयोगले डा. पौडेल नेपाल कम्युनिष्ट पार्टीमा एमालेको सदस्य र जनसंगठनको महासचिवमा क्रियाशिल रहेको भन्दै पत्र पठाएको आधारमा मन्त्रालय तानिएको हो,’ डा. बुढाथोकीले अनलाइनखबरसँग भने, ‘अन्य कुरा छानबिन गर्न बाँकी नै छ । अर्को निर्णय नहुँदा सम्म मन्त्रालयमा हाजिर हुन भनिएको हो ।’
डा. पौडेल कुनै आधारमा विना पदीय जिम्मेवारीमा नरहने गरी मन्त्रालयमा हाजिर हुन भन्दै पत्र आएको बताउँछन् ।
‘मलाई मन्त्रालय तान्नुको कुनै कारण लेखिएको छैन । तपाईँलाई पदीय जिम्मेवारीमा नरहने गरी मन्त्रालयमा हाजिर हुन आउनु भनेर पत्र आएको छ,’ डा. पौडेलले अनलाइनखबरसँग भने, ‘पदीय जिम्मेवारी खोस्नका लागि त आधारहरु हुन्थ्यो होला, स्पष्टीकरणका कुराहरु हुन्थ्यो होला । त्यो केही पनि पत्रमा उल्लेख छैन।’
वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल नेकपा एमालेमा क्रियाशील रहेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी परेको थियो । आयोगले उक्त उजुरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउँदै आवश्यक कारबाही गर्न भनेको थियो ।
आयोगले ७ मंसिरमा स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा पौडेल एमालेमा क्रियाशील रहेको र उक्त पार्टीको जनसंगठनको महासचिव रहेको भनी उजुरी आएको उल्लेख गरिएको छ ।
पत्रमा अगाडि भनिएको छ, ‘निज सन्तोष पौडेल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी रही हाल वीर अस्पतालको निर्देशकको पदमा कार्यरत रहेको भन्ने जानकारी प्राप्त हुन आएकोमा संलग्न उजुरी यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ ।’
यस्तै, राष्ट्रिय सतर्कता केन्द्रले पनि गत कात्तिक १ गते डा. सन्तोष पौडेललाई आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको थियो । पौडेलको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) को व्यवस्था विपरीत भएको केन्द्रको भनाइ छ । स्वास्थ्य सेवा ऐनको उक्त दफामा कार्यालय प्रमुख भएको र आठौं तह भन्दा माथिको व्यक्ति ट्रेड युनियनमा आवद्ध हुन नपाउने व्यवस्था छ ।
निर्देशक पौडेल स्वास्थ्य सेवाका दशौं तहका कर्मचारी हुन् । दुई वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलको पदावधी अझै झण्डै १५ महिना बाँकी छ । डा. पौडेलले पछिल्लो समय वीर अस्पतालको सेवा सुधार लागि राम्रो प्रयास गरेका थिए ।
प्रतिक्रिया 4