
काठमाडौं । बागबजारमा रहेको काठमाडौं मोडेल कलेजको २०औं दीक्षान्त समारोह शनिबार हुने भएको छ ।
विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त कलेजले शनिबार कलेजको सभाहल, बागबजारमा दीक्षान्त समारोह आयोजना गर्न लागिएको कलेज प्रमुख सुरेन्द्र सुवेदीले जानकारी दिए ।
२०६० सालमा स्थापित कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एमबीएस, एमए अंग्रेजी, बीबीए, बीबीएम, बीबीएस, बीसीए, बीएसडब्लु कार्यक्रम सञ्चालनमा रहेका छन् ।
यस कलेजमा अध्ययन गरी उत्तीर्ण भएका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई दीक्षित गर्न लागिएको हो । स्नातक तहमध्ये बीबीएस, बीबीए र स्नातकोत्तर तहमध्ये एमबीएस र एमए अंग्रेजीका विद्यार्थीहरू दीक्षित हुने भएका हुन् ।
कलेजले यसै वर्ष विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चतता तथा प्रत्यायन प्राप्त गरेको हो । विश्वविद्यालयबाट निर्धारित पठ्यक्रमका अलावा विभिन्न शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको यस कलेजले शिक्षक तथा विद्यार्थीलाई विभिन्न तालिमहरू दिँदै आएको छ ।
शैक्षिक पूर्वाधार सम्पन्न काठमाडौं मोडेल कलेज यसै वर्ष देशभरका निजी कलेजतर्फ नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट शैक्षिक संस्थाको रुपमा सम्मानित भएको थियो ।
प्रतिक्रिया 4